Comments Add Comment

तारका गुजुल्टा हटाउने पोखराको असफल योजना

अण्डरग्राउण्डअघि फाइबर तार !

६ फागुन, पोखरा । सोमबार प्रधानमन्त्री केपी शर्माले काठमाडौंमा विजुलीको तार भूमिगत गर्ने कामको उद्घाटन गर्दा पोखराबासीले भने झण्डै १५ महिना अगाडिको दृश्य झलझली सम्झिए ।

गएको मंसिर २७ गते पोखरामा एउटा यस्तै दृश्य देखिएको छ । विद्युतका पोलमा थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु हटाउने भन्दै पोखरा महानगरपालिकाले अभियान थालेको थियो ।

मेयर मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा गुजुल्टो परेकोमध्ये एउटा तार काटेर अभियानको सुरुआत गरेका थिए ।

त्यतिबेला मेयर जिसीले भनेका थिए, ‘एक महिनाभित्र पोखराका मुख्य मुख्य ठाउँमा गुजुल्टो परेका तारहरु हटेर छ्यांगै हुन्छ ।’

मेयरले घोषणा गरेको एक वर्षभन्दा बढी बितिसक्यो तर तार थप गुजुल्टिएका छन् । बिनाअध्ययन र पूर्वतयारी बिना हचुवाको तालमा सुरु भएको अभियानमा मेयर नै फेल खाए ।

‘पोलका तार व्यवस्थापन गर्न सबै अनावश्यक तार हटाइदिम् भनेर अभियानै सुरु पनि गर्‍यौं । तर, त्यो काम साह्रै गाह्रो हुँदो रहेछ,’ मेयर जिसीले अनलाइनखबरसँग भने, ‘सिर्जनाचोकदेखि महेन्द्रपुल पुग्नै १ महिना लाग्यो । त्यसमा पनि फिनिसिङ देखिएन । जति सोचेको त्यति फिनिसिङ नदेखिएपछि त्यसमा अल्झिरहनु राम्रो मानेनौं र काम रोकियो ।’

यो पनि पढ्नुहोस काठमाडौंमा गरिँदैछ विजुलीको तार भूमिगत (भिडियोसहित)

मेयर जिसीलेभन्दा पहिले नै पोखरा महानगरपालिका वडा नम्बर ४ ले पनि आफ्नो वडाका केही ठाउँमा अब्यवस्थित तार हटाउने अभियान थालेको थियो । तर, केही पोलबाट तार हटाउन सके पनि योजनाअनुसार काम गन वडा कार्यालयले सकेको थिएन ।

वर्षौंदेखिको भूमिगत योजना

पोखरामा एक दशकदेखि नै तारलाई भूमिगत गर्ने बहस नगरपालिकाबाटै सुरु भएको हो । अव्यवस्थित तार भूमिगत गर्ने विषय नीति तथा कार्यक्रममै समेटिएर आउन थालेको हो ।

विद्युतीय तारलाई जमिनमुनि ब्यवस्थापन गरिने भनेर पोखरा महानगरले यसपटक गौरवको आयोजनामा राखेको छ । तर, यो आयोजना गौरवको होइन ठट्टाको विषय बनेको छ ।

पोलपोलमा गुजुमुज्ज परेको तार हटाउने घोषणा गर्दै मानबहादुर जिसीले पोखरा महानगरको मेयर पदमा विजयी भएका थिए । तर, जिसी मेयर पदमा विजयी २ वर्ष बितिसक्दा पनि तार अन्डरग्राउन्ड त भएको छैन । न त उनले घोषणा गरेझैं पोलपोलका गुजुमुज्ज तार नै व्यवस्थित हुन सक्यो ।

तारमा ट्याक्टरै झुण्डियो

अव्यवस्थित रुपमा गुजुल्टिएका तारले महानगरबासीले हैरानीमात्रै खेप्नुपरेको छैन, ज्यानै लिने ठूला दुर्घटना पनि भोग्नुपरिरहेको छ ।

अघिल्लो वर्ष साउन २६ गते महेन्द्रपुलबाट रानीपौवातर्फ गइरहेको मोटरसाइकलमा सवार व्यक्तिमाथि अचानक विजुलीको तार चुँडिएर लाग्यो । ती व्यक्तिको पछि उपचारका क्रममा मृत्यु भयो ।

दुई वर्षअघि बसको छतमा राखेर ल्याइँदै गरेको एउटा हाते ट्याक्टर पोखरा अमरसिंहको बिजुली तारमा अड्कियो । सम्बन्धित निकायले दिनभर लगाएर उक्त समस्या सुल्झाएका थिए ।

गत वर्ष साउन २ गते पोखरा गणेश टोलमा पनि अव्यवस्थित विजुली तारकै कारणले आगलागी भएको थियो । उक्त घटनाले ठूलै चर्चा पाएको थियो । पोखरा महानगरपालिकाप्रति धेरैले प्रश्न उठाएपछि बल्ल काम सुरु भएको थियो । त्यो पनि अधकल्चो भयो ।

अव्यवस्थित तारका कारण सर्वसाधारणलाई मात्र होइन, स्वयं महानगरलाई समेत कुरुप बनाउँदै लगिरहेको छ । सडकमा रहेका पोलमा विजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारकै कारण दुर्घटना बढ्दै गएको सरोकारवाला निकाय गुनासो गरिरहेका छन् ।

पोलमा गजुल्टिएका तार व्यवस्थापन गर्न पोखरा महानगरले ‘तार व्यवस्थापन सहजीकरण समिति’ पनि गठन गरेको थियो । ११ सदस्यीय समितिको संयोजक महानगरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी थिए । समितिले गत वर्ष मंसिरमा तार व्यवस्थापन गर्न भन्दै अभियान समेत सञ्चालन गरेको थियो ।

पोखरा महानगरले सूचना प्रकाशित गरेरै नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थालाई बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको थियो । अभियानको सुरुआत मंसिर २७ गते महानगर मेयर मानबहादुर जिसीले सिद्धार्थचोकमा एक इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काटेर गरेका थिए ।

पहिले फाइबर त्यसपछि अन्डरग्राउन्ड !

केही महिनाअघि पोखरामा भएको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङले चाँडै काठमाडौंसहित पोखरा र भरतपुरका तार अन्डरग्राउन्ड गरिने जानकारी दिएका थिए ।

उनको घोषणा अनुसार काठमाडौं महानगरले मंगलबारदेखि तारलाई भूमिगत बनाउन सुरु गरिसकेको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

काठमाडौंले तार भूमिगत गराउने अभियान सुरु गरिसक्दा पोखरा महानगरले भने तार अन्डरग्राउन्ड नभई पहिले फाइबर तारबाट समाधान खोजिने जनाएको छ । ‘अन्डरग्राउन्ड त बनाउने नै हो । तर, त्यो गर्न सडकको स्पेसबारे पनि सोच्नुपर्‍यो । त्यसले कत्तिको सम्भावना देखाउँछ, अनिमात्रै योजना अघि बढ्छ,’ पोखरा महानगर मेयर जिसी भन्छन्, ‘अहिलेलाई राम्रो उपाय भनेकै फाइबर तार जडान नै हो ।’

मेयर जिसीले सडकका दुवै भागमा फाइबर तार तानेर त्यसबाट गुजुल्टो तार व्यवस्थापन गर्ने सोच बनाइरहेको सुनाए । ‘महानगरको अहिलेको योजना भनेको दुवै भागतिर फाइबर तार तानेर त्यसबाट डिस्ट्रिब्युसन दिने कि भन्ने हो । अहिले कम्तीमा २ वटा फाइबर तानेर त्यसबाटै सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले रोयल्टी तिरेरमात्रै सेवा अघि बढाउने गरी लागिरहेका छौं,’ उनले भने, ‘तर, फाइबर महानगरले राख्ने हो कि दूरसञ्चारले भन्ने कुरा छ ।’

मेयर जिसीले फाइबर तारबाट पोखराका पोलमा रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले अध्ययन सुरु गरिसकेको जानकारी दिए । ‘दूरसञ्चारले अध्ययन प्रक्रिया अघि बढाइसकेको छ । त्यसले १०/१५ गतेभित्र अध्ययन गरिसक्छौं भनेको छ । उसको रिपोर्ट आइसकेपछि बसेर छलफल हुन्छ’ उनले भने ।

विजुलीका तार भूमिगत गर्न भने समय लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment