+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
कुखुरामा किचलो :

चल्ला मार्ने मालामाल, पाल्नेचाहिँ घाटामा ?

ह्याचरीवाला भन्छन्- हामी पनि घाटामै छौं

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ फागुन ६ गते २०:४८

६ फागुन, काठमाडौं । कपन चुनिखेलका सूर्यनारायण श्रेष्ठ ४३ वर्षका भए । पछिल्लो सात वर्षयता कुखुरा पालेरै परिवार धानिरहेका सूर्यनारायणलाई अहिले आफ्नै पेशाप्रति गुनासै गुनासो छ ।

कुखुरापालक कृषक भएर खेपेको पीडा सुनाउन सूर्यनारायण मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आए । ‘कुखुरा पालेर घर चलाउन कठिन भो भनेर सुनाउन आएको हुँ, आजै भन्दा बेस्सरी दाँत दुखिरहेको छ,’ सूर्यनारायणले दुःख बिसाए ।

कपनमा अहिले उनको खोरमा १५ सय कुखुरा छन् । ती कुखुराबाट आफूलाई फाइदा त परै जाओस्, लगानीसमेत नउठ्ने उनको गुनासो छ ।

सुन्दरीजल गागलफेदीमा ४ हजार कुखुरा पालेर व्यवसायमा रमाइरहेका ३५ वर्षे उर्गेन तामाङ पनि आफ्नो मेहनतले मूल्य नपाएको गुनासो गर्न विभाग आएका कृषकमध्ये एक हुन् ।

पछिल्लो दुई महिनामा कुखुरा पालेर घाटा खानुपरेको उनी बताउँछन् । ‘एउटा चल्लालाई मासुका लागि योग्य बनाएर बजारमा पठाउन दुई महिना लाग्छ, त्यसका लागि दिनरात नभनी काम गर्नुपर्छ, तर हामी मेहनतको मूल्य नपाएर ठगियौं,’ उर्गेनले दुखेसो सुनाए । ‘पहिले चार हजार कुखुरा बिक्री गर्दा किसानलाई एक लाख रुपैयाँसम्म नाफा बस्थ्यो । तर, अहिले नाफा त परैकै कुरा, दुई लाख भन्दा बढी घाटा खानुपरेको छ,’ उर्गेनले भने ।

बजारमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै सबै भन्दा उच्च भए पनि उपभोक्ताले तिरेको मूल्य कुखुरा पालक किसानले नपाएको तामाङको दाबी छ ।

कृषक विष्णु खड्का हृयाचरी उद्योगी र दाना व्यवसायीले कृषक र उपभोक्तालाई दिनदाहाडै लुटेको आरोप गाउँछन् । ‘नाफाखोरले त लुटे, कम्तिमा सरकार त कृषक र उपाभोक्ताको पक्षमा भइदिएको भए हुन्थ्यो नि,’ संघर्ष समितिका अध्यक्षसमेत रहेका खड्का भन्छन्, ‘सरकारले चुप बसेर लुट्नेलाई साथ दिइरहेको छ ।’

आठ दिनमा साढे १० करोड लुट

कृषकहरुको दाबीअनुसार हृयाचरीबाट एक सातामा कृषकले पाल्नका लागि ३५ लाख चल्ला खरिद गर्छन् । माघ १० मा ४० रुपैयाँ प्रतिगोटा भएको चल्लाको मूल्य माघ १८ मा ७० रुपैयाँ पुर्‍याइएको छ । उक्त मूल्यबृद्धिबाट सातादिनमै हृयाचरीवालाले १० करोड ५० लाख हाराहारी रकम असुल गरेको कृषकहरुको गुनासो छ ।

चल्लामा जस्तै अवस्था कुखराको दानामा पनि छ । यही आर्थिक वर्षदेखि २५ सय रुपैयाँमा पाइने प्रतिबोरा दानाको मूल्य ३१ सयसम्म पुर्‍याइएको किसानहरु बताउँछन् । दाना खपतबारे यकिन विवरण नभएका कारण ठगिएको मूल्य बताउन अप्ठ्यारो भएको कुखुरापालक उर्गेन तामाङले बताए ।

‘चिक्स होलिडे’ मूल्य बढाउने नौटंकी

हृयाचरी व्यवसायीले मंसिर २९ देखि पुस ६ गतेसम्म चिक्स होलिडे मनाए । चल्लाको बढ्दो उत्पादनले लागत मूल्य पनि नपाएको भन्दै हृयाचरी व्यवसायीले १० दिनसम्म चल्लाको नयाँ उत्पादन रोके । उत्पादन भएका ३० लाख चल्ला र ३० लाख निशेंचित अण्डा नष्टको अभियान चलाए । जिउँदै चल्लाहरु जमीनमा गाडिए ।

यो सब चल्लाको मूल्य बढाउनका लागि भएको कुखुरापालक किसानहरु बताउँछन् । कुखुरा पालिक किसान डिल्लीराम श्रेष्ठ भन्छन्, ‘उतिबेला हामीलाई असर पर्दैन भन्दै बजार राम्रो बनाउन यसो गरिएको भनिएको थियो, तर अहिले मूल्य बढाएर ढाड सेके ।’

संघर्ष समितिका अध्यक्ष बिष्णु खड्का चिक्स होलिडे चल्ला र मासुको मूल्य बढाउन गरिएको नौटंकी भएको बताउँछन् । कालोबजारी गर्नेलाई सरकारले तत्काल कारबाही गरोस् खड्काले माग गरे ।

‘हाम्रो पसिनामा संघको मूल्य’

बजारमा कुखुराको मासु प्रतिकिलो ४३० रुपैयाँ अधिकतममा बिक्री भइरहँदा प्रतिकिलो २४५ रुपैयाँमा पनि किसानको कुखुरा नबिकेको किसान सूर्यनारायण बताउँछन् ।

मूल्य घटेर अहिले जिउँदो कुखराको प्रतिकिलो मूल्य २४० रुपैयाँ तोकिएको र यसमा गाडीभाडा तथा कमिसन भनेर १५ रुपैयाँ ठेकदारले कटौती गर्ने कृषकहरु बताउँछन् । सूर्यनारायणले प्रश्न गरे, ‘मैले ६० दिन दुःख गरेर हुर्काएको कुखुराको मूल्य मैले तोक्न किन पाउँदिनँ ?

श्रेष्ठका अनुसार दाना, चल्ला, औषधी सबै कुराको भाउ उद्योगी व्यवसायीका संघहरुले तोक्छन् तर चल्लाको पालनपोषण गरेर हुर्काउने कामचाहिँ हामीले गर्नुपर्छ, यो न्यायसंगत भएन, सरकारले अब कुखुराको मूल्य तोकोस् ।

मासुका ठेकदारले किसानलाई कहाँ-कहाँ ठग्छन् ?

किसानहरुको आरोप अनुसार मासु व्यापारी, हृयाचरी उद्योग र यसका नाममा खुलेका विभिन्न संघ संस्थाले १० वटा ठाउँमा कृषकलाई ठग्ने गरेका छन्-

१.व्यवसायी अनुुकुल दाना तथा हृयाचरीको संघ गठन गरी बजार मूल्य र किसानलाई नियन्त्रणमा राख्नु ।
२. आफ्नो उत्पादन -कुखुरा) को मूल्य किसानले नभई संघले निर्धारण गर्नु ।
३. किसानको कुखुरा किसानको खोरमा नजोखी व्यवसायीले अनुकुल मानेको आफ्नो ठाउँमा लगेर मात्रै तौलिनु ।
४. सानो-ठूलो भनी कुखुराको ग्रेड गरेर उत्पादनलाई अवमूल्ययन गर्नु ।
५. कुखुराको नेट तौलमा एकदेखि साढे एक प्रतिशतसम्म तौल घटाएर हिसाब गर्नु ।
६.संघले तोकेको मूल्यमा १० रुपैयाँ घटाएर किसानले बिक्री गर्नुपर्ने ।
७. किसानलाई गुणस्तरहीन महंगो दाना बाँड्नु ।
८. दानाको बोरामा लेबल मापदण्ड पूरा नगर्नु ।
९. कुखुराका लागि चाहिने औषधीमा कार्टेलिङ कायम गर्नु ।
१०.दाना र चल्लाको मनपरि मूल्य बढाउनु ।

ह्याचरी र दाना उद्योगी भन्छन्- हामीलाई पनि घाटा छ

हृयाचरी तथा दाना उद्योगीहरुले भने उत्पादन लागत नउठेका कारण मूल्य बढाउनुपरेको दाबी गरेका छन् । मकै र भटमासको मूल्य बढेकाले दानको मूल्य बढेको तथा लागत भन्दा कममा चल्ला बिक्री गर्दा व्यवसायमा टाट पल्टिएपछि मूल्य बढाउनु परेको नेपाल हृयाचरी उद्योग संघ बागमती प्रदेश अध्यक्ष ज्ञानबहादुर बिसुरालले अनलाइनखबरलाई बताए । ‘दानामा मूल्य केही बढेको हो, तर अहिले घट्ने क्रममा छ, चल्लामा भने लागत बराबरकै मूल्य हो,’ बिसुरालले भने ।

उनले आफूहरुले कालोबजारी गरेको भए छानविन गरेर कारवाही गर्न पनि चुनौती दिए ।’ हामी घाटामा छौं, प्रतिचल्ला ६५ रुपैयाँ हाम्रो लागत हो, नाफा छैन्,’ उनले थपे ‘राज्यले लागत मूल्य निर्धारण गरिदिए हुन्छ।’ सर्वनाश नहोस् भनेर अर्धनाशको बाटो रोजेर उद्योगीले घाटा सहिरहेको उनले दाब्बी गरे ।

यो नक्कली कृषकको आन्दोलन हो : बीसी

उता राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासु, चल्ला तथा दानाको मूल्यबारे नक्कली किसानहरुले आन्दोलनको नाटक गरेको आरोप लगाएको छ ।

संघले किसानको कुखुराको बजार व्यवस्थापनका लागि सबै काम गर्दागर्दै पनि जे मन लाग्यो त्यही बोलेर हिँडेको भन्दै संघका अध्यक्ष जंगबहादुर बीसीले आपत्ति जनाए । कुखुराको मासुमा बिचौलिया छैनन्, हामीमाथि लगाइएको आरोप सबै मिथ्या हो, बीसीले भने ।

अध्ययन हुँदैछ, कारवाही गर्छौं : विभाग

यसैवीच मंगलबार कुखुरापालक किसानहरुको ज्ञापनपत्र बुझ्दै वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कालोबजारीबारे अध्ययन गर्न एक टोली बनाउने बताए । ‘यस अघिसम्म यो व्यवसायका सबै संरचना भताभुंग रहेकाले समस्याको चुरो पहिल्याउन कठिन भयो, अब निचोड आउँछ’ उनले भने ।

कुखुराको मासुको मूल्य निर्धारण तथा उत्पादन जस्ता विषयलाई आधार दर कायम गरेर विभाग अघि बढ्न थालेको उनले बताए । ‘अध्ययन नगरी हचुवामा कारबाही भन्ने हुन्न, विधि र प्रक्रिया पूरा गर्दैछौं, कारबाही हुन्छ’ महानिर्देशक सुवेदीले अनलाइनखबरसँग भने ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?