Comments Add Comment

बालापनको सपना पूरा हुँदा रेइनर जेससको आँखाभरी आँसु

७ फागुन, काठमाडौं । रियल मड्रिडमा खेलाडीको रुपमा प्रस्तुत हुँदा ब्राजिलियन टिनएजर रेइनर जेससले आँसु लुकाउन सकेनन्, किनकी उनको बालापनदेखिको सपना पूरा भएको थियो ।

१८ वर्षीय ब्राजिलियन अट्याकिङ मिडफिल्डर यही जनवरीमा फ्लेमेङ्गवबाट २६ मिलियन पाउण्डमा ला लिगा क्लब रियलमा अनुबन्ध भएका थिए । स्पानिस क्लब रियलले उनलाई गएराति आफ्नो खेलाडीका रुपमा सार्वजनिक गर्यो ।

मंगलबार रियल मड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टिनो पेरेजले रेइनरलाई वर्नावेउमा प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले आफूलाई सम्हाल्न सकेनन् । सानैदेखिको सपना पूरा हुँदा उनको आँसु रोकिएन ।

रेइनरले गत वर्ष मात्र फ्लेमेङ्गोका लागि सिनियर टिममा डेब्यु गरेका थिए । ‘म यो उत्कृष्ट क्लबको इतिहासको हिस्सा हुन चाहन्छु,’ रेइनरले भने, ‘आजको दिन मेरोलागि एकदमै खुशीको दिन हो । मैले बच्चा बेलाको सपना पूरा गर्दैछु ।’

फ्लेमेङ्गोले गत सिजन ब्राजिलियन लिग र कोपा लिबर्टाडोरेस जित्दा रेइनर जेसस पनि त्यसका सदस्य थिए । गत डिसेम्बरमा लिभरपुलविरुद्ध क्लब विश्वकपको फाइनलमा उनी फ्लेमेङ्गोको टिममा भए पनि बेन्चमै सीमित रहेका थिए ।

पछिल्लो दुई वर्षमा रियलमा अनुबन्ध हुने उनी तेस्रो ब्राजिलियन टिनएजर हुन् । यसअघि भिनिसियर जुनियर र रोड्रिगोले रियलबाट खेलिसकेका छन् ।

रियलका अध्यक्ष पेरेजले भविश्यमा ठूला स्टार बन्न सक्ने खेलाडीलाई ल्याउन आफूहरुको काम भएको बताए । उनले भनेका छन्, ‘आज हामीले एउटा खेलाडीलाई विश्वकै एक उत्कृष्ट क्लबमा स्वागत गर्यौं, जो भर्खर १८ वर्षको भएका छन् र फ्लेमेङ्गोका लागि कोपाले लिबर्टाडोरेस जितिसकेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment