Comments Add Comment

३३ किलो सुन तस्करी प्रकरण : म्याद तामेली गर्नै दुुई वर्ष लाग्यो

६ फागुन, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको सुन तस्करीको जालो खुलेपछि सरकारले ७५ जनालाई विपक्षी बनाएर १५ वैशाख २०७५ मा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो ।

त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएपछि गोरे भनिने चुणामणि उप्रेतीको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको १७ फागुनमा दुई वर्ष पुग्दैछ । दुई वर्षको अवधीमा सुन तस्करी प्रकरण मुद्दा कहाँ पुग्यो ? जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेल पेसी चढ्ने प्रक्रियामा रहेको बताउँछन् ।

अदालतलाई म्याद तामेली गर्न समय लागेका कारण सुन मुद्दाको पेसी चढ्न ढिलो भएको उनी बताउँछन् ।

उनकाअनुसार मुद्दा दायर भएका फरार आरोपीको म्याद तामेली गर्न अदालतलाई २० महिना भन्दा बढी समय लाग्यो । फरार प्रतिवादीमध्ये १८ जनाको ठेगाना नभेटिएपछि गोरखापत्रमा ३५ दिने सूचना निकालिएको छ ।

३ पुसमा जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासको आदेशपछि अदालतले १४ पुसमा म्याद तामेली नभएका १८ जनाको नाममा ३५ दिने सूचना जारी गरेको छ । बाटोको म्यादसहित ६५ दिन म्याद बुझ्नलाई समय दिइएको छ । बाटोको ३० दिन म्यादसहित ६५ दिनमा आरोपीले म्याद नबुझे अदालतमा मुद्दाको प्रक्रिया अघि बढ्नेछ ।

अदालतले झापा गौरदह नगरपालिका–८ का भोजे मामा भनिने भोजराज भण्डारी, काठमाडौं– ३१ बस्ने प्रमोद श्रेष्ठ, बाग्लुङ काठेपुल गाउँपालिका–७ का कमल कार्की, सिराहा दनगढी–१२ का रोहित आचार्य, धरान–२ का कृष्ण बस्नेत, झापा घर भई काठमाडौं चन्द्रागिरी–४ बस्ने कृष्ण गोपाल अग्रवाल, काठमाडौं–७ गौरीघाट बस्ने रमेश उप्रेती, काभ्रेपलाञ्चोकका हरिशरण खड्का, काठमाडौं– १६ खरिबोटका मणिराज चौलागाई, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिकाका शिवकुमार गुभाजु, धरान घर भई काठमाडौं बस्दै आएका सुनिल श्रेष्ठ, भोजपुर दिङलाकी आरवि भनिने रक्षा भण्डारी, मोरङ सुनबर्सी– ६ का अर्जुनप्रसाद खरेल, सिन्धुपाल्लोकको बलेफी गाउँपालिका– ५ का सञ्जय अधिकारी, समिर अधिकारी, गीता श्रेष्ठ, माधव आचार्य र ओमप्रकाश नेवारको नाममा ३५ दिने सूचना जारी गरिएको छ ।

उनीहरु मध्ये गीता श्रेष्ठ र सुनील श्रेष्ठ अदालतमा हाजिर भएर जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । गोरेकी श्रीमती नर्बदा र सहयोगी चेतन भण्डारी पनि धरौटी बुझाएर छुटिसकेका छन् ।

सुन मुद्दाका नाइके चुडामणी उप्रेतीका भाइ रमेशको समेत ठेगाना नभेटिँदा उनको नाममा म्याद तामेली नभएर बेपत्ते सूचना निकालेको अदालतले जनाएको छ । दुई वर्षमा मुद्दाको किनारा लगाउने मान्यता भएपनि यो मुद्दामा प्रमाण बुझ्नै धेरै समय लागेको सूचना अधिकारी पौडेल बताउँछन् ।

चेतन आउँदा प्रहरीले पत्तो पाएन

सुन तस्करी प्रकरणका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’का मुख्य सहयोगीमध्ये एक हुन चेतन भण्डारी ।

‘बाजेको सेकुवा’ सञ्चालन गर्दै आएका भण्डारी र गोरे व्यावसायिक साझेदार रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । साढे ३३ किलो सुन तस्करी प्रकरण सार्वजनिक भएपछि भण्डारी अमेरिका भागे । उनी करिब दुई वर्षमा नेपाल आएर सुटुक्क अदालतमा हाजिर भए र १० लाख धरौटी बुझाएर अमेरिका फर्किसके । तर प्रहरीले यो पत्तै पाएन ।

७५ जनालाई अभियोग, प्रतिवेदन गुपचुप

मोरङ उर्लाबारीका सनमको हत्याबारे छानविन गर्दा सुन तस्करीको र्‍याकेट खुलेपछि गृह मन्त्रालयले तत्कालिन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेर प्रहरी अधिकृतहरुलाई समेत अभियुक्त बनायो ।

जिल्ला सरकारी वकिलको कार्यालयले दुई पुरक अभियोगसहित ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा समेत दायर गर्‍यो ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध सुन आयात भएको दाबी छ ।

तर पौडेल समितिको प्रतिवेदनमा अनुसन्धान गर्नुपर्ने तीनसय जनाको नामावली पनि थियो । त्यसबारे न अनुसन्धान भयो न प्रतिवेदन नै सार्वजनिक गरियो । बरु प्रधानमन्त्री र मन्त्रीहरुले सुन तस्करीको जालो भत्काएको भाषण गर्दै हिँडे । तर थप अनुसन्धान भएको छैन ।

छानविन समितिका संयोजक ईश्वर पौडेलले पनि थप तीन सय व्यक्तिमाथि अनुसन्धान गर्न सुझाएको स्वीकार गरे । तर अदालतमा मुद्धा विचाराधीन रहेको र अनुसन्धानका क्रममा रहेको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

यद्यपि तस्करीको संगठित गिरोहलाई भने ध्वस्त बनाएको उनले बताए । अनुसन्धानपछि ७६ जना विरुद्ध मुद्दा दायर गरिएको भन्दै उनले भने, ‘संगठित रुपमा हुादै आएको तस्करीको जालो ध्वस्त बनायौं ।’

कोको थुनामा ?

सुन तस्करीमा मुछिएका केही प्रहरी अधिकृत उच्च अदालतले साधारण तारेखमा छाडेपछि ड्युटीमा फर्किएका छन् भने सहयोगी र भरिया थुनामा छन् ।

जिल्ला अदालतको आदेशपछि टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पाे, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, गोपालकुमार श्रेष्ठ, भुजुङ गुरुङ, महावीर गोल्यान, अमरमान डंगोल पुर्पक्षका लागि थुनामा छन् । यस्तै यो प्रकरणमा मुछिएपछि निलम्बितमा परेका डीएसपी सञ्जयबहादुर राउत र तत्कालीन एसएसपी श्यामबहादुर खत्री थुनामा छन् । खत्रीले थुनामै रहेका बेला अवकाश पाए ।

थुनामै रहेकामध्ये खत्री र राउत र भुजुङ गुरुङबाहेक अन्य गोरेका सहयोगी र भरिया हुन् ।

एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल साधारण तारेखमा पूर्पक्ष गर्न पाउने गरी उच्च अदालतको आदेशबाट छुटेका थिए । पूर्वडीआईजी गोविन्द निरौला पनि छुटिसकेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटीमा छुटे । राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आरके भन्ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दार पनि जनही १० लाख धरौटीमा छुटे ।

तत्कालीन एसएसपी खत्रीका ड्राइभर प्रहरी जवान बिष्णुबहादुर खड्का र सहयोगी प्रहरी हवल्दार अमरबहादुर थापामगरको हकमा भने जिल्लाको धरौटी र साधारण तारेखमा छाड्ने आदेश बदर गरी उच्चले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश उल्टाउँदै धरौटीमा छाड्न आदेश दिएपछि उच्च अदालतका तत्कालीन न्यायाधीशहरु समेत विवादमा परेका थिए । तत्कालीन मुख्यन्यायाधीश डा. कुलरत्न भुर्तेलसहित  केही न्यायाधीश न्याय परिषदमा तानिए । उनीहरू मध्ये न्यायाधीश उमेशकुमार सिंह बखार्स्त भए । पदीय आचरण अनुसार कर्तव्य निर्वाह नगरेको भन्दै उनी हटाइएका थिए ।

यस्तै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई २ वर्ष बढुवा रोक्का गर्ने निर्णय भएको छ । परिषदले मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, न्यायाधीश जनक पाण्डे र सारङ्गा सुवेदीलाई सामान्य ध्यानाकर्षण र न्यायाधीश साधुराम सापकोटालाई सचेत गराएको थियो । उमेश पौड्याल र नागेन्द्रलाल कर्णलाई परिषदले सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment