Comments Add Comment
विचार :

शिवरात्रिलाई ३ सूत्रमा बुझौ‌ं, भाङ धतुरोमा सीमित नराखौं

करिब एक साता अगाडिदेखि नै नेपालमा र विशेषगरी पशुपति क्षेत्रमा शिवरात्रीको चहलपहल बढेको छ । पशुपतिनाथको दर्शनार्थ भक्तजनलाई कसरी सेवा, सुबिधा उपलब्ध गराउने भन्ने बारेमा विभिन्न समितिहरू गठन भएका छन् । नेपाल शिवको भूमि हो, नेपालको पाशुपत क्षेत्र धार्मिक र आध्यात्मिक अर्थले महत्वपूर्ण क्षेत्र हो ।

शिवरात्रीको अवसर पारेर गरिने विविध पूजाआजा, ब्रत, भजनको आफ्नै महत्व र संस्कार छ । तर, शिवको अर्थ, शिव भगवानले दिएका सन्देश र शिव द्वारा प्रतिपादित ध्यान र योगका विधि अनि यसका मर्म हामीले जीवनमा आत्मसात गर्न सकेका छौँ कि छैनौँ त्यो अझ महत्वपूर्ण छ ।

डा. नम्रता पाण्डे

मन्दिर जानु, मूर्ति पूजा गर्नु र बहिर्पूजा धमाधमले मात्रै हाम्रो अन्तर विकास नहुन सक्छ । हाम्रो आत्मविकासका लागि योग, ध्यान र जागरणमूलक जीवनशैली अत्यन्त महत्वपूर्ण रहन्छ । शिवको अर्थ मङ्गल र कल्याणकारिता हो । सबैप्रति मङ्गल भाव र करुणापूर्वक कल्याणकारिता स्वरूप व्यवहार देखाउन र आफ्नै जीवनमा पनि त्यो कुरा अपनाउन सकिँदैन भने शिवको मूर्तिमा दूध, फलफूल र बेलपत्र चढाएर धूपबत्तीसहितको आरतीले मात्र हाम्रो जीवनमा रुपान्तरण नआउन सक्छ ।

शिवरात्रीको महिमालाई भाङ, धतुरोमा मात्र सीमित नराखी भगवान शिवले देवी पार्वतीमार्फत सिकाउनुभएका १०८ ध्यान विधि र स्वस्थ, मस्त र आनन्दित जीवनको लागि त्यसको उपयोगिता हुन सकेको छ कि छैन मूल्यांकन हुनु जरूरी छ ।

भगवान शिवले कल्याणकारी जीवन बाँच्न दिनुभएका तीन मात्र सूत्रहरू अपनाउन सके हाम्रो जीवन पनि धन्य बन्नेछ । ध्यानका परिणाम पनि यिनै तीन सूत्रमा समेटिन सक्छन् ।

१–जागरण

जीवन जिउने महत्वपूर्ण कलामध्ये एक हो जागरण । एक द्रष्टाझैं आफैंले आफैंलाई हेर्ने एक मूलमन्त्र हो जागरण । आफूले गरिने कर्महरु जस्तै– हिँड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, श्वास लिँदा–छोड्दासमेत सबै कामहरुमा भित्रबाट आफैं द्रष्टा भएर हेर्ने कला जागरण हो ।

आफ्ना शरीरका क्रियाकलापहरुप्रति होशपूर्ण हुनु, आफ्नो आउँदै जाँदै गरेको श्वासप्रति होशपूर्ण हुनु, स्वाद, गन्ध, ध्वनि, दृष्य र स्पर्शप्रति होशपूर्ण रहनु सबै जागरण अवस्थाका लक्षणहरु हुन् ।

शिवले देवी पार्वतीमार्फत सिकाउनुभएका १०८ ध्यान विधि र स्वस्थ, मस्त र आनन्दित जीवनको लागि त्यसको उपयोगिता हुन सकेको छ कि छैन मूल्यांकन हुनु जरूरी छ

आफूले व्यक्त गर्ने र अरुबाट प्राप्त गर्ने हार्दिक अनुभूति जस्तै प्रीति, स्नेह, श्रद्दा जस्ता संवेदनाप्रति होशपूर्ण हुनु पनि जागृत अवस्था हो । दिव्य नाद, अकारण खुसी या दूखी, शान्ति या अशान्ति सबै विचारहरुप्रति होशपूर्ण हुनुपनि जागृत व्यक्तिका गुण हुन् ।

जागृत व्यक्ति कहिल्यै दूखी बन्नु पर्दैन । ऊ सधैँ प्रेमभाव र समभावमा जिइरहेको हुन्छ । कसरी, के, किन र कसका लागि गरिरहेछु र यसले आफूलाई या अरुलाई सकारात्मक उर्जा दिन्छ या नकारात्मक त्यो जान्न सक्नु जागृति हो । जागृतिको कला जानेपछि जीवनमा चाहेको सबै कुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो त्यसको मात्र चाहना हुन्छ । जति पनि आध्यात्मिक मार्गहरु छन् सबैले देखाउन खोजेको मार्ग हो भित्रको द्रष्टा भावलाई जगाउनु ।

मार्ग जुनसुकै होउन् मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वारा ध्यान, सत्संग, कथा, कीर्तन, भजन जस्ता कर्म हुन् या योग, तप, साधना, नोकरी, पदोन्नति, सम्मान सबैको अन्तिम लक्ष्य नै जागरणपूर्ण रहनु हो । सबै कर्म गरेर पनि जागरण पैदा भएन भने ती सबै व्यर्थ हुनेछन् । कुनै प्रयास बिना जागृति फलित हुन्छ भने त्यो महत्वपूर्ण उपलब्धी हो । भित्रको जागरणको कला जान्ने व्यक्तिले जीवनमा असफलताको महसुस गर्नै पर्दैन ।

प्रयासले जागरण प्राप्त हुँदैन, द्रष्टा भाव, प्राकृतिक स्वभाव र सहजताको परिणाम हो जागरण । हरेक विचार, भाव र कर्मलाई द्रष्टा भएर हेर्ने कला जागरण हो । जागरणको विकास नै आत्मविश्वास बढेको अनुभूति र आनन्दपूर्ण जिउने कला प्राप्त गर्नु हो ।

२– साधना

साधना, अभ्यास, निरन्तर सिकाई मानव विकासका आयाम हुन् । मानिसहरुले एकापसमा कुरा गरेको सुनिन्छ–जीवनमा सिकेर पनि कहिल्यै नसकिने रहेछ । वास्तवमै हो । जीवनका हरेक घटना र अनुभवले केही न केही सिकाएकै हुन्छन् । बच्चादेखि बृद्ध सम्मका आफन्तहरुका संगतबाट केही न केही सिकेकै हुन्छौं । नयाँ–नयाँ प्रविधिको विकासबाट त झन् नसिक्ने कुरै भएन ।

सिकाइ कहीँ गएर अन्त हुन्छ र अब सिक्न बाँकी केही रहेन भनेर कसैले भनेको सुनिएको छैन । हिजो सिक्ने तरिका अर्कै थियो होला, आज सरल र सहज होला । या त हिजोका सिकाइ जीवन विधायक थिए होलान् आजका सिकाइ क्षणिक सुखका निम्ति होलान् र पनि सिकाइ त निरन्तर छ ।

हामीलाई धेरै कुरा मात्र होइन, सबै कुरा जानेको छु भन्ने भ्रम छ । तर, गहिरिएर हेर्ने हो भने हाम्रो दैनिकीलाई हेरौं– हामीलाई हिँड्न, बोल्न, खान, कुरा गर्न, पाहुनालाई स्वागत गर्न केही पनि खासमा आउँदैन । हाम्रो काम गर्ने, बोल्ने शैलीमा नम्रपना र शिष्टता छैन । जसरी गरे पनि काम त चल्छ, तर त्यसमा मिठास ल्याउन, शिष्टता ल्याउन शीलको जरुरी हुन्छ ।

आफूले सिकेको सीप र आफ्नो मिहिनेत कहिल्यै खेर जाँदैन । बरु, जीवनका जस्तै अप्ठेरा र सजिला परिस्थितिहरुमा आफ्नो सिकाइले सहजता र आत्मनिर्भरता प्रदान गर्छ । हाम्रा पूर्खाहरुले के सिकाएर गए ? हाम्रा ऋषिमुनि र सन्तहरुले के शिक्षा दिए ? तिनको निरन्तर सिकाइलाई व्यवहारमा कायम कसरी राख्ने ? शिव, कृष्ण, बुद्ध जन्मेको देश मात्र थाहा पाएर पुग्छ हामीलाई ? उहाँहरुको दर्शन र सिकाईलाई जीवनमा थोरै भए पनि उतार्ने कोशिस गर्नुपर्दैन ?

भगवान शिवले सिद्धान्त भन्दा सत्य महत्वपूर्ण छ, विचार भन्दा बोध महत्वपूर्ण छ र आस्था भन्दा अनुभव महत्वपूर्ण छ भनेर सम्झाइरहनुभयो । उपदेश भन्दा उपाय महत्वपूर्ण हुन्छ, विश्वास भन्दा माथि विवेक पनि छ । धारणा होइन, ध्यान जरुरी छ । धर्म होइन, धार्मिकता चाहिन्छ भन्ने कुरा सिकाउनुभएको छ ।

हामीले उहाँको सन्देशलाई कत्तिको व्यवहारमा प्रयोग गरेका छौं त ? हाम्रो अभ्यास कस्तो चलिरहेको छ ? आफैंले आफैंलाई प्रश्न गर्नुपर्ने छ ।

३. समर्पण

समर्पणको अर्थ हो– आफ्नो अहंकारलाई तिरोहित गरिदिनु । कर्म गरौँ, सफलता हात पारौं । तर, त्यसको श्रेय अहंकारवश आफैंमा सीमित नराखौं, श्रेय अस्तित्वलाई, परमात्मालाई, भगवानलाई, जे पनि आफ्नो श्रद्धाको मार्ग छ, त्यसलाई छोडिदिऊँ । यो नै अहंकाररहित समर्पण भाव हो ।

आफूले जानेको, बोध गरेको ज्ञान, बुद्धि, प्रेम, प्रज्ञा सबै अस्तित्वको कृपा हो भनी समर्पित गरिदिनु नै समर्पण भाव हो । समर्पण पूर्णताको परिचय हो । आजका हामी मानिस राम्रो भए र सफलता हात लागे आफैंलाई श्रेय दिने र भनेजस्तो भएन भने भाग्यलाई, परमात्मालाई दोष दिने चलन छ । यसले आत्मविकास हुन दिँदैन । हामीले आर्जन गरेका कुराहरू भन्दा अस्तित्वगत प्राप्त भएका बहुमूल्य उपहारहरूको बोध गरी अहोभाव व्यक्त गर्न सक्नु समर्पणभावको गुणवत्ता हो । हृदयमा करुणा, प्रेम र संवेदना जागृत भएपछि मात्र समर्पण भाव प्रष्फुटन हुन सक्छ ।

भगवान शिवले आफ्ना ध्यान र योगका विधिहरूमा सिकाउनु भएका यी जीवनोपयोगी सूत्रहरुलाई आफ्नो जीवनमा आत्मसात गर्न सकेमा भगवान शिवप्रतिको वास्तविक श्रद्धा र भक्तिभाव अर्पण भएको मानिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment