Comments Add Comment

कोरोनाजस्तै मौसमी इन्फ्लुएन्जा !

११ फागुन, काठमाडौं । माघ अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्यो, ‘गाउँपालिका–३ को गुम्बावस्तीमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता कोरोनासँग (कोभिड १९) लक्षण मिल्दोजुल्दो १ सय जना भन्दा बढी बिरामी भेटिएका छन् ।’

पत्र क्षणभरमै भाइरल भयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई अत्याइरहेका बेला जुगल गाउँपालिकाको पत्रले धेरैको सातो लियो ।

तर परीक्षणबाट थाहा भयो, त्यो गाउँको मानिसमा देखिएको मौसमी इन्फ्लुएन्जा (फ्लू) रहेछ ।

त्यसको केही दिन अघि पनि हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा गाउँ नै रुघाखोकी र भाइरल ज्वरोका बिरामीले थलियो । गाउँका चार सयभन्दा बढी मानिस थलिँदा जिल्लाभर १४ जनाभन्दा बढीको मृत्यु भएको खबर आयो । कतिपयले कोरोनासँग जोडेर प्रचार गरे, तर त्यो पनि मौसमी इन्फ्लुएन्जा थियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोनाको आशंकामा चेकजाँच गराउन पुग्नेहरु धेरै छन् । कोरोनाको त्रासकै कारण गएको वर्षभन्दा बढी मौसमी फ्लूका बिरामी अस्पताल पुगेको डाक्टर शेरबहादुर पुन बताउँछन् ।

भन्छन्, कोरोना भयो कि भन्दै अस्पताल पुग्ने मौसमी फ्लूका धेरै बिरामी हामीले भेटेका छौं ।’

डाक्टर पुनको भाषामा अहिले कोरोना फोबिया नै चलेको छ । सामान्य रुघाखोकी र ज्वरो आउनासाथ मानिसहरु कोरोना हुनसक्ने आशंका गर्दै अस्पताल पुगिरहन्छन् । उनकाअनुसार टेकु अस्पतालमा मात्र दैनिक करिब दुई दर्जन बिरामी रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर पुग्ने गरेका छन् ।

इन्फ्लुएन्जा संक्रमण भएको अवस्थामा शरीरका मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी ख्याप्प बस्ने, आँखाका गेडी दुख्नेजस्ता लक्षण देखिन्छ ।

सचेतता अपनाउनु राम्रो पनि हो, तर अहिले मौसमी इन्फ्लुएञ्जाको मौसम सुरु बिर्सनु पनि हुँदैन ।

चिकित्सकहरुको अनुसार कोरोना (कोभिड १९) र मौसमी इन्फ्लुएञ्जाको लक्षण उस्तै हो । निरन्तर ज्वरो आउने र रुघाखोकी लाग्ने दुबै रोग लाग्दा हुने गर्छ । जाडो सकिएर गर्मी सुरु हुने समयमा र मनसुनको मध्यसमयमा मौसमी फ्लू देखिन्छ ।

डाक्टर पुन भन्छन्, ‘अहिले कोरोना संक्रमण नफैलिएको भए हामी मौसमी फ्लूकै कुरा गरिरहको हुन्थ्यौं ।’

एक सर्वेक्षणअनुसार सन् १९१८ को अवधिमा उच्च ज्वरो तथा इनफ्लुएञ्जाको कारण विश्वभर २ देखि ५ करोड मानिसले अकालमा ज्यान गुमाएका थिए । यसले चिकित्सा जगतमा आतङ्क नै छाएको थियो । सन् १९५७–६८ ताका यस्तै खालको अर्को सङ्कट आइपरेको थियो तर चिकित्सकहरुको पारम्परिक उपचारको व्यवस्थापनले गर्दा मृत्यु दर ५० प्रतिशतले घटेको थियो । इन्फ्लुएन्जा खोपको आविष्कारपछि मृत्युदर घट्यो र विश्व स्वास्थ्य संगठनले पनि त्यही खोपलाई निवारकको रुपमा अनिवार्य गर्‍यो ।

नेपालको तथ्यांक

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सन् २०१४ देखि २०१८ सम्मको रिपोर्टअनुसार इन्फ्लुएन्जाको परीक्षण गराउन पुगेकामध्ये करिब २५ देखि ४० प्रतिशतमा संक्रमण देखिने गरेको छ । ०१७ र ०१८ मा भने यो संख्या केही कम देखिन्छ ।

प्रत्येक वर्ष फागुन–चैत र साउन–भदौ महिनामा इन्फ्लुएन्जा जाँच गराउनेको संख्या उच्च बिन्दुमा पुग्छ । प्रयोगशालाको पाँच वर्षको तथ्यांक भन्छ, ‘माघ महिनाको अन्त्यदेखि वैशाख महिनासम्म इन्फ्लुएन्जाको जाँच गराउनेको चाप बढी हुन्छ ।’

के हो इन्फ्लुएन्जा ?

चिकित्सकहरुका अनुसार ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमका इन्फ्लुएन्जा हुन्छन् । ‘ए’, ‘बी’ र ‘सी’ इन्फ्लुएन्जाले व्यक्तिमा संक्रमण गर्छ । कडा किसिमका ‘ए’ र ‘बी’ इन्फ्लुएन्जाको जोखिम प्रत्येक मौसमको परिवर्तनमा हुन्छ भने ‘बी’ को तुलनामा ‘ए’ विश्वव्यापी रुपमा फैलिने जोखिम हुने चिकित्सकहरु बताउँछन् । ‘सी’ इन्फ्लुएन्जा भने कडा रुपमा देखिँदैन ।

यस्तै इन्फ्लुएन्जा ‘ए’ भाइरसको स्वरुप छिटो परिवर्तन हुने भएकाले मृत्युको जोखिम बढी हुन्छ ।

इन्फ्लुएन्जालाई ‘फ्लू’का नामले समेत चिनिन्छ ।

नेपालमा हाल तीन किसिमका फ्लू भेटिन्छन् । पहिलो इन्फ्लुएन्जा एचवान एनवान पीडीएम ०९, दोस्रो इन्फ्लुएञ्जा बीएचथ्री एनटु (हङ्गकङ्ग फ्लू) र तेस्रो इन्फ्लुएञ्जा बी । विश्वको तथ्यांकसित तुलना गर्दा नेपालमा अझै पनि ५० प्रतिशत व्यक्तिहरुमा मौसमी रुघाखोकीको संक्रमण देखिएको छ । जबकी अन्य मुलुकहरुमा यसको संक्रमण दर २० प्रतिशतको हाराहारीमा मात्र हुन्छ ।

जोखिम के ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर पुनका अनुसार इन्फ्लुएञ्जाको संक्रमणको जोखिम रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा हुन्छ । यस्तै पाँच वर्षभन्दा कम उमेरका बालबालिका र पाका उमेरका व्यक्तिमा इन्फ्लुएन्जाले छिटो आक्रमण गर्छ । बालबालिका र ६० वर्ष उमेर नाघेका व्यक्ति बढी रुघाखोकी र ज्वरो आउँदा सचेत रहनुको विकल्प छैन । किनकी इन्फ्लुएन्जाबाट संक्रमित भएका करिब २ प्रतिशत बिरामीको मृत्यु हुन्छ ।

यसैगरी दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा पनि इन्फ्लुएन्जा संक्रमणको जोखिम बढी हुन्छ । डाक्टर पुन भन्छन्, ‘विभिन्न किसिमका दीर्घ रोगको समस्या भएका व्यक्तिमा इन्फ्लुएन्जाको संक्रमण छिटो हुन सक्छ ।’

लक्षण कस्तो हुन्छ ?

मौसमी ‘इन्फ्लुएन्जा’ (फ्लु) र कोरोनाको लक्षण करिब उस्तै हुने भएतापनि स्वास्थ्य परीक्षणबाट पहिचान गर्न सकिन्छ । डाक्टर पुनका अनुसार इन्फ्लुएन्जा संक्रमण भएको अवस्थामा शरीरका मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी ख्याप्प बस्ने, आँखाका गेडी दुख्नेजस्ता लक्षण देखिन्छ । तर कोरोना भाइरसको संक्रमण भएको अवस्थामा सुरुमै श्वासप्रश्वासमा समस्या आउने, उच्च ज्वरो आउने त्यसपछि रुघा–खोकी लाग्नसक्छ ।

अहिले नेपालमा कोभिड १९ र सबै किसिमको मौसमी फ्लूको परीक्षण हुन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लुएञ्जाको परीक्षण निःशुल्क गर्ने गरिएको छ ।

उपचार के ?

चिकित्सककाअनुसार भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले हत्पत्ति रोगले छुदैन । इन्फ्लुएन्जाबाट बच्न संक्रमण हुनुपूर्व नै भ्याक्सिन लगाउन सकिन्छ । यसो गरेमा इन्फ्लुएन्जाले सजिलै आक्रमण गर्न सक्दैन । भ्याक्सिनको प्रयोगले सतप्रतिशत इन्फ्लुएन्जाबाट नबचाउने भए पनि करिब ६० प्रतिशतसम्म बच्न सघाउने डा. पुन बताउँछन् ।

वर्षमा एक पटक फ्ल ूविरुद्धको खोप लगाउदाँ धेरै हदसम्म प्रभावकारी हुने उनको कथन छ ।

चिकित्सकहरुका अनुसार इन्फ्लुएन्जा खोपले जङ्गली चराचुरुङ्गीहरूका कारण हुने सङ्क्रमणबाट सुरक्षा मात्र नदिई यसले अन्य किसिमका रोगबाट बच्न पनि सघाउँछ ।

डब्लूएचओकाअनुसार ६ देखि ३५ महिनाको शिशुलाई ०.२५ एमएलको इन्फ्लुएन्जा खोप दिनुपर्छ । पहिलो लगाएको ४ हप्ताको अन्तरालमा पुनः ०.२५ एमएलको खोप लगाउनुपर्छ । कहिलेकाहीँ लगातार रुघाखोकी र फ्लू भइरहने बच्चालाई १० वर्षको उमेर हुँदा ०.५ एमएलको विशेष खोप दिने गरिन्छ ।

दीर्घरोगसँग संघर्ष गरिरहेका रोगीहरूले वर्षमा एक पटक इन्फ्लुएञ्जा प्रतिरोधी खोप लिनुपर्छ । डब्लूएचओले मुटु रोग भएका, मेटाबोलिज्म बिकार भएका र मिर्गौलासम्बन्धी रोग भएका रोगीहरूलाई खोप दिने निर्णय गरी लागू गरिसकेको छ ।

भ्याक्सिन त रोग लाग्नुअघि गरिने रोकथामको उपाय भयो । तर मौसमी ‘इन्फ्लुएन्जा’ (फ्लु) को संक्रमण भएको अवस्थामा लक्षणको आधारमा पनि विविध उपचार गर्न सकिन्छ ।

विशेष औषधि नहुने भएता पनि एण्टी भाइरल औषधि प्रयोग गरिने डाक्टर पुन बताउँछन् ।

बच्ने तरिका

– खोक्दा, हाछ्यूँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा वा पाखुराले)

– सही तरीकाले साबुन(पानीले पटक(पटक हात धुने

– प्रभावित व्यक्तिसँग हात नमिलाउने, बरु नमस्कार गर्ने

– अन्य व्यक्तिसँग कम्तिमा एक वा दुई हात टाढा रहने

– रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने । सम्भव भएसम्म अन्य व्यक्तिभन्दा अलग्गै राख्ने

– आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने

– जथाभावी नथुक्ने वा सिँगान नफाल्ने

– शंकास्पद संक्रमितबाट सकभर टाढै बस्ने

– रुघाखोकी लागेमा ३(५ दिनसम्म घरमै आराम गरेर बस्ने ।

– रोगीलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालत तथा तरकारी र गेडागुडीको रस आदि खुवाउने ।

– चुरोट(रक्सी नखाने

– दुध चुस्ने उमेरका बच्चाहरुलाई साविक बमोजिम नियमित स्तनपान गराउने

– चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहबिना औषधि नखुवाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment