Comments Add Comment

बालबालिकाको उत्पीडन हुनसक्छ खतरनाक

भनिन्छ, सामान्यतयाः बालबालिकाहरुलाई अञ्जान मानिसहरुबाट खतरा हुन सक्छ भने अभिभावक र आफन्तबाट उनीहरुलाई सुरक्षा प्राप्त हुन्छ । तर सधैं यस्तै हुन्छ भन्ने हुँदैन । अभिभावक, हेरचाह गर्ने व्यक्तिहरु, ट्यूशन पढाउने शिक्षक अथवा दाजु-दिदी तथा आफन्त । उनीहरुमध्ये जो कोहिले पनि बालबालिकासंग नराम्रो व्यवहार अर्थात बाल उत्पीडन गरेर उनीहरुलाई त्यस्तो चोट दिन सक्छन्, जसले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक स्वास्थ र व्यक्तित्व विकासमा बाधक बन्न सक्छ । कहिलेकाहीँ त यही कारणले बच्चाको मृत्यु पनि हुन सक्छ । बालबालिकासँग त्यस प्रकारको उत्पीडन विभिन्न किसिमका हुन सक्छन् ।

शारीरिक उत्पीडनको अर्थ त्यस्ता हिंस्रक क्रियाकलापहरु पर्दछन्, जसमा बालबालिकाहरुलाई शारीरिक चोट पुर्‍याउने, उनीहरुको कुनै अंगलाई काट्ने, पोल्ने, भाँच्ने अथवा उनीहरुलाई विष दिएर मार्ने प्रयास समेत गरिन्छ । त्यस्ता क्रियाकलाप अञ्जानमा अथवा जानी-जानी पनि गर्न सकिन्छ । त्यस्ता क्रियाकलापबाट बालबालिकाहरुलाई चोट पुग्न सक्छ, रगत बग्न सक्छ अथवा उनीहरु गम्भीर रुपले बिरामी अथवा घाइते हुन सक्छन् ।

भावनात्मक उत्पीडनको अर्थ अभिभावक अथवा रेखदेख गर्ने व्यक्तिद्वारा बालबालिकालाई नकार्नु, नराम्रो व्यवहार गर्नु, माया-प्रेमबाट बञ्चित गर्नु, हेरचाह नगर्नु र ससाना कुराहरुमा अपमान गर्नु आदि हुन्छन् ।

बालबालिकालाइ डर लाग्दो सजाय दिनु, गाली गर्नु, दोष थोपर्नु, हेप्नु, हिंस्रक बन्नका लागि बाध्य बनाउनु जस्ता कुराहरु पनि यसमा समावेश छन् ।

यी कारणहरुले बालबालिकाहरु मानसिक रुपले विरामी पर्न सक्छन् । उनीहरुको व्यक्तित्वमा प्रभाव पर्न सक्छ र उनीहरु भित्र हीनभावना विकसित हुन सक्छ ।

यौन उत्पीडन

बाल यौन उत्पीडनको अर्थ दुर्भावनाबाट प्रेरित भएर बालबालिकालाई दुःख दिनु नै शारीरिक शोषण गर्नु हो । यदि कुनै पनि बालबालिकासंग त्यस प्रकारको घटना भयो भने उनीहरु जीवनभरी सामान्य जीवन बाँच्न सक्दैन ।

लामो समयसम्म त्यस्ता पीडाहरुका कारण बालबालिकामा अवसाद, अरु भन्दा-भिन्दै स्वाभाव र आफुलाई सिध्याउने भावना उत्पन्न गर्न सक्छ । यौन संक्रमण, एचआईभी एड्स अथवा नचाहँदा-नचाहँदै गर्भधारण हुुनु बाल यौन उत्पीडनको खतरनाक परिणाम हो । हाम्रो देशमा पनि बाल यौन दूर्व्यवहार र उत्पीडन भएका छन्, जसको ज्वलन्त उदाहरण निर्मला पन्त नै हुन्, जसको बलत्कारपछि हत्या भएको थियो ।

बाल विवाह

बाल विवाह पनि अभिभावकद्वारा बालबालिकामा गरिने एक प्रकारको उत्पीडन नै हो । आज पनि नेपालका विभिन्न स्थानहरुमा १२-१३ वर्षका अथवा त्यो भन्दा पनि कम उमेरका बालिकाहरुको विवाह गरिदिइन्छ ।

उनीहरु शारीरिक, मनोवैज्ञानिक र भावनात्मक रुपले विकसित हुनु अगाडि नै आमा-बुबाले उनीहरुको विवाह गरिदिन्छन् । कम उमेरमा विवाह हुँदा धेरै बालिकाहरु आफ्नो अधिकारबाट बञ्चित हुनु परेको छ । उनीहरुले शिक्षाबाट बञ्चित हुुनु परेको छ  ।

बच्चाको अवहेलना

अवहेलना गर्नुको अर्थ जब अभिभावक साधन सम्पन्न भएर पनि आफ्नो बच्चाको शारीरिक र भावनात्मक आवश्यकतालाई पूरा गर्न असफल हुन्छन् अथवा उनीहरुद्वारा आफ्ना बालबालिकालाई ध्यान नदिनाले बालबालिका कुनै दुर्घटनाको शिकार हुन सक्छन् ।

अन्धविश्वासको शिकार

केवल अपेक्षाहरु तथा प्रतियोगिताहरुका बोझ मात्रै होइन, हाम्रा बालबालिकाहरु समाजका अन्धविश्वासको समेत शिकार भैरहेका हुन्छन् । बालबालिकाहरुलाई झाडा पखाला लाग्दा होस् अथवा दादुरा र ठेउला नै आउँदा किन नहोस्, देउता लागेको हो भन्दै झारफूक गर्ने चलन अझै पनि कतिपय ग्रामिण क्षेत्रमा विद्यमान छ ।

कुटपिटबाट निधन

ओईसीडी कन्ट्रीज (अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभ्लप्मेन्ट) द्वारा गरिएको अध्ययन अनुसार १५ देखि १७ वर्षसम्मको उमेरका बच्चाहरु सबैभन्दा बढी जोखिममा रहन्छन् । उनीहरुपछि नवजात शिशूहरुको नम्बर आउँछ । १ देखि ४ वर्षसम्मका बच्चाहरुको तुलनामा १ वर्षसम्मका बच्चाहरुको यसप्रकारको मृत्यको खतरा तीन गुणा बढी हुन्छ ।

मृत्युको भय नहुने हिंसा

कतिपय अवस्थामा हिंसाबाट मृत्यकै खतरा त हुँदैन, तर बालबालिकाहरुको स्वास्थ, उनीहरुको विकास अथवा आत्मसम्मानमा ठेस पुग्छ । कुटपिट, टोकाई, आगो, विष आदि द्वारा दुःख दिने गरिन्छ । कतिपय केशहरुमा त्यसप्रकारका हिंसाहरुले बालबालिकाहरुको निधन, अपांगता अथवा गम्भिर चोटको रुपमा देखा पर्न सक्छ । यसले उनीहरुको मानसिक स्वास्थ तथा विकासलाई समेत प्रभावित गरिदिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment