Comments Add Comment

वीरगञ्जका निमावि स्कुलमा प्रधानाध्यापक खटाउँदा विवाद

१५ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका १२ वटा निम्न माध्यमिक तहमा निमावि तहकै प्रधानाध्यापक खटाइएको छ ।

कक्षा ८ सम्म अध्यापन हुने भए पनि प्राथमिक तहकै प्रधानाध्यापकले सञ्चालन गरिरहेका १२ वटा विद्यालयमा निमावि तहकै प्रधानाध्यापक खटाइएको हो ।

निमावि दरबन्दी नभएका विद्यालयमा दरबन्दीसहित प्रधानाध्यापक नियुक्त गर्ने शिक्षा समितिको निर्णयपछि १२ वटा निमाविमा प्रधानाध्यापक खटाइएको वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

निमावि बसडिल्वा, बेल्वा प्रसौनी, भवानीपुर, टेडा सिमरा, रामदेनी तिवारी, ईन्दु लाखे, बाल मन्दिर, बलिरामपुर, जगरनाथपुर, भेडियारी, लालपर्सा, तौहिदुल मदरसामा प्रधानाध्यापक खटाइएको हो । तीन वटा विद्यालयमा प्रधानाध्यापक परिवर्तन गरिएको र बाँकीमा नयाँ प्रधानाध्यापक पठाइएको माहाशाखाले जनाएको छ ।

कुरेश गद्धीलाई तौहिदुल मदरसामा, सुखचैना माविका दीपक सर्राफलाई बेल्वा प्रसौनीमा, श्रीपुर स्कुलका शिक्षक देवनाथ साहलाई बसडिल्वामा खटाइएको छ ।

शिक्षा समितिको निर्णयअनुसार सरुवा गरिए पनि विभिन्न विद्यालयमा समस्या देखिएको छ ।

भवानीपुरमा खटाइएका राम बालक चौरसिया विद्यालय नियमित गइरहे पनि पुराना प्रधानाध्यापकले हाजिर गर्न दिएका छैनन् । त्यहाँ रहेका प्रावि तहका प्रधानाध्यापक राम नरेश यादवले अवकाशपछि मात्रै हेडमाष्टरको कुर्सी छोड्ने अडान लिएर बसेका छन् । त्यतिन्जेलसम्म चौरसिया सहायक हुनुपर्ने उनको भनाइ छ ।

बाल मन्दिरमा नयाँ र पुराना प्रधानाध्यापकले मिलेर चलाउने भनी सहमति गरेका छन् । शिक्षा महाशाखाले बलिरामपुरमा हाकिम अन्सारीलाई खटाएको थियो । उनले प्रअको रुपमा हाजिर त गरेका छन् तर पुराना प्रधानाध्यापक बलिराम यादवको विरोधले खाता सञ्चालन गर्न कठिनाई भइरहेको शिक्षा महाशाखाले जनाएको छ ।

भेडिहायीमा रामरेखा राय हाजिर भएका छन् । लालपर्सामा नयाँ र पुराना प्रधानाध्यापकबीच सहमति गरेर विद्यालयको खाता सञ्चालनमा ल्याइएको छ ।

तोहिदिल, इन्दुलाखे, रामदेनी तिवारीमा खटाइएका प्रधानाध्यापक जान मानेका छैनन् । रामदेनी तिवारीमा खटाइएका चन्देश चौहान नजाने अडान लिएर बसेका छन् ।

टेढा सिमरामा निमाविमा स्थायी शिक्षकलाई नै प्रधानाध्यापकको जिम्मेवारी दिइएको शिक्षा महाशाखाले जनाएको छ ।

शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुरुमा सबैजसो ठाउँमा विवाद देखिए पनि अहिले समस्या समाधान हुँदै गइरहेको जानकारी दिए ।

‘स्कुललाई अपग्रेड गरेपछि प्रधानाध्यापक पनि अपग्रेड लेभलको हुनुपर्छ, स्थानीयको माग र सिस्टममा भएको व्यवस्था पनि त्यही हो । कति दिन सुविधाविहीन बनाउने भनेर सरुवा गरेका हौं’ उनले भने ‘एकातिर सुविधा दिएन भन्ने गुनासो छ, अर्कोतिर दिएको सुविधा नलिने परिपाटी छ । क्रमशः समस्या समाधान गरिरहेका छौं ।’

कतिपय विद्यालयमा विद्यमान प्रधानाध्यापकले नयाँलाई जिम्मेवारी बहन गर्न नदिएको र कतिपयमा व्यवस्थापन समितिले समेत परिवर्तन नगर्न भनी पत्र पठाए पनि समस्या समाधानको क्रममा रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment