News Summary
Generated by OK AI. Editorially reviewed.- नेशनल च्याम्पियन रुपेश जयसवाल लगायतका खेलाडीले नेपाल चेस महासंघका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको राजीनामा माग गरेका छन् ।
- खेलाडीहरूले महासंघमा आर्थिक हिनामिना, अनियमितता र पारदर्शिताको अभाव भएको आरोप लगाएका छन् ।
- खेलाडीहरूले महासंघको कार्यसमिति विघटन गरी नयाँ समिति गठन गर्न माग गरेका छन् ।
५ असोज, काठमाडौं । नेपाल चेस महासंघमा रहेको विवाद सतहमा आएको छ । चेसमा नेशनल च्याम्पियन रुपेश जयसवाल लगायतका खेलाडीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको राजीनामा माग गरेका हुन् ।
महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले एकलौटी पाराले महासंघ चलाइरहेको उनीहरुको आरोप थियो । ‘महासंघका अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतले आफ्नै हिसावले एकलौटी पाराले नेपालको चेस चलाइरहेका छन्, पत्रकार सम्मेलनमा खेलाडीहरुले भने, ‘उनीहरुलाई आवश्यक कारवाही गर्नुपर्ने र पदाधिकारीले राजीनामा दिनुपर्छ ।’
रुपेश जयसवाल, राष्ट्रिय एमेच्योर च्याम्पियन पुरुषोत्तम चौलागाई, पूर्व एमेच्यJर च्याम्पियन आशिष फुयाल र राष्ट्रिय खेलाडी तथा क्याडेट मास्टर सुश्रूत दाहालले संयुक्त पत्रकार सम्मलेन गर्दै वर्तमान कार्यसमिति पारदर्शी नभएको, आर्थिक हिनामिना गरेको लगाउँदै महासंघ विघटन नै गर्नुपर्ने माग राखेका छन् ।
यस्तै महासंघका नेतृत्वले आर्थिक घोटला गरेको आरोप समेत खेलाडीहरुले लगाएका छन् । ‘संघमा बस्नेहरुले आर्थिक घोटला गरेका छन् । बाहिरबाट आउने रकमको पनि कुनै हिसाव छैन ।’
नेपाली चेसमा भएको अनियमितता, बेथिति र अपारदर्शिताबारे विषय विभिन्न समयमा उठाउने गरे पनि नेपाल बुद्धिचाल महासंघले सधैं बेवास्ता गरेपछि बाध्य भएर आफूहरुले पत्रकार सम्मेलन गर्नुपरेको खेलाडीहरुले बताएका छन् ।
‘हामीले उठाएको मूल विषय शक्तिको दुरुपयोग गर्दै गरिएको मनोमानी निर्णय, आर्थिक अपारदर्शिता तथा खेलाडीमाथि गरिएको दुर्व्यवहार छन्,’ खेलाडीहरुले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘नेपालमा चेस खेलाडीको छनोट कमिटी नबनाइने तथा छनोटको आधार नहुनुका साथै अन्तिम समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइदा आफू अनुकूल व्याख्या गर्ने शैली पुरानै हो । यसमा नेपाली चेस खेलाडीहरु घोर आपत्ति जनाउँदछौ ।’
यसै क्रममा रुसमा जारी प्रथम बुद्धिस्ट चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट खेलाडी सहभागी गराउँदा पनि विना कुनै आधार खेलाडी चयन गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
नेशनल च्याम्पियन रुपेश जयसवालले आफू राष्ट्रिय च्याम्पियन भएर पनि रुसमा भएको बुद्धिस्ट अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा खेल्न जान नपाएको बताए । ‘राष्ट्रिय च्याम्पियन भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता जान नपाउने अनी अन्य खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने कस्तो नियम हो’ उनले प्रश्न गरे ।
यसैगरी, काजकिस्तानमा जारी एसियन क्याडेट चेस च्याम्पियनसिपमा पनि नेपाली खेलाडीको सहभागिताको छनोट प्रक्रिया प्रष्ट नहुनु दु:खद कुरा भएको र महासंघले छनोटको प्रक्रिया नबनाई सहभागी गराउने शैलीले चेस खेलाडीमाथि सधैं दमनको भावना देखिएको खेलाडीहरुको दावी छ ।
महासंघकै लारवाहीका कारण गतवर्ष हगेरीमा भएको ४५औं चेस ओलम्पियाडमा नेपालको सहभागिताको अवसर नै गुमेको उनीहरुले आरोप लगाएका छन् ।
यस्तै महासंघले खेलाडी कल्याण कोषको रूपमा हरेक प्रतियोगिताको पुरस्कार रकमको ५ प्रतिशत उठाइने गरेको तर राष्ट्रिय खेलाडीहरूको जीवनमा आउने गरेका ठुला दैवी विपत्ति तथा गम्भीर स्वास्थ्य समस्याको समयमा समेत संघले उक्त रकम खर्च नगरेको खेलाडीहरुको दावी छ ।
नेपाल बुद्धिचाल महासंघको बजेटबाट महासंघका पदाधिकारीहरूले विलासीपूर्ण जीवन बिताउने तथा हिसाब सार्वजनिक नगर्ने, एउटा कार्यसमिति बैठकमा नै लाखौं रुपैयाँको खर्च हुने जस्ता काम भएकोले महासंघको सम्पूर्ण आर्थिक रिपोर्ट सार्वजनिक गर्न खेलाडीहरुले माग गरेका छन् ।
खेलाडीहरुले सिमित व्यक्तिले तानाशाही पारामा महासंघ चलाएको र नेपाली चेसमा मनोमानी गरेको आरोप समेत लगाएका छन् ।
यस्तै उनीहरुले नेपाल चेस संघ महासंघको वर्तमा कार्यसमिति विघटन गरी नयाँ समिति गठन गर्न माग समेत राखेका छन् ।

नेपाली चेसमा उठेको विवादबारे बुझ्न नेपाली टोलीसँगै हाल रुसमा रहेका महासंघका अध्यक्ष हेराकाजी महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान पाएन भनेर खेलाडीले पत्रकार सम्मेलन गर्नुहुन्छ भने केही भन्न नसकिने उनले बताए । उनले सम्भावना भएको खेलाडीलाई रुसमा भएको प्रतियोगितामा सहभागिता गराइएको र प्रतियोगिताको फर्म्याट परिवर्तन हुँदा खेलाडी पनि परिवर्तन गर्नुपरेको उनले बताए ।
खेलाडीको संयुक्त प्रेस विज्ञप्ति:


प्रतिक्रिया 4