Comments Add Comment

रमेश खरेल र ज्ञानेन्द्र शाहीबीच कसरी आयो फाटो ?

रमेश सरको खराउ राखेर अभियान चलाउँछु : शाही

१६ फागुन, काठमाडौं । सेलिब्रेटी छविका पूर्वडीआईजी रमेश खरेल अहिले चर्चामा छन् । ‘हाम्रो नेपाल हामी नेपाली’ नामको गैरराजनीतिक अभियान अघि बढाउने तयारीमा रहेका उनी अन्तिम क्षणमा पछि हटेपछि चर्चाको विषय बनेका हुन् ।

अभियान घोषणा कार्यक्रमभन्दा तीन घन्टा अगाडि मात्रै उनले अभियानमा आफू नरहने घोषणा गरेका थिए । क्रिस्ल पार्टी प्यालेसमा बिहिबार दिउँसो ३ बजे घोषणा सभा राखिएको थियो । तर साढे ११ बजे एक्कासी खरेलले ‘आफ्नो नियन्त्रणबाहिरको परिस्थितिका कारण’ भन्दै कार्यक्रममा सहभागी हुन नसक्ने स्टाटस लेखे । सञ्चार माध्यमहरुलाई उनले आफू अभियानबाट अलग भएको जानकारी दिए ।

यो अभियानमा देखाउने अनुहार खरेल भएपनि उनको पछाडि थिए ज्ञानेन्द्र शाही । खरेलको संयोजक र शाही सहसंयोजक रहने गरी केन्द्रिय कमिटी घोषणा गर्ने तयारी थियो । पछिल्लो एक वर्षमा अनेक फन्डाहरु मच्चाएर यूट्यूबमा भाइरल बनेका २८ वर्षीय शाही आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्छन् । खरेललाई अघि सारेर उनैले यो अभियानको विजारोपण गरेका थिए ।

खरेलले केही आधारभूत विषयमै मतभिन्नता उत्पन्न भएकाले आफूहरु (पूर्वसचिवदेवेन्द्र सिटौला र राजकुमार यादव समेत) अभियानबाट पछि हटेको बताएका छन् । तर के कुरामा र कोसित मतभिन्नता भएको हो भन्ने उनले खुलाएका छैनन् ।

अनलाइनखबरसँग उनले भने, ‘हामीले राजनीतिक भन्दा पनि सामाजिक अभियानका रुपमा यसलाई अघि बढाउने सोच राखेका थियौं । तर अन्तिम समयमा केही साथीहरुबाट नयाँ विषयवस्तुहरु आएपछि त्यसमा हामी सहमत हुन सकेनौं ।’

कोसित के–के विषयमा असमझदारी भएको भन्ने चाहिँ पछि बताउने खरेलले सुनाए । आफूहरु नरहे पनि अभियानलाई शुभकामना र शुभेच्छा रहेको उनको भनाइ छ ।

खरेल छोडेर हिँडेपछि ज्ञानेन्द्रले आफैंलाई संयोजक बनाएर घोषणासभा सम्पन्न गरेका थिए । करिब ३ सय जना सहभागी रहेको कार्यक्रमबाट अभियानको एक सय सदस्यीय केन्द्रिय कमिटीको गठन गरेको छ ।

घोषणा कार्यक्रममा भाषण गर्दै शाहीले खरेलप्रति निकै चित्त दुखाए । राम वनवास जाँदा उनको खराउ राखेर भरतले शासन चलाएको सन्दर्भ उल्लेख गर्दै शाहीले भने, ‘म पनि खरेल सरको खराउ राखेर अभियान अगाडि बढाउँछु ।’

अझै पनि खरेल अभियानमा फर्किए आफू साधारण सदस्य मात्र रहेर काम गर्न तयार रहेको उनले पटक–पटक बताए । शाहीले खरेलको कुनै आलोचना भने गरेनन् । ‘उहाँजस्तो इमान्दार राष्ट्रसेवीलाई संयोजक मान्न पाउँदा हामी सबै गौरवान्वित थियौं । तर बिनाकारण एक्कासी छोडेर हिँड्दा एकदमै चित्त दुखेको छ । ममाथि यसअघि तीनपटक सांघातिक आक्रमण हुँदा पनि यसरी मन रोएको थिएन,’ शाहीले दुखेसो गरे ।

किन विच्किए खरेल ?

नेपाल प्रहरीमा रहँदा उत्कृष्ट कार्यसम्पादन गरेर जनस्तरमा चर्चा र प्रशंसा कमाएका कर्मठ अधिकृत हुन् खरेल । उनी आइजीपी बन्ने लाइनमा थिए, तर हुन पाएनन् । आफ्ना ब्याजी सर्वेन्द्र खनाल आईजीपी भएपछि उनले राजीनामा दिएका थिए ।

२९ वर्षसम्म प्रहरीको जागिर खाएर उज्यालो छवि बनाएका खरेल अवकाशपछि राजनीतिक–सामाजिकरुपमा सक्रिय रहन चाहेका छन् । प्रहरी संगठनबाट बाहिरिएसँगै उनी विभिन्न मञ्चहरुमा भाषण गर्दै हिँडिरहेका थिए । एक वर्ष अगाडि उनले ‘नेपालका लागि नेपाली अभियान’ले नयाँ वानेश्वरको सडकमा भाषण गरेका थिए । सोही अभियानमा आवद्ध युवा ज्ञानेन्द्र शाहीलाई सुर्खेत प्रहरीले गैरन्यायिक गिरफ्तारी र यातना दिएको विरोधमा उक्त विरोध कार्यक्रम गरिएको थियो । तर तीन महिना अगाडि अभियानले शाहीलाई निस्कासन ग¥यो । नीति–नियम तोडेको र अराजक बन्दै गएकाले शाहीलाई कारवाही गरिएको अभियानले बताएको छ । शाहीले भने राजतन्त्रको वकालत गर्ने विषयमा आफूले असहमति राख्दा निकालिएको दावी गरेका छन् ।

‘नेपालका लागि नेपाली’ अभियानबाट निकालिएपछि शाही नयाँ अभियानको तयारीमा जुटे । यसक्रममा उनलेसेलिब्रिटीहरुलाई आफ्नो अभियानमा ल्याउन भगिरथ प्रयास गरे पनि सफल भएन । उनी राजेश हमालदेखि महजोडीसम्मको घर धाएर भ्रष्टाचारविरोधी अभियानमा साथ दिन आग्रह गरेका थिए । कसैले उनलाई विश्वास गर्न तयार भएनन् । तर, रमेश खरेल भने तयार भए ।

शाहीले अभियानको संयोजक बन्न प्रस्ताव राखेपछि खरेलले स्वीकारेका थिए । तीन महिनाको तयारीपछि ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको घोषणा सभा आयोजना गरिएको थियो । खरेल लगायत नेतृत्व तहका अभियन्ताहरु बिहानै क्रिस्टल पार्टी प्यालेसमा भेला भएका थिए । यही क्रममा भएको छलफलमा असमझदारी उत्पन्न भएपछि साढे ११ बजे खरेल बाहिरिएका हुन् ।

खरेलको असन्तुष्टि केमा हो भन्ने विषयमा आफू अनभिज्ञ रहेको शाही बताउँछन् । आफूसँग खरेलको कुनै विषयमा विवाद नभएको उनको जिकिर छ । शाहीले भने, ‘११ बजेतिर म पार्टी प्यालेसबाट खाना खानको लागि बाहिर निस्केको थिएँ । होटलमा खाना खाँदै गर्दा एकजना भाइले फोन गर्नुभयो र रमेश दाइहरु हिँडेको सूचना दिनुभयो । म खाना छोडेर प्यार्टी प्यालेस फर्किँदा बाटोमै खरेल सरसँग जम्काभेट भयो । मैले के भयो सर भनेर सोधेँ । उहाँले ‘म चाहिँ हिडेँ, तपाईंहरुलाई शुभकामना छ’ मात्र भन्नुभयो ।’

‘के भएको थियो भनेर साथीहरुलाई सोधेँ । उनीहरुले पनि केही नभनेर उठेर हिँड्नुभएको बताए । यो जवाफले चित्त बुझेन । त्यसपछि म फेरि खरेल सरलाई भेट्न दौडिएँ । उहाँ सिलौटो रेस्टुरेन्टमा खाना खाँदै हुनुहुन्थ्यो । मैले सोधेँ, आखिर मबाट के गल्ती भयो ? यदि केही कमजोरी भए सुधार्छु भन्दा उहाँले ‘हामी सँगै जान नसकिने भइयो, तपाईंहरुलाई शुभकामना छ’ मात्र भनिरहनु भयो ।’

आफूहरुबीच राजनीतिक मुद्दाहरुलाई लिएर कुनै बहस विवाद नभएको शाहीको दाबी छ । आधारभूत विषयमा मतभिन्नता भएको वा केही साथीहरुबाट नयाँ विषयवस्तु आएको भन्ने खरेलको दाबीलाई पनि उनले खण्डन गरे । शाही भन्छन्, ‘हामीले एक हप्ता अगाडि नै अवधारणापत्र तयार गरिसकेका थियौं । त्यो अवधारणापत्र खरेल सरकै सक्रिय नेतृत्वमा बनाइएको हो । त्यसलाई अहिले पनि हामीले एक अक्षर तलमाथि गरेका छैनौं ।’

राजतन्त्र लगायतका राजनीतिक मुद्दाहरुमा अवधारणापत्र मौन रहेको उनले बताए । ‘हामी राजनीतिक पार्टी नभएर सामाजिक अभियान मात्रै भएकाले राजनीतिक दर्शन वा एजेन्डामा मतान्तर हुने प्रश्नै उठ्दैन,’ शाहीले भने । बरु २८ वर्षको युवालाई सहसंयोजकको रुपमा स्वीकार गर्न नसकेको हो कि भन्ने लागेको उनी बताउँछन् । शाहीलाई अर्को आशंका पनि छ, नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले भूमिका खेलेको । दुई दिन अगाडि मात्र देवेन्द्र सिटौला, कृष्ण सिटौलाको मिटिङ भएको सूचना आफूले पाएको उनले बताए ।

ज्ञानेन्द्र शाही समूहबाट अलग भएका खरेल भने अलग्गै अभियान सञ्चालन गर्ने ध्याउन्नमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment