Comments Add Comment

ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो

चीनको संकटले नेपालको विकासमा कहाँ–कहाँ पर्‍याे असर ?

१९ फागुन, काठमाडौं । कार्यतालिका अनुसार नेपाल र भारतबीचको विद्युत् व्यापार गर्न धनुषामा बनिरहेको ४०० केभी क्षमताको ढल्केबर सवस्टेशन आइतबारबाट सञ्चालनमा आउनुपर्थ्यो । तर, ग्यास इन्सुलेटेड सवस्टेशन (जीआईएस)का उपकरणको सञ्चालन परीक्षण गर्न चिनियाँ इञ्जिनियर कुर्दाकुर्दै आयोजनाको कार्यतालिका बिथोलियो ।

कोरोना भाइरसको प्कोपले चिनियाँ प्राविधिक समयमै नेपाल आउन नसकेपछि अन्तिम अवस्थामा आएर पनि नेपालकै सबैभन्दा ठूलो सब स्टेसन चार्ज गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यसले गर्दा बनिसकेको सबस्टेसन सञ्चालनमा ल्याउन थप डेढ महिना समय लाग्ने अवस्था आएको घिसिङको भनाइ छ ।

कोरोना भाइरसको त्रास फैलिँदै जाँदा झण्डै एक महिनादेखि विभिन्न विकास आयोजनाहरुमा समस्या देखिँदै आएको छ । यसले साढे आठ महिनामा मुस्किलले २२ प्रतिशत विकास खर्च गरेको सरकारलाई थप दबाव सिर्जना भएको छ ।

विशेष गरी सुरुमा चिनियाँ कामदार कार्यरत, चिनियाँ प्रविधि आवश्यक र चिनियाँ ठेकेदारले जिम्मामा लिएका आयोजनाहरुमा विशेष प्रभाव परिरहेको छ । अब अरु देशलाई पनि कोरोनाले प्रभावित गर्न थालेपछि विकासे अड्डाका हाकिमहरुलाई अन्य विदेशी कम्पनीको जिम्मामा रहेका आयोजनामा प्रभाव देखिन थाल्ने डर छ ।

चिनियाँ प्राविधिक आएर विभिन्न आयोजनामा गर्नुपर्ने परामर्शका कामहरू पनि अहिले अलपत्र छन्

कोरोना विश्वभर नै फैलिँदै गएपछि नेपालका महत्वपूर्ण विकास आयोजनामा समेत त्यसको प्रभाव देखिन थालेको विकासे मन्त्रालयहरु बताउँछन् । विशेष गरी विभिन्न विकास आयोजनामा कार्यरत चिनियाँ परमर्शदाता, ठेकेदार, व्यवस्थापक र कामदार नयाँ वर्ष मनाउन चीन गएपछि नेपाल फर्किएका छैनन् ।

यसले केही महत्वपूर्ण आयोजनाहरु प्रभावित भइसकेका छन् । जनवरीको अन्तिम साता नयाँ वर्ष मनाउन धेरै चिनियाँ प्राविधिक, कामदार र व्यवस्थापकहरु घर गएका बेला त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

चीनमा कतिपय प्रान्तले अर्को प्रान्तमा हुने आवत–जावतमा कडाइ गरेपछि त्यहाँ पुगेका कामदार नेपाल आउन समस्या भएको छ ।

झन चिनियाँ नागरिकसँगै कोरोना भाइरस फैलिने डर रहेकाले पनि चिनियाँ कामदरको नेतृत्वमा काम भइरहेका आयोजनाहरुमा अन्योलको वातावरण सिर्जाना भएको छ । अहिले दर्जानौं जलविद्युत आयोजनाहरुमा सुरुङ र बाँध बनाउने परियोजनामा चिनियाँ ठेकेदारहरु संलग्न छन् ।

त्यसैगरी राजमार्गको विस्तार, प्रसारणलाइन तथा सबस्टेसन बनाउने आयोजना, सिँचाई आयोजनाहरुमा चिनियाँ ठेकेदारको बर्चस्व छ ।

मुख्यरुपमा प्राविधिक र व्यवस्थाकीय जिम्मा लिएका कामदारहरु नै चीनमा बस्नुपरेपछि आयोजनाहरुले गति लिन नसक्ने अवस्था सिर्जाना भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । यसले विकास खर्च गर्ने क्रम तीव्र बनाउने सरकारी प्रतिवद्धता पूरा गर्न व्यवधान थपिएको छ ।

समस्या चिनियाँ कामदार नेपाल फर्किन नपाएर मात्रै भएको छैन, नेपालबाट विभिन्न परियोजनामा सामान तथा उपकरण आपूर्ति गर्न नेपाली प्राविधिक चीन जान नपाएर पनि उत्पन्न भएको छ ।

चीनबाट यस्ता मालसमान आपूर्ति गर्न अझै पनि सहज अवस्था छैन । त्यहाँ उच्च स्वास्थ्य सतर्कता अपनाउँदै चीनले लामो समयसम्म धेरै उद्योगहरु पनि बन्द गरेको छ । यसले गर्दा पनि कतिपय मेसिन, उपकरण आयातमा पनि नेपाललाई समस्या परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।

चीनका त्यहाँका बैंकहरु बन्द हुँदा कम्पनीहरुले यहाँ रकम पठाउनेसहित बैंकिङ कारोबार गर्न पाएका छैनन् । यसले यहाँ कामदारा भएका ठेकेदार कम्पनीहरु पनि नगद प्रवाहको समस्यामा फसेका छन् ।

आयोजनाको निर्माणमा मात्रै समस्या छैन, गत असोज अन्तिम साता चिनियाँ राष्ट्रपतिको भ्रमणपछि अघि बढेका विभिन्न विकासे परियोजनाको अध्ययन सुरु गर्न पनि कोरोना बाधक बन्ने देखिएको छ ।

नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नयाँ वर्ष मनाएर नेपाल आउने कार्यक्रम थियो । तर, अब कोरोनाको संक्रमणले तुरुन्तै चिनियाँ टोली नेपाल आउन नसकेको रेल विभागमा महानिर्देशक बलराम मिश्रले बताए ।

चिनियाँ टोली कहिले आएर काम सुरु गर्छ भन्ने अनिश्चित छ । चिनियाँ प्राविधिक आएर विभिन्न आयोजनामा गर्नुपर्ने परामर्शका कामहरु पनि अहिले अलपत्र छन् ।

चीनका लागि नेपाल आफ्ना अन्य उत्पादनहरुको मात्रै नभएर पूर्वाधार निर्माताहरु (निर्माण व्यवसाय) को राम्रो बजार हो । आफूहरुसँग भएको उच्चस्तरको क्षमता प्रयोग गर्न उनीहरु सम्भाब्य सबै निर्माणसम्वद्ध ठेक्कामा प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

कम लागतमा काम गर्न सक्ने र त्यसबाट उत्कृष्ट नतिजा दिन सक्ने भएकाले चिनियाँ कम्पनीहरु नेपालको निर्माण बजारमा छाएका छन् । नेपालमा विदेशी ठेकेदार सहभागी हुने प्रायः सबै ठेक्कामा चिनियाँ ठेकेदारको दबदबा छ ।

कहाँ–कहाँ पर्‍याे प्रभाव ?

विमानस्थल र सडक आयोजनाहरुमा मात्रै नभएर ऊर्जा, खानेपानी र सिञ्चाई र सञ्चारका आयोजनामा पनि चिनियाँ कम्पनीका ज्वाइन्ट भेन्चरहरु संलग्न छन् । सडक र ऊर्जाका धेरैजसो आयोजनामा नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग नै भेन्चर गर्ने गरेका छन् ।

यस्तो अवस्थामा चीनमा आएको संकटको अवस्थाले नेपालको विकासमा पनि धक्का लागेको छ ।

कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ ।

तर कोरोना भाइरसको संक्रमण बढेसंगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन सकेका छैनन् । जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम नराम्ररी प्रभावित भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।

टर्मिनल भवनमा ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्टका साथै धावन मार्गमा बत्ति जडान गर्नुपर्ने थियो । ‘कोरोना भाइरसका कारण २० जना चिनियाँ दक्ष प्राविधिक नेपाल आउन सकेका छैनन्’ अधिकारी भन्छन्, ‘टर्मिनल बिल्डिङ र रन वेमा जडान गर्नुपर्ने उपकरण पनि रोकिएका छन् ।’

यस्ता उपकरणको गुणस्तर जाँच्न नेपाली प्राविधिक चीन जाने योजना पनि स्थगित भएको छ । मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथोपटक थपिएको म्यादमा पनि विमानस्थल तयार नहुने आयोजना प्रमुख अधिकारीले बताए ।

‘विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कोरोनाको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने भयो,’ उनी भन्छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएर काम गरिरहरेको छ । यो काम अहिले ठप्प जस्तै छ ।


चिनियाँ ठेकेदारहरु नेपालमा ऊर्जासम्बद्ध दर्जनौं आयोजनामा संलग्न छन् । चीनबाट प्राविधिक नआएपछि देशकै ठूलो सबस्टेशन निर्माण प्रभावित भएको छ ।

यसै कारण नारायणगढ–बुटवल सडक बनाउने काम पनि प्रभावित छ । दुई खण्डमा एउटै चिनियाँ कम्पनीले हात पारेको यो आयोजनामा पनि अरुमा जस्तै प्राविकि जनशक्ति चीनकै रोकिएको ब्यथा छ ।

चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनका दुईजना आयोजना इन्चार्जसहित १५ जना प्राविधिक चीनमै रोकिन पुगेका छन् । जसले गर्दा आयोजनामा नगद प्रवाह मात्रै हैन, कार्यस्थलमा लगभग काम ठप्प जस्तै छ ।

नयाँ वर्ष मनाउन गएका कामदार नफर्किएपछि दोलखा र रामेछापको सीमानामा बनिरहेको ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा बनिरहेको २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम ठप्प छ ।

चिनियाँ कम्पनी चाइना वाटर टर्वाइन वक्र्स (सिडब्लु टिडब्लु) ले जिम्मा लिएका यी आयोजनामा कामदार नआएपछि कम्पनी समयमै काम नसकिने भन्दै चिन्तित छ ।

लमजुङको न्यादी जलविद्युत आयोजनाको पनि कथा उस्तै छ । चिनियाँ कम्पनीले बनाइरहेको आयोजनाका कामदार नयाँ वर्षमा विदा लिएर घर गएका थिए । तर फर्किएका छैनन् ।

दोलखाको सिंगटी खोला जलविद्युत आयोजनाको काम पनि यसकै कारण प्रभावित छ । चैतभित्र सम्पन्न हुने बताएको आयोजनामा टवाइनसहितको मेसिन जोड्न चीनबाट प्राविधिक आउनुपर्नेछ ।

आयोजनाको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको कोरोना भाइरसले मेसिन जडानका लागि चिनियाँ प्राविधिक आउन नसक्दा काम प्रभावित हुन पुगेको बताए ।

कास्कीमा बनिरहेको साढे ४ मेगावाटको विजयपुर–२ जलविद्युत आयोजनाको विद्युत उत्पादनमा पनि कोरोनाले प्रभाव परेको छ । यहाँ पनि नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक फर्किन नसकेपछि परीक्षणको काम रोकिएको प्रवद्र्धक सिभिल हाइड्रो पावर कम्पनीले बताएको छ ।

यसबाहेक प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेका विभिन्न आयोजनाहरुमा पनि कोरोनाको असर देखिएको छ । कतिपय आयोजनामा काम भइरहे पनि गति सुस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment