Comments Add Comment

उच्च आत्मबलले रोगलाई जित्छ

‘मेरो पेट चारपल्ट राम्रैसँग चिरिएको छ । केही अंग फालिएका छन् । केही अंग काटिएका छन् । केही अंग फेरिएका छन् । मेरो बानी परेको छ शरीरभित्र तार, यन्त्र राखेर चल्नुपर्‍यो भने पनि चल्ने । यो बानी परेको छ । रेडियोको ब्याट्रीजस्तो ।’

गत फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै दिएको अभिव्यक्ति हो यो । यो अभिव्यक्ति दिने समयमा उनीभित्र कुनैपनि हतोत्साहको भाव थिएन । भयको भेउ थिएन र त्रासको संकेत समेत देखिँदैनथ्यो ।

यही अवस्था दोहोरियो दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुपूर्व । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुँदै थियो । अस्पताल जानु पूर्व समेत उनको व्यस्त कार्यतालिका थियो । बिहानैदेखिको व्यस्त कार्यतालिका सकेर उनले सार्वजनिक अभिव्यक्ति दिए ।

सार्वजनिक रुपमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने  ‘केही दिनको अस्पताल बसाईं र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु । संसारमा केही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बनाउन होइन । हाम्रा जाग्रित हुँदै गरेका सपनाहरुलाई साकार पार्न हो ।’

यो प्रधानमन्त्रीले देखाएको एउटा उच्च आत्मबलको उदाहरण मात्रै हो । जुन रोगभन्दा ठूलो आत्मबल हुन्छ भन्ने मान्यतालाई स्थापित गर्ने एउटा दृष्टान्त बनेको छ ।

केही दिन अघि अनलाइनखबरसँगको कुराकानीको क्रममा पूर्व शिक्षामन्त्री एवं माक्र्सवादी विचारधारामा कलम चलाउने साहित्यकार मोदनाथ प्रश्रितले भनेका थिए ‘प्रधानमन्त्री ओली कारागार जीवन बिताउँदादेखि नै बिरामी हुनुहुन्थ्यो । एउटा आत्मविश्वासले बाँचेको जीवन हो त्यो । आत्मविश्वासले रोगलाई पनि पराजीत गर्न सक्छ भन्ने उदाहरण हुन्, केपी ओली ।

सन् २००८ मा भारतमा पहिलो पटक मृगौला प्रत्यारोपण गर्दादेखि हालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले धेरै स्वास्थ्य समस्याका उबडखाबडहरु पार गरिसकेका छन् । यो समयावधिलाई विश्लेषण गर्दा ओलीसामु बरु रोग डराएको मान्नेहरु धेरै छन् । उनी हारेका छैनन् । यो एउटा दृढ आत्मविश्वासको उपज हो ।

पाँच वर्षका लागि मुलुकको प्रमुख कार्यकारीको हैसियतमा काम गर्ने जिम्मेवारी सहित सत्तामा आएका ओलीलाई सुरुदेखि नै स्वास्थ्यको समस्या देखाउँदै धेरैले विश्रामको लागि सुझाव दिए । त्यस्ता सुझावहरुलाई प्रधानमन्त्रीले वास्ता गरेनन् । कारण थियो उनलाई लाग्छ ती सबै आफ्नो आत्मविश्वास कम गर्ने प्रपञ्च मात्रै हुन् ।

उनले दोस्रो मृगौला प्रत्यारोपणको लागि जानु अघि भनेजस्तै कोहीपनि यो संसारमा अजम्बरी त अवश्यै पनि छैन । तर, उनको आत्मविश्वासले नै उनलाई सञ्जीवनी बुटीको काम गरिरहेको छ । त्यही सञ्जीवनी बुटीलाई नै उनले धारण गरिरहेका छन् । यो नै प्रधानमन्त्रीको एउटा सवल पक्ष हो । यो नै एउटा कटु यथार्थ हो ।

आत्मविश्वासबाट धेरैले मृत्युलाई जितेर आएका छन् । जसले आफ्नै आत्मविश्वासलाई विश्वास गरेनन् । उनीहरु हारे । जसले आफैंले आफैंलाई विश्वास गरे उनीहरु अहिले एउटा सफल जिन्दगी बिताइरहेका धेरै उदाहरणहरु पाइन्छ ।

त्यस्तै, मृत्युलाई जितेर आएकी अर्की व्यक्ति हुन्, मनीषा कोइराला । झण्डै ८ वर्षअघि काठमाडौंमा रहेकी नायिका कोइरालाको रोग पहिचानको लागि नै काठमाडौंदेखि भारतहुँदै अमेरिकासम्मको यात्रापछि मात्रै उनको क्यान्सर रोग पत्ता लाग्यो ।

त्यतिबेला कोइरालाले विभिन्न कार्यक्रमहरुमा नै आफ्नो अनुभव सुनाएकी थिइन् । उनले भनेकी थिइन् ‘मैले मन दरो बनाएँ, हिम्मत कसेँ । चिकित्सकले पनि चिन्ता नगर्नु भने । परिवार र चिकित्सकहरुले दिएको हौसला र मेरो आत्मविश्वासले मैले रोगलाई जितेर आएँ ।’

यी उदाहरणहरु एउटा ठूलो जमातको एउटा पात्रहरु हुन् । धेरैले जीवनमा भोगेका समस्याहरुलाई आत्मविश्वासले जितेर आएका छन् । शरीर, मन, मस्तिस्क र आत्मविश्वासलाई जोड्दै आशो भन्छन् ‘यदि तपाईं सजिलैसँग शरीरलाई आराम गराउन सक्नुहुन्छ भने तपाईं सजिलैसँग दिमागलाई आराम दिलाउन सक्षम हुनुहुन्छ ।

मन अलिक जटिल छ । एकचोटी तपाईं विश्वस्त हुनुहुन्छ कि शरीरले तपाईंको कुरा सुन्नेछ, तपाईं आफैंमा नयाँ विश्वास प्राप्त गर्नसक्नुहुनेछ । अब दिमागले तपाईंको कुरा सुन्न सुरू गर्छ ।’’ यो एउटा विश्वासको कुरा हो ।

धेरै दार्शनिक मतले जीवनको यथार्थलाई विश्लेषण गर्ने गरेको छ । ती विश्लेषणबाट एउटै निचोड यो निस्कन्छ कि आत्मवलले वा उच्च मनोवलले जीवनलाई जित्छ । यसैले मृत्युलाई समेत जित्छ । चाहे यो सांख्य दर्शनको मत होस् चाहे वेदान्तको नै । यी सबैको सार भनेको नै आत्मज्ञान हो । आफ्नो आत्माको सर्वाेच्चता हो । समग्रमा भन्दा मृत्युको सार नै यसले बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment