Comments Add Comment
भिडियो स्टोरी :

क्वारेन्टाइनस्थलदेखि सानेपासम्म एउटा परिवारलाई पछ्याउँदा…

वुहानबाट उद्दार गरिएकी छोरी घर फर्किँदाको खुसी

ललितपुर बागडोलका भगवतीलाल कक्षपति सोमबार बिहान १० नबज्दै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थल पुगिसकेका थिए । तर चीनको वुहानबाट उद्दार गरेर त्यहाँ राखिएका १ सय ७५ जनाको रिपोर्ट ‘साँझसम्म आइसक्छ’ भन्ने बाहेक अरु जानकारी पाएनन् ।

डर र उत्साहको दोसाँधमा रहेका उनलाई एक घण्टा समय बिताउन वर्ष दिन काटेजस्तो भइरहेको थियो ।

डर यो मानेमा कि, १ सय ७५ जना मध्ये १ जनाको मात्र रिपोर्ट ‘पोजेटिभ’ आए सबै जना थप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

उत्साह यसकारण कि, सबैको रिपोर्ट ‘नेगेटिभ’ आए दुई महिनादेखि जारी मानसिक तनाव सक्किन्थ्यो । छोरी सलिमालाई अंकमाल गर्दै ‘अब सब ठीक हुन्छ छोरी’ भन्दै सहानुभूति दिन पाउथे ।

तर, प्रतीक्षा लम्बिरहेको थियो । उनले सोचेजस्तो केही भइरहेको थिएन । बरु बिहानदेखि धुम्म परिरहेको भक्तपुरको मौसमले पानी पर्ने संकेत गरिरहेको थियो । बाहिरी वातावरणजस्तै उनको मनमा पनि डरको बादल मडारिरहेको थियो ।

सोच्दै थिए, ‘कसैको रिपोर्ट ‘पोजेटिभ’ आएर सार्वजानिक गर्न ढिलो गरेको पो हो कि… ।’

‘शंकाले लंका जलाउँछ’ भनेझैं यस्तै शंका उपशंकाले उनको मन ठेगानमा थिएन् ।

त्यही बेला क्वारेण्टाइनमा बसिरहेकी छोरीले ‘हामीलाई त अहिलेसम्म सामान प्याक गर्नुसम्म भनेको छैन’ भन्दै फोन गरेपछि कक्षपतिले अड्कल काटेका थिए, ‘केही गडबड छ, आज नै छोरीलाई लिएर घर जान नपाइने भयो ।’

दिउँसोको ३ बज्न लागिसकेको थियो । रिपोर्ट आउने वा नआउने मेसो नपाएपछि कक्षपति निराश भएर घर फर्किने तयारी गर्दै थिए ।

फर्किनै लाग्दा नेपाली सेनाका एक अधिकृतले सुनाएका थिए, ‘रिपोर्ट आउने कुरा छ, एकछिन कुर्नुस् है ।’

अनि मात्र उनलाई आशा पलाएको थियो ।

नभन्दै केही क्षणमा १७५ जनाकै रिपोर्ट आएको खबर बाहिरियो ।

त्यो खबर उनले सुन्न चाहेजस्तै थियो ।

कक्षपति भन्छन्, ‘म जिन्दगीमा तीन पटक खुशी भएँ, छोरी जन्मिँदा, चीनबाट छोरीलाई उद्दार गरेर क्वारेन्टाइन स्थलमा राख्दा र छोरी क्वारेन्टाइनबाट सकुशल घर फर्कने खबर पाउँदा ।’

उनले उत्साहित हुँदै अरु अभिभावकलाई फोन गरेर, ‘क्वारेण्टाइनस्थल आउनुस्, आज छोराछोरीलाई घर लान पाइन्छ ’ भनेका थिए।

कक्षपति वुहानमा रहेका नेपालीलाई उद्दार गर्न सरकारलाई दबाव दिने अभिभावकका अगुवा थिए । त्यसैले सबैलाई खबर गर्नु आफ्नो कर्तव्य सम्झिए ।

केही क्षणमै अभिभावकहरु खरिपाटी आइपुगे । अभिभावकको मुहारमा खुशी मात्र थिएन, हर्षको आँशु पनि थियो ।

उनीहरु एक अर्कालाई अंकमाल गर्दै ‘बधाई छ’ भनिरहेका थिए ।

भित्र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र नेपाली सेनाले बिदाई मन्तव्य दिन सुरु गरिसकेको थियो । विद्यार्थीहरु एउटै स्वरमा ‘नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद’ को नारा लगाइरहेका थिए ।

अनि नेपाली सेनालाई एकै पटक ‘सल्युट’ पनि गरेका थिए ।

बाहिरबाट त्यो दृश्य नियालिरहेका अभिभावकहरु निःशब्द थिए ।

एक अभिभावकले भने, ‘देशले माया गरेपछि नागरिकले पनि यसरी माया गरिहाल्छन् नि.. ।’

केहीबेरमा उनीहरुलाई घर पठाउने प्रकिया सुरु भयो । क्वारेन्टाइन गेटअगाडि भेला भएका अभिभावकहरु तन्कीतन्की भित्र रहेका छोराछोरीलाई हेरिरेका थिए । उनीहरुको आखाँमा आशु छचल्किरहेको थियो ।

कोही ‘सरकारलाई धन्यवाद’ भन्दै थिए त कोही ‘२/३ वर्षपछि छोराछोरी भेट्न पाएको’ भन्दै रमाइरहेका थिए। अनि गेटबाट बाहिर आएपछि छोराछोरीलाई अंकमाल गर्दै ‘अब सब ठिक हुन्छ’ भन्दै सान्तवना दिइरहेका थिए ।

अनि कक्षपतिलाई भन्दै थिए, ‘तपाईले नेतृत्व नगरिदिएको भए यो अवस्था आउथ्यो कि आउन्थ्यो… ।’

कक्षपतिको ध्यान भने भित्र लाइनमा रहेको छोरी सलिमातिर थियो । एकैछिनमा छोरी पनि बाहिर आइन् । गेटबाट छोरी निस्कदा अन्य अभिभावकले जस्तै उनले छोरीलाई अंकमाल गरे ।

त्यसपछि केहीबेर बाबुछोरी निःशब्द जस्तै भए ।

०००

साथीभाइ र अभिभावकहरुसँग खुशी साटेपछि कक्षपति छोरी लिएर घर फर्कने तरखरमा लागे । घडीले साँझको ६ बजाउँदा घाम डुब्नै लागेको थियो ।

कक्षपतिको कारमा उनकी छोरी सलिमा, चितवनकी अभिभावक विमला श्रेष्ठ र उनको छोरा चढे । क्वारेण्टाइनमा सलिमासँगै बसेकी श्रद्धा जोशी पनि त्यही कारमा बसिन् ।

आफ्नो सवारी साधन नहुनेहरुका लागि भने सरकारले रुट अनुसार ३ वटा गाडीको व्यावस्था गरेको थियो ।

हामी भने कक्षपतीको कारलाई पछ्याउन थाल्यौं ।

भक्तपुर हुँदै कार कोटेश्वरको जाममा लामो समय अड्कियो ।

समयको सदुपयोग गर्दै हामीले सलिमालाई सोध्यौं, ‘यो बेला मनमष्तिष्कमा के चलिरहेको छ ?

केही नसोचीकन उनले भनिन्, ‘ममीलाई कतिखेर भेटौं झै भएको छ, ममीलाई अकंमाल गरेर अब सबै ठीक हुन्छ भनेर भन्छु ।’

जाम खुल्यो । कार पशुपति पिंगलास्थान नजिक गएर रोकियो । विमला र उनको छोरा ओर्लिएर बिदाईको हात हल्लाए ।

कक्षपतिको कार फेरि गौशालातिर फर्कियो, बानेश्वर, जावलाखेल हुदैँ सानेपा बागडोलस्थितर घरमा पुगेर रोकियो । गाडीबाट ओर्लिएपछि सलिमा र श्रद्धा गेटभित्र प्रवेश गरिन् । ढोकामा उभिएकी आमाले खादा लगाएर स्वागत गर्नासाथ गर्ल्याम अंकमाल गरिन् ।

छोरीलाई स्वागत गर्दै आमाले भनिन् ‘आज आउने भन्ने थाहा नै थिएन, केही तयारी गर्न पाइएन ।’

‘हामीले पनि रिपोर्ट आएको ५ मिनेटपछि आज घर जाने भन्ने थाहा पाएको..’ सलिमाले यसो भन्नासाथ बुवा कक्षपति बोले, ’मृत्युको मुखबाट बचेर आ’की छोरी… ।’

कक्षपतिको आवाज सुन्नासाथ आमा शर्मिला बोलिन्, ‘त्यसो चाहिँ नभन्नु त… ।’

फेरि केही क्षण सन्नाटा छायो ।

त्यसलाई तोड्दै सलिमाकी आमा शर्मिलाले हाँस्दै भनिन्, ‘बल्ल घरमा खुशी फर्कियो, केही नराम्रो होला कि भन्ने तनावले केही गर्न सकेको थिइन्.. ।’

बोल्दाबोल्दै उनी भावुक भइन् ।

 

छोरी आमाछेउमा पुगिन् । केही दिनदेखि रुघा लागेर स्वर भासिएकी आमाले सलिमालाई जिस्क्याइन्, ‘मेरो छेउमा नआऊ्, तिम्लाई रुघाँ सर्यो भने गाह्रो होला … ।’

फेरि सबैजना हाँस्न थाले ।

त्यही बेला कक्षपतिले छोरीलाई भने, ‘अब त तिमीहरुबाट हामीलाई होइन, हामीबाट तिमीहरुलाई खतरा हुन्छ, जोगिएर बस्नु है.. ।’

खुशीको आवाज झन ठुलो स्वरमा गुञ्जियो ।

त्यही बेला श्रद्धाको बुवा दिनेश र आमा रजनी आइपुगे । उनले दुबै जनालाई खादा लगाइदिए ।

फेरि पहिलेकै माहोलले निरन्तरता पायो । दिनेशले भगवतीलाललाई बधाई दिँदै भने, ‘हाम्रो संघर्षको प्रतिफल हाम्रो बच्चाहरु सकुशल घर आइपुगे ।’

हाँसो रोकिएकै थिएन ।

श्रेष्ठले छोरी चीनमा रहेको बेलाको एउटा क्षण सम्झिए ।

भिडियो कल गर्दा छोरी त दिउँसै सिरक ओडेर सुतेको थिई । कपाल एकदम जिंग्रिङ्ग । हामी यता सरकारसँग गुहार माग्दामाग्दै थाकिसकेका थियौं । उता छोरीहरु सरकार र अभिभावक नभएको भन्दै ज्यानको माया मारेर बसिसकेका थिए ।

बुवालाई बीचमा रोक्दै श्रद्धा बोलिन्, ‘अनि त्यहाँ २ वटा आलु पनि अर्को दिन खानुपर्छ भनेर बचाएर राख्नुपर्ने अवस्था थियो त.. ।’

छोरीको कुरा काट्दै दिनेश फेरि बोले, ‘धन्न सरकारले ढिलै भएपनि इतिहासमै लेख्न मिल्ने काम गर्‍यो । हामीलाई पो उद्दार गर भन्न सजिलो थियो, तर यत्रो मानिसलाई ल्याएर व्यवस्थापन गर्न सरकारलाई गाह्रो थियो नि ।’

उनले सरकारको प्रशंसा गरे ।

त्यहीबेला कक्षपतिले मोबाइलमा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि सार्वजानिक गरेको भिडियो देखाए ।

भिडियो ध्यानपूर्वक सुनिसकेपछि भने, ‘उहाँ हो नि देशको वास्तविक अभिभावक । उहाँले निर्णय नगरेको भए यति छिटो उद्दार नहुन पनि सक्थ्यो ।’

केही क्षण सरकारको चर्चा चल्यो । ।

कक्षपतिले प्रम ओलीसँगको एक प्रसंग सम्झिए—

हामीले आफ्नो छोराछोरीको उद्दार गर्नु भन्दै स्वास्थ्य मन्त्रालयदेखि सिंहदरबार धाउदासम्म कुनै जवाफ आएको थिएन । त्यही कारण हामीहरुले प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय गरेका थियौं । त्यो पत्र मैले नै लेखेका थिएँ । राति २ बजेसम्म घरमा बसेर पत्र लेख्दा हामी श्रीमान श्रीमती नै रोएका थियौं । रातभर निद्रा परेको थिएन्। भोलिपल्ट बिहानै प्रधानमन्त्रीलाई पत्र बुझायौं । पत्र बुझेको एक घण्टापछि प्रधानमन्त्री ओलीले सरकारका सबै निकायहरुलाई चीनमा रहेका विद्यार्थीको उद्दारमा सक्रिय भएर खटिन निर्देशन दिएका थिए ।

कक्षपति भन्छन्, ‘इतिहासले उहाँलाई सदैव सम्झिनेछ, त्यो दिन हामी धेरै खुशी भएका थियौं ।’

त्यसपछि हामीले सलिमालाई सोध्यौं, ‘क्वारेन्टाइनमा १४ दिन कसरी बित्यो ?’

उनले भनिन्, ‘तनावमुक्त, हामीले सोचेभन्दा राम्रो व्यवस्थापन । इम्प्रेसिभ ।’

‘अनि चीनमाचाहिँ कसरी दिन बिताउनु भएको थियो ?’

‘त्यताको त कुरा नै नगर्नुस्, जिन्दगीको सबैभन्दा बढी तनाव भएको त्यही बेला हो । एक महिना पनि एक जुग बिताएको जस्तो’ सलिमाले सम्झिइन्, ‘मानसिक अवस्था नै अर्कै थियो । अरु देशका साथीहरुलाई उनीहरुको देशले दिनहुँ आएर लग्दै थियो । हामी एक्लिँदै थियौं । त्यसपछि त हाम्रो धेरै चित्त दुख्यो.. ।’

‘एउटै परिस्थिति भोगेका १० जनाको १० थरी मानसिक अवस्था हुँदोरहेछ । तर संगै हुँदा त्यस्तो मानसिक अवस्था नहुने’ श्रद्धाले थपिन्, ‘यो अनुभवकै कारण हामी डाक्टर भएपछि बिरामीहरुको साइकोलोजी सिरियस्ली बुझेर उपचार गर्न सक्छौं ।’

छोरीहरुको कुरा सुनेर अभिभावकहरु मुखामुख गरे ।

हामीले सोध्यौ, ‘अहिले चीनबाट क्वारेन्टाइन हुँदै घर सुरक्षित आइपुग्दा कस्तो महसुस भइरहेको छ त ?’

श्रद्धा बोलिन्, ’एकदम अविश्वसनीय, सत्य नै हो र जस्तो… ।’

जवाफभन्दा प्रष्ट खुशी उनको मुहारमा झल्किरहेको थियो ।

अभिभावकहरु पनि खुशी देखिन्थे ।

कुराकानी चल्दै गर्दा सलिमाकी आमाले दियो बालिन् ।

अक्षता मुछेर टीका लगाउदै गर्दा भनिन्, ‘छोरीहरु घर आएको खुशीले होला, टीका लगाउँदा पनि हात कामिरा’छ ।’

कोठामा फेरि हाँसो गुञ्जियो ।

त्यसपछि आमा बोलिन्, ‘अब त हामी घुम्न जानुपर्छ… ।’

उनलाई रोक्दै कक्षपति बोले, ‘तत्काल कतै जानुहुन्न, भीडभाडमा नजानु, पार्टी नगर्नु भनेर सरकारले भनेको छ ।’

००००

त्यो कोठामा धेरै दिनपछि खुशी फर्किएको थियो । सधैं टेलिभिजनको स्क्रिनमा गइरहने उनीहरुको नजर आज छोरीको मुहारमा गएर अडिएका थिए ।

कक्षपति भन्दै थिए, ‘सरकारले त गजबै गर्‍यो.. ।’

रात छिप्पिँदै गर्दा घरको माहोल तातिँदै गएको थियो । मानसिक तनावको दुई महिने अनुभव एक अर्कालाई सुनाइरहेका थिए । रातको १० बज्न लाग्दला हामीले उनीहरुसँग बिदा माग्यौं ।

छुट्टिदै गर्दा कक्षपतिले भने, ‘क्वारेन्टाइनबाट फर्किसकेकाहरुसँग कोही पनि डराउनु पर्दैन भन्ने लेख्न नबिर्सनुस् है ।’

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो पनि पढ्नुहोस विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई किन राख्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment