Comments Add Comment

चीनमा कोराना संक्रमित घट्दै, आधाभन्दा धेरैको उपचार सफल

चीनबाट फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोप अहिले अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या तीन हजारभन्दा माथि पुगिसकेको छ । अहिले यसको उपचार पत्ता लगाउन विभिन्न प्रयासहरु भइरहेका छन् ।

यो भाइरसले विश्व स्वास्थ्य क्षेत्रमा नै जोखिम उत्पन्न भएको छ । तर, चीनको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका मानिसहरुले भाइरसबिरुद्ध हात पारेको सफलताले भने केही आशा देखाएको छ ।

अहिले चीनमा संक्रमित भएकामध्ये आधाभन्दा धेरै निको भएर घर फर्किसकेका छन् । अहिले चीनमा ३५ हजारभन्दा कम मानिसमा मात्र भाइरसको संक्रमण छ । चीनमा यो भाइरसको संक्रमणबाट निको हुनेको संख्या पनि बढिरहेको छ ।

चीनले अन्य मुलुकलाई पनि आवश्यक परेको खण्डमा मेडिकल सेवा प्रदान गर्ने बताइसकेको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले चीनपछि सबैभन्दा प्रभावित इटाली र इरानलाई मेडिकल सेवा प्रदानको प्रस्ताव गरेका छन् ।

अहिलेसम्म निको भएर फर्किनेमा भाइरसको सामान्य असर देखिएका मानिसहरु मात्र छन् । अझै पनि बृद्ध तथा गम्भीर अवस्थामा पुगेका मानिसको मृत्युदर भने अझै पनि उच्च छ । अहिले पनि कोभिड–१९ को उपचार गर्नु जोखिमपूर्ण रहेको उपचारमा संलग्न डक्टरले बताएका छन् ।

चीनमा समग्र संक्रमितको औसत मृत्युदर २ दशमलव ३ प्रतिशत छ । तर, प्रारम्भिक लक्षणको अध्ययन अनुसार गम्भीर अवस्थामा पुगेका ६१ दशमलव ५ प्रतिशत मानिसको ज्यान गएको छ ।

निमोनिया लागेको बिरामिलाई गरिने सामान्य उपचार गम्भीर अवस्थामा पुगेका बिरामीलाई प्रभावकारी बन्न सकेको छैन । डाक्टरका अनुसार पर्याप्त मात्रामा इसीएमओ मेसिन आपूर्ति हुन नसक्नु र प्रभावकारी औषधि वितरण नहुनुले पनि मृत्युदर उच्च बनेको चिकित्सकहरुले बताएका छन् । यो मेसिनले मानिसको मुटु र फोक्सोले राम्रोसँग काम गर्न नसकेको अवस्थामा श्वासप्रश्वासमा सहयोग पुर्‍याउँछ ।

रोग फैलिन नदिनु

अहिले यो चीनको राष्ट्रिय स्वास्थ्य आयोगको सबैभन्दा चिन्ताको विषय हो । अधिकारीहरुलाई मृत्युदर घटाउने दबाब सधैं हुने गरेको छ । यस्तोमा बृद्ध वा यसअघि नै शरीरमा मुटुको समस्या, मधुमेह र उच्च रक्तचाप भएका मानिसमा विशेष ध्यानदिनु जरुरी हुने गरेको छ ।

अहिले चिनियाँ डक्टरहरु गम्भीर अवस्थामा पुगेका बिरामीको मृत्युदर घटाउन लागिपरेका छन् । यसका लागि कुन औषधि उनीहरुको लागि उपयुक्त हुन्छ भन्ने कुरा जान्नु जरुरी हुन्छ ।

अहिलेसम्म चीनमा फरक औषधिबाट २९३ मेडिकल उपचार भइरहेको छ । तर ‘धेरै प्रयोग, धेरै नै सफलताको अवसर’ भन्ने मान्यता विपरीत केहीले भने सही किसिमको उपचार पद्धतिबाट उपचार गर्नुपर्ने बताइरहेका छन् ।

चीनमा भाइरसको उपचारको लागि अनुसन्धानमा लागेका एक चिकित्सकले केही प्रयोगबाट मात्र प्रभावकारी उपचार गराउन सम्भव नहुने बताएका छन् । केही मात्र प्रयोगबाट प्रभावकारी उपचारको लागि पर्याप्त अवसर सिर्जना नहुने र यसबाट वास्तविक उपचार पद्धति पत्ता लगाउन पनि लामो समय लाग्ने चिकित्सकको भनाई छ ।

अहिलेसम्म यो भाइरसको कुनै औषधि पत्ता नलागेको भएपनि अहिले २९३ औषधिको प्रयोग भइसकेको छ । यस्तोमा एउटा औषधि केही प्रभावकारी पाइएको छ । अमेरिकी कम्पनीले निर्माण गरेको यो औषधि इबोला भाइरसविरुद्ध लड्नका लागि प्रयोग हुन्थ्यो । अहिले यो औषधिको परीक्षण चलिरहेको छ । र यसको नतिजा आगामी अप्रिलसम्ममा आउने विश्वास गरिएको छ ।

प्लाज्मा दान

गत फेब्रुअरी २६ मा औषधिको प्रभावकारिता र सुरक्षाको विषयमा तेस्रो चरणको अध्ययन गरिएको थियो । जसमा एक हजार संक्रमित समावेश गरिएको थियो । उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर बाहेक चीनले धेरै किसिमको औषधिको प्रयोग गरेको थियो ।

जसमा क्लोरोक्विन फोस्फेट, एन्टिमलेरिया ड्रग्स लगायत औषधि थिए । यसअघि एन्टिएचआईभी औषधि पनि दिइएको थियो । भाइरसको संक्रमण सुरु भएयता चीनले आफ्नो उपचारको योजनामा छ पटक परिवर्तन गरिसकेको छ । अहिलेसम्म कुनैपनि औषधि विश्वव्यापीरुपमा सबै बिरामीलाई हुने किसिमको देखिएको छैन ।

यो समस्या समाधानको लागि कोरोना भाइरसको संक्रमण भएर निको भएका मानिसको रगतबाट प्लाज्मा निकालेर उपचारको प्रयास गरियो । यो महिनाको सुरुमा यो पद्धतिले उपचारमा काम गरेको पाए । तर, अझै विज्ञहरुले भने यसमा आशंका व्यक्त गरिरहेका छन् ।

चीनको वुहानमा उपचारका लागि खटाइएको टोलीका प्रमुख चाङ वेनहोङ यो उपचार पद्धति अहिलेसम्म व्यवहारमा भने नआएको बताउँछन्। यसको परिणाम सीमित हुन्छ ।

यसले उपचारको लागि लाग्ने समय पनि ५ देखि १० दिनबाट ३ देखि ५ दिनमा झार्नेछ । तर, धेरैले यो पद्धतिमा आशंका व्यक्त गर्दै परीक्षणको नतिजा आउञ्जेलसम्म प्रतिक्षा गर्ने तरखर गरिरहेका छन् ।

अहिले नै उपलब्ध रहेका औषधि भन्दा पनि यो भाइरसबाट बच्न नयाँ खोपको बिस्तारमा वैज्ञानिकहरुको एक समूह लागेको छ । जनवरीको सुरुमा उनीहरुले कोरोना भाइरसका लागि प्रभावकारी हुने खोप पत्ता लगाएको बताएका थिए ।

खोप पत्ता लगाउनु

अहिले भइरहेका विभिन्न किसिमको प्रयासका बाबजुद कोरोना भाइरसको खोप सर्वसाधारणका लागि उपलब्ध हुन कम्तीमा एक वर्ष लाग्ने बताइएको छ ।

अमेरिकी कम्पनी मोडेरेनाले सबैभन्दा पहिला कोभिड–१९ को खोप पत्ता लगाएको फेब्रुअरी २४ मा बताएको थियो । एक विज्ञप्तिमा उसले यो खोपको नाम एमआरएनए–१२७३ दिएको थियो । पहिलो चरणको अध्ययनका लागि यो खोपको परीक्षण गरिएको थियो ।

यो खोपको सुरुवाती परीक्षण ४५ स्वयंसेवकमा गरिएको थियो । यसको परीक्षण १३ महिनासम्म जारी रहन सक्ने बताइएको छ । साथै यो खोपले प्रतिरक्षा क्षमता बढाउने र नबढाउने तथा सुरक्षित रहेको वा नरहेको भन्ने कुराको पनि परीक्षण हुनेछ ।

पहिलो चरणको परीक्षणमा खोपको भाइरस रोक्न क्षमताको परीक्षण हुनेछ । यो परीक्षण छिटोमा ६ देखि ८ महिनामा सकिने अमेरिकी बायोटेक कम्पनीका एक वरिष्ठ अधिकारीले गत साता बताएका थिए । उनले सबैभन्दा छिटो काम भएको खण्डमा पनि यो भाइरसको उपचार पत्ता लाग्न साढे एक वर्ष लाग्ने बताएका थिए ।

यति लामो प्रक्रियाको कारण यसको प्रक्रिया बीचमै रोकिनुपर्ने हुन सक्ने केहीले बताएका छन् । यसअघि चीनबाटै निस्किएको सार्स भाइरसको खोप पनि निर्माण हुनुभन्दा पहिला नै रोकिएको थियो । किनकी खोप बन्दै गर्दा यसको प्रकोप पनि सकिइसकेको थियो । तर, पनि खोप निर्माणको काम पनि निरन्तरता दिँदै जानुपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment