Comments Add Comment

थर्मल गनले पत्ता लगाउँछ कोरोनाको संक्रमण ?

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास विश्वभर फैलिएको छ । यो भाइरसबाट अमेरिकामा पनि ९ जनाको ज्यान गइसकेको छ । यसको आशंका अझै बढिरहेको छ । यस्तोमा विश्वका धेरै मुलुकले यो भाइरसबाट बच्न विभिन्न उपाय अपनाएका छन् । विमानस्थलमा मानिसको शरीरको तापक्रम नाप्नु अहिले सामान्य बनिसकेको छ । त्यतिमात्रै होइन अहिले मानिसले चहलपहल हुने भवनमा पनि तापक्रम नापजाँच गर्ने क्रम जारी छ । तर, के थर्मल गनले मानिसको तापक्रम नापेकै आधारमा पत्ता लगाउन सकिन्छ त कोरोनाको संक्रमण ?

मेडिकल तथा सार्वजनिक स्वास्थ्य विज्ञहरु यो प्रक्रियाबाट संक्रमित मानिस पत्ता लगाउन नसकिने बताउँछन् । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२०० कटिसकेको छ भने यसबाट संक्रमितको संख्या पनि ९३ हजार पार भइसकेको छ ।

‘थर्मल गन’ विश्वसनीय हुन्छ ?

पछिल्लो समय मानिसको शरीरको तापक्रम पत्ता लगाउन नछोइकन तापक्रम नाप्ने ‘थर्मल गन’ को प्रयोग बढ्दो मात्रामा छ । साथै यी डिभाइसहरु लोकप्रिय पनि बन्दै गएका छन् । भाइरस बढेसँगै यसको प्रयोग पनि बढ्दो क्रममा देखिएको हो । यसले छिटै नै कसैको शरीरको तापक्रम बढे/नबढेको पत्ता लगाउन सकिन्छ । तर, भाइरस शरीरमा फैलिएको मापन गर्नको लागि भने यो विधि त्यति प्रभावकारी नहुने विज्ञहरुको बुझाई छ ।

‘सामान्यतया रिमोट इन्फ्रारेड थर्मोमिटरको प्रयोगबाट तापक्रम मापन गर्नु कम विश्वसनीय हुन्छ,’ नेब्रस्का यूनिभर्सिटीका मेडिसिनका प्रोफेसर जेम्स लयर भन्छन् ‘मानिसको छालामा छुवाएर नापिने तापक्रममा मानिसको पसिना र तापक्रम घट्नेजस्ता विषय हुन्छन्, यसले तापक्रम मापनमा असर पारिरहेको हुन्छ ।’

उनका अनुसार कान र मुखमा राख्ने विद्युतीय थर्मोमिटरले विश्वसनीय नतिजा दिन सक्छन् । तर, यसले मापनको लागि केही समय लगाउँछ । त्यसो त छुवाएर गरिने तापक्रम मापनको सोचले पनि संक्रमणलाई रोक्न नसक्ने अस्ट्रेलियाको न्यु साउथ वेल्सको ग्लोबल बायोसेक्युरिटीकी प्राध्यापक राइना म्याकिन्टायर बताउँछिन् । उनका अनुसार बिरामीको नजिक जाँदा सुरक्षित उपायको प्रयोग गरिए पनि रोग सर्ने जोखिम कायम हुन्छ ।

कसरी गर्ने प्रभावकारी तापक्रम मापन ?

विज्ञहरुका अनुसार थर्मल गन र थर्मल स्क्रिनिङ क्यामेराले मानिसको शरीरबाट आउने तापक्रम मात्र मापन गर्छ । यसले सबै कोभिड–१९ का बिरामीलाई पहिचान गर्न सक्दैन । किनकी केही संक्रमितमा रोगको कुनै लक्षण नै देखापरेको हुँदैन । म्याकिन्टायरका अनुसार शरीरमा रोगको संक्रमण हुने तर लक्षण नदेखिने मानिसबाट यो रोग अरुमा सर्ने सम्भावना धेरै हुन्छ । डाक्टरहरुले कुनै लक्षण नदेखिएका बिरामीको विषयमा चेतावनी दिइसकेको छन् ।

गत महिना ‘द न्यु इंगल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानको नतिजामा जर्मनीको फ्रान्कफर्टमा चीनको हुवाई प्रान्तबाट आएका १२६ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको थियो । उनीहरुमा विमानस्थनमा ओर्लिएपछि मात्र कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

जबकी उनीहरुले विमान चढ्नुअघि नै लक्षणको आधारमा पत्ता लाग्ने स्क्रिनिङ पार गरेर आएका थिए । जर्मन शोधकर्ताहरुले यो संक्रमण कुनै ज्वरो र अन्य कोभिड – १९ को कुनै लक्षण नदेखिएका मानिसहरुमा पनि हुनसक्ने बताएका छन् । सो अवस्थामा मानिसमा अलिकति पनि यो भाइरसको लक्षण देखिँदैन । तर, यो संक्रमण उसको शरीरमा हुन्छ । साथै मानिस शरीरमा भाइरसको संक्रमण हुने र यसको पहिलो लक्षण देखिने समयमा संक्रमणकालीन अवस्थामा हुन्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कोभिड–१९ को लक्षण मानिसमा देखिने संक्रमण भएको २ दिनदेखि १४ दिनसम्म लाग्न सक्ने बताएको छ । चिनियाँ श्वासप्रश्वास विज्ञ चोङ नान्सानले गत महिना संक्रमणकालीन अवस्था २४ दिनसम्मको हुनसक्ने बताएका थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो भाइरसको नियमनको लागि १४ दिनको समय दिएको छ । यो भाइरसका अन्य बिरामीको आधारमा यो निष्कर्षमा डब्ल्यूएचओ पुगेको हो ।

अस्ट्रेलियाको नेशनल यूनिभर्सिटी मेडिकल स्कुलका रोग संक्रमण विशेषज्ञ सञ्जय सेनानायकेका अनुसार कोभिड–१९ रोग लागेपछि पनि स्क्रिनिङको समयमा ज्वरो नदेखिनुको कारण प्राकृतिक रुपमा शरीरको तापक्रममा आउने घटबढ र यसलाई नियन्त्रणको लागि प्रयोग गरिने औषधि हो ।

गत महिना बेलायती शोधकर्ताले विमानस्थलमा हुने परीक्षणले कोभिड–१९ पत्ता लगाउन नसक्ने बताएका थिए । करिब आधाजस्तो मामिलामा यस्तो परीक्षणले रोग पत्ता लगाउन नसक्ने उनीहरुले दाबी थियो । यो अध्ययन यूरो सर्भेलाइन्समा प्रकाशित भएको थियो ।  विमानस्थलमा गरिने स्क्रिनिङले त्यतिबेला मात्र काम गर्छ, जतिबेला संक्रमणकालीन अवस्थामा रहेका मानिसबाट यो रोग अरुमा सर्दैन । स्क्रिनिङको संवेदनशीलता सही रहेको र संक्रमणकालीन अवस्था निकै छोटो हुने प्रतिवेदनमा दाबी गरिएको छ ।

सुरक्षा महसुस

मिन्नेसोटा यूनिभर्सिटीका माइकल ओस्टरहोल्म तापक्रम मापनले मानिसमा सुरक्षाको महसुस हुने बताउँछन् । तर, यो प्रभावकारी हुने वा नहुने भन्ने फरक पक्ष रहेको उनको भनाई छ । उनका अनुसार अहिले सबैतिर यो भाइरस रोक्नका लागि धेरै किसिमको कदम चालिएको छ । तर, भाइरस अमेरिकासम्म पुगिसकेको छ । सीमामा नियन्त्रण, भ्रमणमा प्रतिबन्ध, तापक्रम मापन लगायत कामले पनि भाइरसलाई रोक्न भने सकेको छैन ।

उनले तापक्रम मापनबाट कति मानिस पहिचान भए भन्ने कुराको अध्ययनबाट पनि यो कुरा थाहा पाउन सकिने बताए । यद्यपि अन्य मुलुकले भने भ्रमणको लागि जाने आउने ठाउँमा नै संक्रमितको पहिचान गरेका छन् ।

थर्मल सर्भेलाइन्सबाट ६१ वर्षीया चिनियाँ महिला कोभिड–१९ रहेको पहिचान गरिएको थियो । उनले अन्य घटनालाई पनि यससँग तुलना गर्दा वास्तविकता पत्ता लाग्ने बताए । उनका अनुसार विमानस्थलहरुमा भाइरस रोक्न गरिने स्प्रेबाट पनि यो रोग सर्दैन भन्ने कुनै यकिन भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment