Comments Add Comment
मेरो कथा :

देशका लागि गोल गर्न बाँकी नै छ

लिखितमा फेल हुँदा इन्डियन लाहुरे बन्न सकिनँ

२२ फागुन, काठमाडौं । फुटबल नै हो मेरो कथा । तर सुनाउन लायक कथा अझै बनिसकेको छैन । भर्खर दुई सिजन लिग खेलेँ । राष्ट्रिय टिमबाट एक खेल खेलेँ । फेरि राष्ट्रिय टिमको क्याम्पमा परेको छु । अझ मिहिनेत गर्नुछ ।

तर भर्खरै सकिएको शहीद स्मारक ए डिभिजन लिगले मलाई चर्चा दिलायो । सर्वाधिक गोलकर्ता बनेँ, सबैले थाहा पाए । रंगशालामा नजिकै हुर्किएँ, पढेँ । स्कुल सकिनेबितिकै ठूला खेलाडीहरुसँग संगत भयो । विभिन्न क्लबहरु चहारेँ । सीदेखि ए डिभिजन लिग खेलेँ, त्यो पनि फरक-फरक क्लबबाट । अहिले सशस्त्र प्रहरी एपीएफमा जागिर खाँदै फुटबल खेलिरहेको छु । कुनै दिन लाहुरे बन्न भारत पनि गएको थिएँ, तर लिखितमा नाम ननिस्किएपछि त्यो रहर पूरा भएन ।

एपीएफसम्म कसरी पुगेँ भन्ने रमाइलो कहानी त छँदैछ, तर शुरुमा यही ए डिभिजन लिगको बारेमा सुनाउँछु ।

****

ए डिभिजन लिगमा सबैभन्दा धेरै गोल गर्नु मेरो लागि ठूलो उपलब्धी हो । लिग अगाडि मलाई निकै कमले मात्र चिन्थे, अहिले सबैले सर्वाधिक गोल गर्ने खेलाडी भनेर चिन्छन् । आफूलाई सर्वाधिक गोलकर्ता भनेर चिनाउन पाउँदा म पनि खुशी छु ।

स्ट्राइकर भएपछि धेरै गोल गरौं भन्ने सबैको सपना हुन्छ । मेरो पनि थियो । किनकी स्ट्राइकरको काम नै गोल गर्ने हो । तर हाम्रो टिम हरेक खेलमा रेलिगेसनबाट बच्न संघर्ष गरिराखेकाले मलाई पनि धेरै गोल गर्नेभन्दा पनि गोल गरेर टिमलाई जिताउन सकुँ भन्ने थियो । शुरुमा त राम्रो नै खेले पनि गोल हुन सकेन । तर जब गोल भयो । त्यसपछि निरन्तर हुन थाल्यो । मैले लिगमा ९ गोल गरेँ । तीन खेलमा २-२ र तीन खेलमा १-१ गोल गरेँ ।

अहिले ९ गोलको चर्चा छ तर लिग भइरहँदा मलाई र हाम्रो टिमलाई धेरै पीडा थियो । म गोल गर्ने तर टिम जहिल्यै रेलिगेसन छेउतिर हुने । नमज्जा लाग्थ्यो । हरेक दिन भोलि के होला भन्ने चिन्ताले सताउँथ्यो जति नै गोल गरेपनि हार व्यहोर्दा साह्रै पीडा हुन्थ्यो । राति सुत्दा पनि त्यही याद आउने । ट्रेनिङमा मन नलाग्ने ।

एनआरटी विरुद्धको खेलकै कुरा गरौं न । उनीहरुले एक गोल गरे, हामीले दुई गोल गरेर अग्रता बनायौं । तर त्यो खेलमा पनि हामी ३-२ ले हार्न पुग्यौं । यो रिजल्टले म त आश्चर्यमै परेेको थिएँ । फुटबल खेल्दा त्यति धेरै तनाव कहिल्यै भएको थिएन । अवस्था कस्तोसम्म बन्यो भने हामी बराबरी खेल्दा पनि खुशी हुन्थ्यौं ।

गत वर्ष हाम्रो टिम पनि राम्रो थियो रिजल्ट पनि राम्रो भयो । एपीएफ लिगमा पाँचौ भएको थियो । मैले ३ गोल गरेको थिएँ । यसपटक पनि टप सिक्समा पर्छौं भन्ने थियो तर यसैपालि पुराना खेलाडीहरु क्लब छाडेर गए, टिम ब्यालेन्स हुन पाएन । एक्सलेन्ट खेलाडीको कमीले गर्दा पनि खेल कमजोर भएजस्तो लाग्यो । राम्रोसँग गाइड गर्ने मान्छे पनि भएन । टिमका लागि गोल गर्ने दायित्व मेरो पनि थियो । गोल हानेँ पनि, तर खै के भयो-भयो, सोचे जस्तो रिजल्ट आएन । यो त भयो लिगमा एपीएफको कुरा । अब व्यक्तिगत कुरा सुनाउँछु ।

लिग सकियो, मैले ९ गोल गरेँ । सर्वाधिक गोलकर्ता पनि भएँ । एपीएफ रेलिगेसनमा पनि परेन । खुशीको कुरा भयो । तर सबैको चासो रहने बेस्ट फरवार्डको अवार्ड मैले पाइनँ । यसले मलाई झन् धेरै चर्चा दिलायो । मलाई पनि यो अवार्ड मैले नै पाउँछु कि भन्ने थोरै आशा थियो । तर नपाउँदा पनि मैले सकारात्मक रुपमा लिएको छु ।

आशिषले किन पाएन भनेर मानिसहरुले प्रश्न गरिरहेका छन् । सायद त्यो अवार्ड पाएको भए धेरै गोल हानेकाले पायो भन्थे होला, तर नपाएपछि किन पाएन भनेर पनि झन् धेरै खोजी गरेका छन् । यो सपोर्टले ममा अझै मिहिनेत गर्नुपर्छ भन्ने जोश जागेको छ ।

यो लिग मेरालागि ठूलो अवसर पनि बन्यो । मैले मेहनत गर्दैछु भनेर प्रमाणित गर्न पाएँ, त्यसैले होला राष्ट्रिय टिमका लागि क्याम्पमा बोलाइएको छ । अब राष्ट्रिय टिममा पर्न एकदमै मिहिनेत गर्नेछु ।

****

यो त भयो लिग र यसमा मेरो व्यक्तिगत प्रदर्शनको कुरा । अब गत वर्ष राष्ट्रिय टि्रममा डेब्यु गर्दाको अनुभव सुनाउँछु ।

आजकल खेलाडीले चाँडै डेब्यु गर्छन् । मैले २३ वर्षमा गरेँ । मेरो समयअनुसार टिममा डेब्यु ठीकै हो जस्तो लाग्छ । म एकेडेमीबाट नभएर साधारण ट्रेनिङ गरेर खेलेर आएको हुँ । त्यसैले पनि ठीकै जस्तो लाग्छ ।

गत वर्ष योहान कालिन नै प्रशिक्षक हुँदा मैले कुवेतविरुद्ध मैत्रीपूर्ण खेलबाट डेब्यु गर्ने अवसर पाएँ । राष्ट्रिय टिमका केही खेलाडीहरु त्यही बेला यू-२३ टिममा गएकाले पनि हामी नयाँ खेलाडीहरु राष्ट्रिय टिममा परेका थियौं । कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न गयौं । पहिलो खेलमा मैले अवसर पाइनँ, जुन खेल बराबरीमा सकिएको थियो । दोस्रो खेलमा मैले डेब्यु गरेँ । म र विमल राना दाइ पहिलो रोजाइमा खेलेका थियौं । त्यो खेलमा ६१ मिनेटसम्म खेलेँ मैले ।

राष्ट्रिय टिमको डेब्यू मेरो अहिलेसम्मकै बेस्ट मोमेन्ट हो । कोचले अघिल्लो रात नै भन्नु भएको थियो भोलि यो यो खेल्छ भनेर । म पनि टिममा परेको थाहा पाएपछि वाउ ÛÛ फिलिङ आएको थियो । आफ्नो देशका लागि खेल्दैछु भन्दा गर्व महसुस भएको थियो । एकदमै उत्साहित थिएँ, जुन म शब्दमा बयान गर्न सक्दिनँ । सबैको सपना हुन्छ देशका लागि खेल्ने, मेरो पनि थियो । र, त्यो सपना पूरा हुँदा एकदम खुसी थिएँ ।

खेलअघि मैदानमा राष्ट्रिय गान बज्दा अर्कै जोस आयो । अबचाहिँ समय आयो है देखाउने… भन्ने लाग्यो ।

हुन त त्यो खेल पनि हामीले जित्न सकेनौं । रिजल्ट अपेक्षाकृत नभए पनि त्यो खेल मेरालागि भने अविश्मरणीय रह्यो । मलाई यो पनि थाहा छ कि राष्ट्रिय टिममा पर्नु जति ठूलो कुरा हो, त्यो पनि ठूलो त्यहीँ रहिरहन सक्नु हो । र त्यो त्यति सजिलो छैन । म पनि टिममा परेँ तर टिकिरहन सकिनँ । त्योबला मिहिनेत कम भयो कि जस्तो लाग्छ ।

देशका लागि खेल्ने मेरो सपना हो । एकपटक त खेलेँ, तर अझै बाँकी छ खेल्न । त्यसका लागि अझै मिहिनेत गर्नुपर्छ । राष्ट्रिय टिममा पर्नसक्ने खेलाडीहरुको सूची लामो छ । उनीहरु सबैलाई उछिनेर टिममा स्थान बनाउन सामान्य मिहिनेतले हुँदैन । मैले आफूलाई प्रमाणित गर्न अझ मिहिनेत गर्नु छ र गर्छु पनि । र, आफ्नो बेस्ट दिन चाहन्छु ।

****

यो त भयो अहिले देखिएको कुरा । मेरो फुटबल करियरको सुरुवातका केही कथा सुनाउँछु ।

मेरो बुबा नेपाल प्रहरीमा जागिरे । त्रिपुरेश्वर नजिकै ड्युटी थियो । त्यसैले रंगशालामा नजिकै विराज महर्जनको घरमा हामी डेरा गरेर बस्थ्यौं । नजिकैको विश्व निकेतन स्कुलमा पढ्थेँ ।

३-४ कक्षामा पढ्दा नै फुटबल खेल्न मन पराउँथे । पुरानो फुटबल वा बास्केटबल जम्मा गर्‍यो, खेल्यो । स्कुल छुट्टी भएपछि पनि स्कुल नजिकै गएर खेल्थेँ । कहिले स्कुलको जुत्ता च्यात्ने, कहिले पाइन्ट च्यात्ने, रमाइलो हुन्थ्यो । त्यसपछि सरहरुले ‘जुत्ता लगाएर खेल्ने होइन नि’ भन्नुभयो । हामी खाली खुट्टै खेल्न थाल्यौं । तै पनि रमाइलो लाग्थ्यो । अहिले सम्भिmँदा पनि जीवनकै उत्कृष्ट क्षण जस्तो लाग्छ त्यो ।

बुवा-छोराले सकेसम्म सरकारी जागिर खाओस् भन्ने चाहनुहुन्थ्यो । अहिले वर्तमानलाई मात्र सोचेर हुँदैन, भविश्यबारे पनि सोच्नुपर्छ भन्नुहुन्थ्यो । मेरो ध्यान भने फुटबलतिर थियो । स्कुलका गेमहरुमा पनि म फुटबल नै रोज्थेँ । अनि हामी ६-७ मा पढ्दा ९-१० को टिमलाई पनि हराइदिन्थ्यौं ।

विस्तारै विराज दाइसँग पनि चिनजान भयो । उहाँलाई मैले पनि फुटबल खेल्न रुचाएको छ भन्ने थाहा भयो । हामी पनि विराज दाइ जस्तै हुनुपर्छ भन्थ्यौं । रंगशालामा खेल हुँदा हेर्न जान्थ्यौं ।

नजिकै न्यूरोड टिम एनआरटी थियो । त्यहाँ जितेन्द्र कार्की दाइ हुनुहुन्थ्यो । मैले उहाँसँग पनि संगत गर्न पाएँ । शुरुमा रमाइलोका लागि फुटबल खेल्थेँ, उहाँसँग संगत गरेसँगै फुटबल नै खेल्छु भन्ने भयो । एलएलसी दिएपछि म एनआरटीसँगै जोडिएँ । त्यतिखेर टिममा सागर थापा, अनिल गुरुङ जस्ता चर्चित खेलाडीहरु आउनुभएको थियो । प्रशिक्षकमा राजुकाजी शाक्य सर हुनुहुन्थ्यो । उहाँले ‘यो केटा भोलि राम्रो फुटबलर हुनसक्छ’ भनेर अवसर दिनुभयो । शुरुमा ४ वर्षको सम्झौता थियो । महिनाको ८ हजार रुपैयाँ पाउने भएँ । २०६८ सालतिरको कुरा हो यो ।

तर पढाइका कारण एनआरटीमा २ महिनामात्र बसेँ । किनकी क्लबको ट्रेनिङ र कलेज दुवै विहान थियो । घरमा पनि अहिले किन खेल्नुपर्‍यो, पहिला पढ्नुपर्छ भन्नुभयो । १२ सकाएपछि खेलतिर लाग भनेपछि मैले क्लबको ट्रेनिङ छाडेँ । क्लबसँगको सम्झौता दुई महिनामै तोडियो ।

१२ को पढाइ सकेपछि मैले सी डिभिजन लिग खेल्न थालेँ । एनआरटीमा रहँदा चिनजान भएका सिनियर दाइहरुले अनुभव चाहिन्छ, बी, सी डिभिजनतिर गएर खेल भनेर सुझाव दिनुभयो । त्यसैले मैले कलंकीको नवज्योती क्लबबाट सी डिभिजन लिग खेलेँ । त्यसपछि टुसाल र बौद्धबाट बी डिभिजन खेलेँ । दुवै क्लब ए डिभिजनमा उक्लन सकेनन् । मैले अभुवन बटुल्ने अवसर पाएँ ।

परिवारबाट भने प्रेसर आउन थाल्यो । कहिले कता खेल्न गएको छ, कहिले कता । बरु नखेल भन्नुहुन्थ्यो । फलानोको छोरा फुटबल खेल्छ भन्ने हुन्थ्यो, तर पैसा हुन्थेन । त्यसले बरु नखेल भन्नुभएको होला जस्तो लाग्छ । तर मेरो भने क्लब डुल्ने क्रम चलिरह्यो ।

त्यही क्रममा म ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी पुगेँ । ट्रेनिङ पास गरेर म त्यहाँ पुगेको थिएँ । सबैको जस्तै त्यो बेलामा मेरो पनि मनाङबाट खेल्ने डि्रम थियो । तर त्यहाँ मैले खेल्ने अवसर कम पाएँ किनकी टिममा स्टार खेलाडीहरु धेरै थिए । मैले धेरैजसो ७० मिनेटपछि मात्र खेल्न पाउँथे । बेन्चमा बस्दा मलाई कहिले मैदान छिर्न पाइएला भन्ने लाग्थ्यो म पनि देखाउँछु भन्ने लाग्थ्यो । कम अवसर पाए पनि २०१७ सालको राष्ट्रिय लिगमा मनाङबाट ३ गोल गरेँ । ठूलो क्लबाट गोल गर्दा एकदमै खुशी लागेको थियो ।

मनाङबाट मोफसलका केही खेल खेलेँ । अहिले पनि दाइहरुसँग कुरा हुँदा भन्नुहुन्छ, त्यो तिम्रो लाइफको ‘ब्याड एक्सपिरियन्स’ थियो । तर त्यसले अहिले राम्रो भइराछ । मनाङ गएर गलत गरेँ कि सही भन्ने प्रश्न आउँछ । तर म के भन्छु भने मनाङ गएर पनि राम्रै भयो, धेर-थोर कुरा सिकेँ ।

मनाङ जानुको पनि कहानी छ । फुटबल खेल्दै गर्दा मनाङका सुमन दाइसँग चिनजान थियो । उहाँले ट्रायलमा जाऔं भन्नुभयो । म ट्रेनिङ गर्न सानो गौचरणमा गएँ । त्यहाँ पनि राजुकाजी शाक्य सर हुनुहुन्थ्यो । उहाँले ठीक छ, भोलिका लागि ब्याकअप हुनसक्छ भन्नुभयो । ट्रेनिङमा पास भएँ, टिममा पुगेँ । मनाङमा डेढ वर्ष बसेँ । टिमले धेरै ट्रफीहरु उठायो । तर आफूले खेलेर ट्रफी उठाउन पाएको भए कति आनन्द हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसपछि मनाङबाट स्टार हुनुभन्दा बाहिर क्लबबाट मिहिनेत गरेर स्टार बन्दा राम्रो होला जस्तो लाग्यो र मनाङ मर्स्याङ्दी क्लब छाडेँ ।

****

मनाङ छाडेपछि कता जाने ? लिग पनि थिएन त्यति बेला । अनि मोफसलमा विभिन्न क्लबबाट गोल्डकप खेलेँ । म्याच फि लिने, फुटबल खेल्ने । म्याच फि लिएर मदन भण्डारी क्लब, ब्वाइज युनियन क्लब लगायतबाट खेलेँ ।

त्यसपछि म हिमालयन शेर्पा क्लबमा पुगेँ यो सशस्त्र प्रहरीको एपीएफ जानु अगाडिको कुरा हो । मोफसल खेल्न ६ महिनेे सम्झौता गरेँ । हिमालयन शेर्पाको टिम एभरेज थियो, त्यसैले कतै उपाधि जित्न पाइएन ।

त्यसपछि म एपीएफ पुगेँ । त्यसबेला विराज महर्जनको दाइ रत्न काका एपीएफको कोच हुनुहुन्थ्यो । उहाँले नै हाम्रोमा भर्ना खुलेको छ, आऊ भन्नुभयो । सरकारी जागिर खाओस् भन्ने परिवारको चाहना थियो । फुटबल पनि खेल्न पाइने, जागिर पनि हुने भएपछि २०७४ सालमा एपीएफ गएँ । सुरुमा ७ महिना करारमा बसेँ । अनि जागिरको करियर शुरु भयो । त्यो बेला एपीएफ टिममा राष्ट्रिय खेलाडीहरु पनि थिए । शुरुमा प्लेइङ ११ मा स्थान बनाउन गाह्रो थियो । त्यसैले मैले अवसर पनि कमै पाएँ । कुनै खेलाडी घाइते भयो वा रातो कार्ड पायो भने मैले अवसर पाउँथेँ । तर अहिले अवस्था फेरिएको छ, म नियमित सदस्य भएको छु । टिमले ममाथि भरोसा गर्न थालेको छ ।

पहिला बुवा सरकारी जागिर खानुपर्छ, फुटबलले मात्र हुँदैन भन्नुहुन्थ्यो । अहिले म एपीएफमा जागिरे पनि भएको छु, फुटबल पनि खेलिरहेको छु । सबै जना खुशी छौं । बुवा पनि खुशी हुनुहुन्छ, हरेक म्याचमा फोन गर्नुहुन्छ, सोध्नुहुन्छ । म्याच बिगि्रँदा पहिला जितिराथ्यो अहिले के भइराछ भनेर सोध्नुहुन्छ ।

म राष्ट्रिय टिममा ‘मेरो छोरा पनि पर्‍यो’ भनेर बुवा एकदम खुशी हुनुभाथ्यो ।

****

मनाङ छाडेपछि अरु क्लबमा जानुअघि नै म लाहुरे बन्ने रहरसहित भारत पनि गएको थिएँ ।  तर पास हुन सकिएन । मेरो स्कुलको क्लासमेट सकल रेग्मी र म लाहुरे बन्ने भनेर सँगै गएका थियौं ।

एक जना दाइ इण्डियन आर्मीमा हुनुहुन्थ्यो । उहाँले ‘यता भिड्न आऊ । गेम पनि हुन्छ, जागिर पनि हुन्छ’ भनेपछि हामी भारतको सिलोङ गयौं । तीन महिना बस्यौं, दुःख गर्‍यौं । सबैमा पास भएका पनि थियौं, तर लिखितमा फेल भयौं । लाहुरे हुन नपाउँदा खल्लो लाग्यो । तर त्यसबेला पास भएको भए अहिले यता हुन्नथे होला । त्यसैले अहिले आएर हेर्दा जे हुन्छ, राम्रैको लागि हुन्छ भए जस्तो लाग्छ ।

फुटबल मेरालागि ‘गुड ह्याप्पीनेस’ हो । फुटबलर बन्ने सपना थियो, त्यसैलाई पछ्याउँदै जाँदा यहाँसम्म आइपुगेँ । अझै धेरै सिँढीहरु चढ्नुछ । चुनौतीहरु पनि छन् । त्यसलाई पार गर्दै कहाँसम्म पुग्नसक्छु भन्ने थाहा छैन, तर अझै माथि पुग्नु छ, अधुरा सपनाहरु पूरा गर्नु छ ।

त्यसमध्ये एउटा सपना हो, आफ्नो देशका लागि गोल गर्नु । आफ्नो देशबाट खेलेर गोल गर्दाको मज्जा छुट्टै हुन्छ, जुन मैले अनुभव गर्न बाँकी छ । गोल गरेर सेलिब्रेट गर्न बाँकी छ, उपाधि जित्न बाँकी छ ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७३ औं अंकमा यो हप्ता फुटबल खेलाडी आशिष लामाको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment