Comments Add Comment

सुदूरपश्चिमबाट नेपाली स्रष्टालाई एक बनायाैं : रामलाल जोशी

२२ फागुन, कैलाली । नेपाली साहित्यमा सुदूरपश्चिमको स्वर पछाडि परेको गुनासो सुनिन्छ । प्रायः साहित्यिक महोत्सवहरू राजधानी काठमाडौं र पूर्वी नेपालमा गरिने परम्परा छ । तर, यो परम्परालाई तोड्दै धनगढीमा गत साता ‘विश्व नेपाली साहित्य महोत्सव’ सम्पन्न भयो ।

नेपाल र नेपाल बाहिर बस्ने नेपाली साहित्यकारहरूको ठूलो जमघट रहेको सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं धनगढी पुगेकी थिइन् । यही सम्मेलन र सुदुरपश्चिमको साहित्यिक माहोलबारे ‘सुदूरपश्चिमाञ्चल साहित्य समाजका’ अध्यक्ष एवं मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीसँग अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ :-

धनगढीमा सम्पन्न साहित्यिक महोत्सव कस्तो रह्यो ?

फागुन १४–२० गतेसम्म आयोजना गरिएको सात दिने ‘विश्व नेपाली साहित्य महोत्सव’ समग्रमा राम्रो रह्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको दिनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेको दिनसम्म कुनै दिन पनि दर्शकहरूको उत्साह र उपस्तिथि कम भएन ।

व्यवस्थापनको कमी भएन । विभिन्न विषयमा ५२ वटा सत्रमाथि देश–विदेशका विद्वान् लेखक, कविहरूले बहस गर्नुभयो । आउने अतिथि र सहभागी दर्शकको खुसी, प्रफुल्लता र प्रतिक्रिया देख्दा, सुन्दा महोत्सव अभूतपूर्व रूपमा सफल भएको छ ।

कार्यक्रमको नाम ‘विश्व नेपाली साहित्य महोत्सव’ नै किन राख्नुभएको ?

मूलतः विश्वका विभिन्न मुलुकमा बसेर नेपाली भाषा–साहित्यको श्रीवृद्धिका लागि काम गर्ने नेपाली भाषीहरूलाई आमन्त्रण गरी आयोजना गरिएको सम्मेलन हो यो । विश्वव्यापी रूपमा आज नेपाली भाषा साहित्यको अवस्था के–कस्तो रहेको छ भन्ने यो सम्मेलनको मूल चासो थियो । त्यो विषयमा बहस भए ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी

विश्वव्यापी रूपमा छरिएका नेपाली भाषाका स्रष्टालाई एउटै मञ्चमा उभ्याउने र नेपाली भाषा साहित्यको विश्वव्यापी उपस्थित र समुन्नतिको बारेमा बहस गर्ने कार्यको थालनी हो यो । विश्वका धेरै देश र स्थानबाट नेपाली भाषीहरूको सहभागिता रह्यो । त्यसकारण यो सम्मेलनले विश्वभरिका नेपालीभाषीहरूमा हलचल र जागरूकता ल्याएको छ । यो महोत्सवको नामकरणलाई सबैले आवश्यक र स्वभाविकरूपमा लिएका छन् ।

के यो कार्यक्रमले सुदूरपश्चिमको साहित्य र संस्कृतिलाई नयाँ आयाम दिन सक्ला ?

अवश्य दिएको छ र दिनेछ । सुदूरपश्चिममा मात्र होइन, नेपाली साहित्यको इतिहासमै यसले एउटा अर्थ कायम गरेको छ । संसारका ठूला भाषा सरह विश्वमा नेपाली भाषालाई कसरी स्थापित गर्न सकिन्छ र यसको नेपालबाहिर केकस्तो अवस्था छ भन्ने बारे एउटा एउटा दृष्टिको उठान भएको छ । सुदूरपश्चिमका स्रष्टाहरू र समग्र सुदूरपश्चिमप्रति राष्ट्रभित्र र बाहिरका स्रष्टाहरूको ध्यान आकर्षित भएको छ ।

सुदूरपश्चिमको साहित्य र स्रष्टाहरूका लागि पनि यो महोत्सव सदा स्मरणीय र कोसेढुङ्गा सावित भएको हाम्रो विश्वास छ ।

काठमाडौंमा सधैं पुरस्कार पाइरहने माधव घिमिरे र सत्यमोहन जोशीलगायत स्रष्टालाई नै किन फेरि पुरस्कृत गरिएको ?

नेपाली भाषा–साहित्य र नेपालीपनलाई विश्वमा स्थापित गराउने विशिष्ट लेखक, कवि, संस्कृतिविद् र साधकहरूलाई सम्मान गर्नु नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि लाग्नेहरू सबैको दायित्व हो ।

सय वर्ष नाघेका र दुर्लभ जीवन बाँचेका नेपाली भाषाका महामुनिहरूलाई सम्मान र श्रद्धाको फूल चढाउन पाउँदा हामी गौरवान्वित भएका छौँ । जसले यो सम्मेलनको गरिमा पनि बढेको छ । उहाँहरूको उपस्थितले महोत्सवको ऐतिहासिक महत्त्व कायम भएको छ ।

यसपटक मात्र हो कि यो सम्मेलन फेरि–फेरि पनि हुन्छ ?

एउटा महत्त्वपूर्ण कार्यको सुरूवात भएको छ । हामी यसलाई निरन्तर रूपमा प्रत्येक वर्ष सञ्चालन गर्न चाहन्छौं । यो महोत्सवलाई सुदूरपश्चिम र धनगढीको चिनारी बनाउन चाहन्छौं । साथै देशले नै गर्व गर्न सक्ने साहित्यिक कार्यक्रम बनाउन पनि चाहन्छौँ ।

त्यसैको अर्को श्रृङ्खलाका रुपमा अर्को वर्ष ‘विश्व नेपाली नारी साहित्य महोत्सव’ को घोषणा गरिसकेका छौँ । हाम्रा प्रयासले भ्याउने सबैखाले साहित्यिक कार्यक्रम गर्दै जानेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment