Comments Add Comment

नुवाकोटको फिकुरी नयाँ पदयात्रा गन्तव्य

२४ फागुन, नुवाकोट । काठमाडौं उपत्यकाबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालका साथै तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ ।

हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेलासमेत लागेको लाग्ने गरेको छ । त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन् ।

रसुवा-नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन भ्रमणबाट भर्खरै काठमाडौ फर्केका पदयात्रीहरुले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने बताएका छन् । ३८०० मिटर उचाइको फिकुरी डाँडाबाट केही नजिकमा रहेको ढ्वाछाप भेडीखर्कमा पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।

‘यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो’, यात्राबाट फर्किएपछि लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवालले भने, ‘नुवाकोटको ऐतिहासिक सात तले दरबार, सूर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरुङ, नेवार र ब्राम्हण समुदायकोे जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, बिछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन र अनेक प्रजातिका चराचुरुङ्गी पनि अवलोकन गर्न सकिने छ ।’

राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुबैखालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक भएको ट्रेकिङ गाइड समेत रहेका सिलवालले बताए ।

राजधानीबाट जम्मा ९७ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा जोडिन सकिन्छ ।

‘फिकुरी डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न भ्रमण आयोजना गरेका हौं’, रसुवा-नुवाकोट पर्यटन समाज उपाध्यक्ष शिव लामिछानेले बताए । नेपाल पर्यटन बोर्ड सदस्य एवम् पूर्व टान अध्यक्ष दीपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment