Comments Add Comment

पीडितहरुको घेरामा परे वैदेशिक रोजगारीका ‘नटवरलाल’ !

२५ फागुन, काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरका ध्रुवबहादुर चन्दले वैदेशिक रोजगारीमा जाने योजना बनाएर डेढ वर्षअघि नेपाली सेनाबाट स्वेच्छिक अवकाश लिए ।

नेपालका सुरक्षा निकायमा काम गरेको अनुभव भएकाले विदेशमा सुरक्षा गार्डका लागि आकर्षक अवसर पाउँछन् । त्यसैले पेन्सन अवधि पुग्ने वित्तिकै जागिर छाड्नेको लहर चल्छ । नेपाली सेनामा नायक पदमा कार्यरत उनले पनि अवकास लिएपछि राम्रो देशमा गएर आम्दानी गर्ने सोच बनाएका थिए ।

सेनाबाट जागिर छाडेका एक जनाले कुवेतमा आकर्षक रोजगारीको अवसर रहेको सुनाए । उनकै पछि लागेर काठमाडौं, चप्पलकारखाना छेऊमा रहेको एक कार्यालयमा पुगे, जहाँ अर्घाखाँची घर भइ हाल सुन्धारा बस्दै आएका ३८ वर्षीय बाबुराम श्रेष्ठ भेटिए ।

भारतमा अलपत्र

श्रेष्ठले सुरुमा साढे ३ लाख बुझाए कुवेत पठाउने बताए । श्रीमतीको गरगहना समेत बन्धकी राखेर ऋण लिएर उनले वैदेशिक रोजगारीमा जाने पैसा बुझाए ।

पहिलो पटक चप्पलकारखाना छऊ भेट्न बोलाएका उनले पछिल्लो पटक सीटीसी मलमा रहेको ग्लोरियस वेलनेस स्पामा आफ्नो कार्यालय भएको बताउँदै आएका थिए । तर पैसा बुझाएको चार महिनासम्म कुवेत उडाउने सुरसार गरेनन् ।

फोन गरेर सोधीखोजी गर्दा एउटै जवाफ आयो, ‘हुँदैछ ।’ श्रेष्ठले आजभोलि गर्दै झुलाइरहे । ९ महिना वित्यो, लाने छाँटकाँट देखाएनन् । त्यतिञ्जेल चन्दले श्रेष्ठमार्फत वैदेशिक रोजगारीमा जान खाजेका थ्रुप्रै व्यक्ति पनि भेटिसकेका थिए ।

जब उनीहरुले शंका गर्दै श्रेष्ठलाई दबाब दिन थाले, तब उनले भिसा लागेको भन्दै पासपोर्टको एउटा पन्नाको तस्वीर पठाए र २४ माघमा कुवेतका लागि उड्ने बताए । ‘हामीलाई कोरोना भाइरसका कारण काठमाडौंबाट उडान हुँदैन भनेर भारतबाट जानुपर्ने सुनाए’, चन्दले भने, ‘पहिल्यै रकम डुबिसकेको थियो । उसले भनेको नपत्याएर पनि धर थिएन ।’

श्रेष्ठले प्रहरीसँग प्रारम्भिक बयानमा गल्ती स्वीकार गरेका छन्, तर आफूलाई भारतमा रहेको एजेन्टले फसाएको दाबी गरेका छन्

श्रेष्ठले उनीसहित कुवेत जान चाहने २४ जनालाई नेपालगञ्ज हुँदै गाडीमा दिल्ली जान सुझाए ।

त्यहीँबाट यूएई हुँदै कुवेत पुर्‍याउने बताए । दबाब र तनावपछि दिल्ली पुगेका उनीहरुलाई श्रेष्ठले कोरलबाहक नामक होटलमा राखे । चन्दका अनुसार होटलमा कुनै समस्या थिएन । अझ होटल खर्च पनि आफैं तिर्ने बताएका थिए ।

यसअघि रमेश नामक व्यक्तिले धोका दिएकाले समस्या भएको भन्दै चन्दहरुलाई आश्वस्त पार्दै राखे । तर टिकट काटेको भनेको दिन २४ माघमा उनीहरु उड्न पाएनन् । त्यसपछि चन्दहरुमा बाँकी रहेको झिनो आशा मरेर गयो ।

करिब २५ दिन त्यहाँ बसेपछि श्रेष्ठ सम्पर्कविहीन भए । टोलीमा रहेकामध्ये केही व्यक्ति होटलको खर्च तिर्न नेपालगञ्ज फर्किएर गाउँबाट ऋण गरेर थप पैसा लिएर भारत गए । त्यहाँ पैसा तिरेपछि मात्रै अन्य व्यक्ति होटलबाट मुक्त भए ।

नगरपालिकाको जागिर पनि छुट्यो, पैसा पनि डुब्यो

त्रिचन्द्र क्याम्पस पढेका कैलालीका कमल जोशी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए । गाउँ फर्किएपछि अछामको तुर्माखाँद गाउँपालिकामा करारमा जागिर खाइरहेका थिए । त्यहीवेला साथीहरुले युरोपको माल्ट्रामा वैदेशिक रोजगारीका लागि आकर्षक अवसर रहेको सुनाए । महिनामा २६ दिन ६ घन्टा काम गर्दा १२ सय युरो न्यूनतम तलब प्राप्त हुने साथीहरुले बताएका थिए ।

फेरि साथीसँगै एकैठाउँमा काम गर्न जान पाउने भएपछि सहज हुने उनले सम्झिए । ‘साथीहरुसँगै काठमाडौं आएँ, श्रेष्ठले मलाई चाहिँ सिधै स्पामै बोलाएका थिए’, जोशीले सुनाए, ‘भारतको एउटा कम्पनीसँग मिलेर काम गरेकाले सजिलो हुन्छ भनेको थियो ।’

उनका अनुसार अन्य मेनपावरबाट माल्ट्राको लागि भिषा लाग्न गाह्रो थियो । एजेन्ट भएकाले श्रेष्ठले चाहिँ चार महिनामा भिषा लाग्ने ग्यारेन्टी दिएका थिए । विश्वासमा उनले तीन लाख रुपैयाँ बुझाए । भिषा र टिकट श्रेष्ठले इमेलमा पनि पठाए । टिकट अनलाइनमा जाँच्दा सही देखाएको उनी बताउँछन् ।

श्रेष्ठले मेडिकलसहित ओरिएन्टेसन कक्षा पनि गराए । तर जब श्रम स्वीकृति लिने पालो आयो, तब पासपोर्टको सक्कलप्रति आवश्यक पर्‍यो । श्रेष्ठले आलटाल गर्न थाले । पासपोर्ट लिएर दिउँसो २ बजे आइपुग्छु भनेर स्पाबाट निस्किएका उनी साँझ ५ बजेसम्म आएनन् । ‘हामीले पटकपटक फोन गरिरह्यौं तर, उठाएनन्’, जोशीले अनलाइनखबरसँग सुनाए, ‘पछि मोबाइलको स्वीचै अफ भयो ।’

त्यति मात्र होइन, स्पाका कर्मचारीले भिषा नलागेको भन्दै राहदानी फिर्ता दिए । तब उनीहरुले गठिएको चाल पाए र, काठमाडौं प्रहरी परिसर, टेकुमा खबर गरे । ‘यसअघि पनि श्रेष्ठप्रति शंका लागेको थियो, तर उनले विश्वास नलाग्दैन भने इण्डिया जाउँ भनेर एग्रिमेन्ट गर्न लगेको थियो’, उनले थपे, ‘पछि बुझ्दै जाँदा हामीसहित २६ जनालाई माल्टा लैजाने भनेर ठगेको रहेछ ।’

बाबुराम श्रेष्ठ

जब पीडितले नै घेरा हाले…

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदी पक्राउ परेका श्रेष्ठमाथि ठगी र सरकारी कागजात कीर्ते कसूर अन्तरगत मुद्दा चल्न सक्ने बताउँछन् । ‘हामीले गिरोहका अन्य सदस्य पनि खोजी रहेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘म्याद थप गरेपछि विस्तृत अनुसन्धान थाल्छौं ।’

अनुसन्धान अधिकृतकाअनुसार माल्ट्रा जाने टोलमा रहेकाहरुले प्रहरीलाई खबर गरेलगत्तै लोकेशन ट्रेस गरेर पक्राउको प्रयास गरिएको थियो । उनी नेपालगञ्जमा देखिएका थिए तर, अनुसन्धान अधिकृतले पीडितलाई त्यसबारे जानकारी दिएपछि उनलाई प्रहरीले खोजी गरिरहेको सूचना चुहियो र श्रेष्ठ भाग्न सफल भए ।

प्रहरीले श्रेष्ठ हुनसक्ने विभिन्न स्थानमा छापा हाने पनि अपरेशन सफल भएन । त्यहीवेला कुवेत जाने टोली रिसले चुर भएर दिल्लीबाट फर्किएको थियो, जसमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अवकाश प्राप्त अधिकारीहरु थिए ।

उनीहरुले भारतबाटै नेपालमा रहेका आफन्तलाई फोन गरेर श्रेष्ठलाई नेपालगञ्जमा खोज्न भने । त्यतिञ्जेल चन्दको माल्ट्रा जाने टोलीका केही व्यक्तिसँग सम्पर्क भइसकेको थियो । नेपालगञ्जमा रहेको विमानस्थलबाट उनी काठमाडौंतर्फ जान सक्ने उनीहरुको आशंका थियो । त्यसैले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर पनि पीडित पूर्वसुरक्षा अधिकृत श्रेष्ठलाई समात्न घेरा हालेर बसेका थिए । ‘टर्मिनल र अध्यागमन दुवैतिर हाम्रो साथीहरु हुनुहुन्थ्यो’, चन्दले अनलाइनखबरसँग सुनाए, ‘हामीले सोचेअनुसारै शुक्रबार उनी नेपालगञ्ज विमानस्थलमा भेटिए ।’

ठगेका व्यक्तिलाई झुक्याउने गरी काठमाडौं–नेपालगञ्ज र फेरि नेपालगञ्जबाट काठमाडौं गएर त्यही दिन बेलुकी युरोपका लागि उड्ने तयारीका साथ श्रेष्ठ हिँडेका रहेछन् ।

पूर्वसुरक्षा अधिकृतले उनलाई पक्रेर जिल्ला प्रहरी कार्यालय, बाँकेलाई बुझाए । त्यसपछि नै उनले युरोप भाग्नका लागि टिकट काटेको खुलेको थियो । उनलाई ठगी गरेको स्थान काठमाडौं भएकाले बाँके प्रहरीले श्रेष्ठलाई काठमाडौं पठाइदियो ।

अहिले श्रेष्ठ काठमाडौं प्रहरीको हिरासतमा छन् भने आइतबार पीडितले उनीविरुद्ध किटानी जाहेरी दिएका छन् । श्रेष्ठले प्रहरीसँग प्रारम्भिक बयानमा गल्ती स्वीकार गरेका छन्, तर आफूलाई भारतमा रहेको एजेन्टले फसाएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment