Comments Add Comment

कति किचकिच !

किचकिच, शब्दैले कसैलाई पनि मन नपर्ने एउटा झण्झटिलो कुरा हो । तर, यो जोकोहीको पनि कहिलै नछुट्ने एक किसिमको सिलसिला हो । यो एउटा अनवरत प्रक्रिया पनि हो । मानिस जन्मिएको केही वर्षसम्म त उ स्वतन्त्र हुन्छ भन्ने मानिन्छ ।

तर, त्यही समयमा पनि उसले धेरै किचकिचको सामना गरिरहेको हुन्छ । बामे सरेर बल्ल बल्ल हिँड्ने बेलामा बच्चाको यात्रामा सीमाना तोकिन्छ । त्यहीबेलादेखि नै बच्चामाथि किचकिच सुरु हुन्छ । त्यही बामे सर्दादेखि सुरु भएको किचकिचले मृत्युपर्यन्त मान्छेलाई साथ छाड्दैन।

काभ्रेका महेश सापकोटा काठमाडौंमा जन्मिए । बाल्यकाल काठमाडौंमा नै बित्यो । पूख्र्यौली थलो काभ्रेमा नै भएपनि उनले यतै संघर्षको पहाड फोरे । आफ्नो जीवनको बारेमा बुझ्ने बेलासम्म त उनलाई केही पनि चासो थिएन । तर, जतिबेला उनी स्कुले जीवनमा प्रवेश गरे त्योसँगै उनको जीवनमा किचकिचको श्रृङ्खला सुरु भयो ।

कहिले गृहकार्यको सम्बन्धमा किचकिच, कहिले परीक्षाको नतिजाको विषयमा । घरमा आयो तोकिएको काम नगरेको भनेर किचकिच, साथीसँग खेल्न गयो अर्काे किसिमको किचकिच । उनीमाथि किचकिचको सिलसिला स्कुले जीवनभरी चलिरह्यो । स्कुले जीवन सकियो । त्यसपछि साथीहरु र घरबाट बिस्तारै विवाहको बारेमा किचकिच सुरु भयो ।

उनले यो पनि धेरै लामो समय भोगे । विवाह अघि किचकिच गर्नेहरु त चुप लागे । तर, किचकिच बदलियो । अब बच्चाको विषयमा किचकिच सुरु हुन लाग्यो । सापकोटा भन्छन् ‘यो सामाजिक व्यवस्थामा आफूले बुझ्ने भएदेखि म अनवरत रुपमा किचकिच भोग्दै आइरहेको छु । मैले पनि गरेका व्यवहारहरु कतिपयलाई किचकिच लाग्न सक्छ । तर, यो सिलसिला कसैको पनि कहिलै सकिन्छ जस्तो लाग्दैन ।’

कास्कीका शुभम् बिसीले जीवनमा फरक किसिमको किचकिच भोगे । बच्चाको किचकिच त सामान्य नै थियो । उनी भन्छन् ‘यो त सबैले भोग्ने गरेको किचकिच हो ।’ जर्मनीमा जाँदा एउटी नेपाली किशोरीसँग प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शारीरिक सम्बन्धसम्मको स्थिति पुग्यो ।

त्यसको केही समयमा नै उनीहरुबीच सम्बन्धबिच्छेद भएपछि उनी जर्मनीबाट नेपाल फर्किए । नेपाल फर्किएको पाँच वर्षपछि तिनै पुरानी प्रेमिकाले उनीहरुको बच्चा रहेको र उसलाई दार्जिलिङमा अध्ययन गराइरहेको बताउन थालिन् । उनको यता अर्को बच्चा समेत जन्मिइसकेपछि उनीमाथि चलेको यस्तो किचकिचले उनी धेरै समय तनावमा नै समय बिताउन बाध्य भए ।

ती महिलाले पनि यही विषयलाई लिएर पटक पटक किचकिच गर्न सुरु गरिन् । उनको जीवनमा यो पहिलो किचकिच त थिएन । यो केवल भिन्दै किसिमको किचकिच थियो । पछि साथीहरुको सल्लाहमा बच्चासहित डिएनए परीक्षणबाट पुष्टि गराउन चुनौती दिएपछि उनीमाथिको किचकिच अन्त्य भएको बिसी सुनाउँछन् ।

धेरै किचकिचको शिकार भएका अर्का पात्र हुन् कीर्तिपुरका विक्रम श्रेष्ठ । उनी कहिले साथीहरुको किचकिच त कहिले क्याम्पस र कहिले घरबाट हुने किचकिचबाट धेरै चिन्तित हुन्छन् ।

उनी भन्छन् ‘अरुले त किचकिच गरिरहन्छन्, त्योभन्दा धेरै त आफ्नै साथीहरुबाट धेरै किचकिच हुन्छ ।’ कहिले पैसा चाहियो भनेर किचकिच गर्ने त कहिले अरु विषयमा किचकिचको श्रृङ्खला चलिरहने उनी सुनाउँछन् ।

यी केवल किचकिच सहने पात्रहरु मात्रै हुन् । जीवनमा सायदै कोहीपनि व्यक्ति नहोला जो कुनैपनि किचकिचबाट मुक्त होस् । सामाजिक जीवन बिताउनेहरुमा एउटा सामाजिक भावनाको विकास हुन्छ । सामाजिक भावनासँगै आफूसँग अरुले पनि धेरै अपेक्षा राखिरहेका हुन्छन् । यही अपेक्षाले जन्माउँछ किचकिचको श्रृङ्खला ।

मानिसले कुनैपनि जिम्मेवारी बहन गरेसँगै सुरु हुन्छ, किचकिचको श्रृङ्खला । विद्यालय जान सुरु भयो गृहकार्य नगरेको भनेर किचकिच, स्कुलबाट घरमा फर्कियो घरमा गर्ने काम पूरा नगरेको वा राम्रोसँग नगरेको भनेर किचकिच, साथीहरुसँग खेल्न गयो त्यस्तै कुनै विषय निकालेर किचकिच । हामी दिनभरीमा जति धेरै काम गर्छाैं कुनै समय त हामी त्योभन्दा धेरै किचकिच भोग्नबाध्य हुन्छौं ।

मान्छे जब उमेरले २० नाघ्छ । त्यसपछि जागिर खानुपर्‍यो भनेर किचकिच । जागिर सुरु गऱ्यो हाकिमको किचकिच, समयमा तलब पाइएन भने त्यही विषयलाई लिएर घरमा किचकित ।

अफिसबाट समयमा घर फर्किएन भने घरकाले किचकिच । यही किचकिचले गर्दा पनि धेरैको स्वतन्त्र जीवन नै संकटमा परेको छ । कसै न कसैको बन्धनमा छन् यही कारणले धेरै मानिसहरु ।

बल्ल बल्ल जागिर खायो विवाह गर्नको लागि किचकिच, विवाह पनि गर्‍यो बच्चा जन्माउने विषयमा किचकिच, पितृसत्तात्मक मुलुकमा छोरी जन्मिएको खण्डमा फेरि छोराको विषयमा किचकिच भोग्न बाध्य छौं हामीहरु ।

माथि उल्लेख गरिएको किचकिच केवल केटाहरुको लागि मात्रै होइन । महिलाहरुको लागि समेत उस्तै पीडाको कुरा हो । विवाह लगत्तै महिला र पुरुषसँग हुने किचकिचमा केही भिन्नता आउँछ ।

पुरुषलाई महिलाहरुको आवश्यकताको सूची र त्यसलाई पूरा गर्ने किचकिचले सताउँछ । यदि श्रीमती आफैं पैसा कमाउने भएमा पैसा नजोगाएको भनेर किचकिच सुरु भइहाल्छ । श्रीमातीलाई व्यक्तिगत रुपमा धेरै खर्च गरेको आरोपमा किचकिच गर्ने पुरुषहरु छँदैछन् । यो किचकिच अन्तिमसम्म पनि चलिरहन्छ ।

छोराछोरी ठूला हुन्छन् उनीहरुको आवश्यकताले अर्को किचकिच सिर्जना गर्छ । बिदामा घुमघाम गर्न जाने भन्दै छोराछोरीले गर्ने किचकिचबाट पनि धेरै पीडित हुन्छन् । यो श्रृङ्खला बुढेशकालमा झनै धेरै देखिन्छ ।

बुढेशकालमा आफ्नो कुरा अरुले धेरै नसुनेपछि एउटा असन्तुष्टी पैदा हुन्छ । यसले गर्दा बुढाबुढी मान्छेबाट पनि धेरै किचकिच हुन्छ भने उनीहरुले पनि धेरै किचकिचको सामना गर्नुपर्ने हुन्छ । त्यसैले पनि यो किचकिचको श्रृङ्खला मृत्युपर्यन्त चलिरहने परिघटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment