Comments Add Comment

दरबन्दीका शिक्षक नहुँदा समस्या

२९ फागुन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय मसिहानीमा मावि शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । मावि राहत शिक्षक एक जना, प्रावि र निमावि शिक्षककै भरमा मावि सञ्चालनमा छ ।

विद्यालयमा ०६६ सालदेखि मावि तह र ०७५ सालदेखि प्लस टु शिक्षा संकायमा अध्यापन भइरहेको छ । कक्षा ९ देखि १२ सम्म २६४ जना विद्यार्थी अध्ययनरत छन् ।

पालिकाले माविका लागि १० लाख र प्लस टु सञ्चालनमा लागि १२ लाख अनुदान दिएको छ ।

तर अध्यापन गराउनका लागि मावि तहमा विषयगत दरबन्दीका शिक्षकको अभाव छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बडईप्रसाद कुर्मीले शिक्षक माग गरेको तर सम्बन्धित निकायले नपठाइदिएको गुनासो गर्छन् । ‘निजी स्रोतले कतिदिन धान्ने ? दरबन्दीका शिक्षक हुँदा सरकारले पैसा दिन्छ भन्ने हो,’ उनले भने, ‘तर माग गर्दा गर्दै थाकिसकेका छौं । सुनुवाई नै भईरहेको छैन ।’

उनले शिक्षा मन्त्रालयमा दुईपटक पुगेर शिक्षक माग गर्दा समेत नपठाइएको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अधिकारी दिव्या दवाडीले भने शिक्षक दरबन्दी मिलानको काम सकिएपछि विद्यालयमा यस्तो समस्या नदेखिने बताइन् । ‘मन्त्रालयले मापदण्ड बनाएर शिक्षक दरबन्दी मिलानको काम गरिरहेको छ,’ उनले भनिन्, ‘त्यसपछि विद्यालयमा शिक्षक अभावको समस्या हल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment