Comments Add Comment

कोरानाले ब्युँतायो पूर्वीय सभ्यता : ट्रम्प र युवराज चार्ल्सले गरे नमस्कार

३० फागुन, काठमाडौं । कुनैबेला संसार जितेर कहिल्यै सूर्य नअस्ताउने देश बनेको बेलायत र पछिल्लो शताब्दीमा संसारभर हैकम कायम गरिरहेको अमेरिकाका दुई प्रमुख व्यक्तिले दुई हात जोडेर नमस्ते गरिरहेको भिडियो भाइरल बनिरहेका छन् ।

बिहीबार मात्र बेलायती राजपरिवारबाट सार्वजनिक गरिएको एउटा भिडियोमा युवराज चाल्र्स आफूसँग हात मिलाउन खोज्ने पाहुनाबाट तर्किदै दुई हात जोडेर नमस्ते गरिरहेका थिए । प्रिन्सेज ट्रष्ट अवार्ड समारोहमा उनी दुईपटक हात मिलाउन खोज्दै झुक्किएर पुनः नमस्ते गरिरहेका थिए ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हृवाइट हाउसबाट ‘नमस्ते’ गर्दै थिए जहाँ आयरल्याण्डका प्रधानमन्त्री पनि नमस्तेबाटै ट्रम्पलाई अभिवादन गरिरहेका थिए ।

बेलायतको राजदरवार र अमेरिकाको राष्ट्रपति भवनबाट गरिएका यी दुई चर्चित ‘नमस्ते’को दृष्यले संसारलाई पूर्वीय अभिवादन संस्कारतर्फ र्फकन प्रेरित गरेका छन् ।

‘नमस्ते’ अभिवादन शैलीको उद्गमथलो दक्षिण एशियाको नेपाल बाहेक सबै भूभाग कुनैबेला बेलायतको उपनिवेश थिए र पश्चिमा सभ्यताबाट पूर्वीय सभ्यतामाथिको अतिक्रण त्यही युगबाट सुरु भएको थियो । नमस्कारजस्तै धेरै सभ्यताहरु पश्चिमा संंस्कारको छायाँमा परेका थिए ।

बेलायती लगायत पश्चिमी सभ्यता सिकेर हामी नमस्तेको साटो ‘हेल्लो’ भन्दै हात मिलाउने संस्कारमा ‘फ्युजन’ भइसकेका बेला अमेरिकी र बेलायतीहरु एकाएक नमस्ते युगमा फर्किएका छन् । कोरोना संक्रमणको डरले हात नमिलाउने अभियानसँगै नमस्ते अर्थात नमस्कार गर्ने शैली विश्वव्यापीरुपमा स्थापित भएको छ ।

यसबीचमा इजरालयका प्रधानमन्त्रीले पनि नमस्कार गरेको तस्वीर सार्वजनिक भएको थियो । ट्रम्पले हृवाइट हाउसमा आयरल्याण्डका प्रधानमन्त्रीसँग हात नमिलाई नमस्कार गरेपछि यो संस्कार आफूले भारतबाट सिकेको बताएका छन् । योसँगै नमस्ते अर्थात नमस्कारको कपिराइट नेपाल वा भारत कसको दाबी रहला ?

यो प्रश्न भने औचित्यहीन छ । जसरी हिन्दू धर्म वा हिन्दु सभ्यताको विकास हिन्दकुश क्षेत्रबाट भयो त्यसैगरि नमस्ते वा नमस्कार गर्ने सम्भयताको विकास पनि यहि क्षेत्रबाट भयो । जुन हिन्दकुश क्षेत्र आधुनिक राष्ट्रहरु निर्माण हुनुअघि विराट भारतवर्ष थियो । जुनबेला हिन्दुस्तान,नेपाल जस्ता देश बनिसकेका थिएनन् ।

आधुनिक देशहरुको भूगोल निर्धारण हुनुअघि नै दक्षिणपूर्वी एशियामा मानव सभ्यताको विकास भएको थियो जहाँ ज्ञान विज्ञानको शास्त्रार्थ हुन्थ्यो । आज पश्चिमा वैज्ञानिक आविस्कारहरुले पत्ता लगाएका कतिपय दर्शनहरु यसअघि पूर्वीय दर्शनले परिकल्पना गरिसकेका विषय हुन् ।

पूर्वीय दर्शन र संस्कृत भाषा आज संसारभर एकपटक पुनः खोज अनुसन्धानको विषय बनेको छ । ठीक यहीबेला कोरोनाले संसारलाई त्रासमा पारेका बेला हात मिलाउने (हृयाण्डसेक) को पश्चिमा शैलीलाई दुवै हात जोडेर अभिवादन गर्ने पूर्वीय सभ्यताले विस्थापित गर्ने संकेत देखिएको छ ।

पछिल्लो समय संसारभर योगाबाट व्यायाम तथा मनलाई शान्त बनाउने पूर्वीय संस्कृति फैलिएर अन्तर्राष्ट्रिय योग दिवसनै मनाउन लागिएका बेला कोरोनाकै कारण भने नमस्ते संसारभर स्वीकार्य बनेको छ । यो अवश्य पनि पूर्वीय दर्शन र सभ्यताको सर्वस्वीकार्यता हो । योग र नमस्कार एक अर्कामा अन्योन्याश्रति छन् ।

हाम्रा ऋषिमुनि र पूर्वजहरुले हजारौं वर्षअघि शुरुआत गरेको सभ्यतालाई आधुनिक विश्व साम्राज्य निर्माणका क्रममा देशका भूगोलसँगै संस्कार संस्कृतिमाथि समेत जबर्जस्ति अतिक्रमण गरिएको थियो । मानव जीवन र स्वास्थ्यका लागि पूर्वीय सभ्यताले वैज्ञानिक उपाय त्यो युगमै अपनाएको रहेछ भन्ने सिद्ध भइरहेका छन् ।

आज संसारभर संस्कृत भाषा र हिन्दू (पूर्वीय) सभ्यतामाथि धेरै सोध अनुसन्धानहरु भइरहेका छन् । नमस्तेको विश्वव्यापी स्वीकार्यताले पूर्वी सभ्यताको स्वीकार्यता अझ फराकिलो बनाइदिएको छ । यसका लागि भारतीय र नेपालीहरुको विश्वव्यापी आप्रवासन र अन्तर्राष्ट्रिय हवाइ उडानहरुले पनि अवश्य योगदान दिएका छन् ।

नमस्कारको धार्मिक, वैज्ञानिक महत्व

नमस्ते अर्थात नमस्कारको शुरुआत कहिलेबाट भयो भन्ने कुनै शास्त्र वा अध्ययनले पुष्टि गरेका छैनन् । इतिहासविदहरुका अनुसार दक्षिणपूर्वी एशिया क्षेत्रमा आर्यहरुको सभ्यता विकाससँगै नमस्कारको अभिवादन शैली शुरुवात भएको हुनसक्छ ।

हिन्दू पुराण तथा ग्रन्थहरुमा ‘शाष्टाङ्ग दण्डवत प्रणाम’ र नमस्कार जस्ता अभिवावदनका शैलीहरु वणिर्त छन् । माता पिता लगायत अति नजिकका आदरणीय व्यक्ति र ठूला शासक तथा अति विशिष्ठ व्यक्तिहरुलाई पाउ टेकेर हात जोडेर शाष्टाङ दण्डवत गर्ने परम्परा रहेको इतिहासविदहरुको भनाइ छ ।

अझ नेपाल र भारतका हिन्दू परिवारभित्र घुँडा टेकेर टाउको झुकाएर ठूलाबडाको खुट्टामा ढोग्ने प्रचलन पनि सयौं वर्षअघि शुरुवात भएको थियो । हाम्रो समाजमा अहिले पनि घरपरिवारभित्रका आफूभन्दा आदरणीय सदस्य र छोरीचेलीलाई शीर पाउमा राखेर ढोग्ने प्रचलन छ ।

यसबाहेक पूर्वीय सभ्यतामा आम मान्छे र सानाले ठूलालाई अभिवादन गर्ने क्रममा दुई हात जोडेर नमस्ते गर्ने प्रचलन मानव विकासक्रमसँगै शुरुवात भएको संस्कृतिविद गणेशमान गुरुङले बताएका छन् । यो सभ्यता तत्कालीन भारतवर्षबाट शुरु भएको उनको अध्ययन छ ।

प्राचीन युगमा यस क्षेत्रका मान्छेले बिहान उठ्नासाथ सूर्यलाई नमस्कार गर्थे । त्यहि क्रममा दैवीय शक्ति प्राप्त व्यक्ति तथा आदरसम्मान गर्नेलाई सोही शैलीमा अभिवादन गर्ने परम्परा स्थापित भयो । सूर्यलाई नमस्कार गर्दा दुवै हात जोडेर पूर्वी दिशामा फर्किएर यसरी मन्त्रोच्चारण गरिन्थ्यो

ओम मित्राय नमः ओम रवय नमः ओम सूर्याय नमः

ओम भानवे नमः ओम खगाय नमः ओम पुष्णे नमः
ओम हिरन्यगर्भाय नमः ओम मरेचय नमः
ओम आदित्याय नमः ओम सवित्रे नमः अ
ओेम अर्काय नमः ओम भाष्कराय नमः

यी सबै सूर्यका नाम हुन् । सबै ग्रहभन्दा माथि रहेकाले पूर्वीय सभ्यतामा सूर्यलाई भगवान मानिन्छ । नमस्कार पनि सूर्यलाई गरेरै शुरु हुन्छ । नमस्कार शब्दको उत्पत्ति नमः बाट भएको हो । संस्कृति शब्द नमःको अर्थ हुन्छ ‘प्रणाम’ गर्नु ।

स्कन्द पुराणाका अुनसार एक आत्माले अर्को आत्माप्रति सम्मान र आभार प्रकट गर्नका लागि बनेको शब्द हो नमस्कार अर्थात नमस्ते । नमस्कार गर्नु अभिवादनमात्र नभएर एकप्रकारको योगा पनि हो । दुवै हात जोडेर आँखा बन्द गरेर बस्दा संसारको दैवीय शक्ति देख्न सकिन्छ ।

नमस्कारले दैवी प्रेमको भाव जगाउछ । नमस्कार गर्दा शिर झुकाउने र आँखा बन्द गर्ने भनेको हृदयमा विराजमान ईश्वरप्रति आफैंलाई सुम्पिने काम हो भनेर शास्त्रमा उल्लेख छ । नमस्कार गर्दा कतिपय अवस्थामा साह्रै रिसाएको व्यक्तिको आवेगलाई समेत रोक्न सकिन्छ ।

हात जोडेर नमस्ते गर्दा औंला थिचिन्छन् र तिनलाई जोडिराख्दा हृदयचक्र र आज्ञाचक्र सक्रिय हुन्छन् । नमस्ते वा नमस्कार गर्नु भनेको विनयभाव देखाउनुपनि हो,जसले तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ र म तपाईको अधिनस्थ छु ।

सामान्यतः प्राचिन गुरुकुलहरुमा चेलाले गुरुलाई तपाई सर्वज्ञाता हुनुहुन्छ भनेर ज्ञानको याचना गर्दै दुई हात जोडेर नमस्कार गर्ने प्रचलन थियो । आजपनि नेपाल भारत लगायतका देशमा नमस्कारको संस्कृति बहुसंख्यक जनताले थामिरहेकै छन् ।

हाम्रा पूर्वजले एक अर्कालाई नछोई वा अंकमाल नगरी अभिवादन गर्ने जुन संस्कारको विकास गरेका थिए, त्यो आजको संसारले पछ्याउन बाध्य भएको छ,कोरानाका कारण भनेपनि । उपनिवेशकालपछि पूर्वीय सभ्यतामाथि हैकम जमाएको पश्चिमा संस्कृति एकपटक नमस्कार स्वीकार्न बाध्य भएको छ ।

नमस्कार अर्थात नमस्तेलाई केबल अभिवादनका रुपमा मात्र लिइयो भने यसको विराट पक्षमाथि बुझिन्न । नमस्कार गर्नुका बैज्ञानिक फाइदा पनि छन् । अभिभावदनको यो संस्कारले एकले अर्को व्यक्तिलाई नछुने भएकाले दुई व्यक्तिबीच दैवी उर्जा प्रदान गर्छ । नमस्कार गर्ने दुवै व्यक्तिबीचको नकारात्मक उर्जा कम हुने भनेर विभिन्न शास्त्रमा उल्लेख छ ।

यसका साथै एकले अर्कोलाई नछुने भएकाले शारिरीक स्पर्शका कारण सर्ने कतिपय रोगहरुबाट बच्न सकिन्छ । नमस्कार आफैंमा मनदेखि आउने भएकाले यसले मनमा शान्ति र सकारात्मक उर्जा दिन्छ ।

नमस्कारको अर्थ सबै मानिसको हृदयमा दैवीय चेतना अर्थात प्रकाश हुन्छ । नमस्कार शब्दको उत्पति संस्कृतको नसम शब्दबाट भयो । जसको अर्थ हो, एक आत्माबाट दोस्रो आत्मालाई आभार प्रकट गर्न ।

नमस्ते गर्नका लागि दुई हातको चक्र मिलाएर राखिन्छ र आँखा बन्द गरिन्छ अनि शीर झुकाइन्छ । हातको हृदयचक्रमा जोडिएपछि दैवी प्रेमको बहात हुन्छ । शीर झुकाएर आँखा बन्द गर्नको अर्थ हुन्छ आफ्नो हृदयमा विराजमान दैवी शक्तिमा आफूलाई सुम्पिनु ।

र अन्तमा, आर्थिक,सामाजिक,सांस्कृति र राजनीतिक क्षेत्रमा उपनिवेशकालपछिको पश्चिमा अतिक्रमण र हाम्रै कतिपय लघुताभासका कारण पछि परेको पूर्वीय संस्कार सभ्यता एकपटक पुनः विश्वब्यापी बन्दैछ । योगा,नमस्कार जस्ता केही उदाहरणमात्र हुन् ।

पूर्वीय दर्शनप्रति पश्चिमाको लगावले यहाँको प्राचीन सभ्यता संसारकै वैभवशाली थियो भन्ने सिद्ध गर्छन् । पश्चिमाहरु पूर्वीय संस्कार नै उत्कृष्ट हो भन्ने ठाउँमा आइपुगेका छन् । कोरोनाकै कारण सही,नमस्कार अब विश्वकै सर्वस्वीकार्य अभिभावदन संस्कृति बनेको छ ।

नेपालमा बागमति प्रदेश सरकारले जनतालाई हात मिलाउनुको साटो नमस्कार गर्न औपचारिक निर्णय गरेरै आग्रह गरेको छ । के अब हामी एक अर्कोलाई अभिवादन गर्दा नमस्कार गर्ने प्राचीन शैलीमा फर्किन तयार छौं ? हामीले आफैंलाई गरेको प्रश्न हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment