
३० चैत काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी दुर्गममा काम गरेमा बढुवामा प्रोत्साहन हुने कानूनी व्यवस्था भएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको विशेष सेवा विधेयकमा दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न सुगममा काम गरेकालाई भन्दा बढी नम्बर दिने व्यवस्थामा सहमति जुटेको हो ।
हाल बढुवाका लागि कार्यक्षमतालाई ११० पुर्णाङ्क छुट्याइएको छ । कार्यसम्पादन मूल्याङ्कनको ५०, जेष्ठताको २४, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको १२, शैक्षिक योग्यताको १३, तालिमको ६ र बढुवा समितिले ५ नम्बर दिन सक्ने हालको व्यवस्था छ ।
यसलाई बदलेर पूर्णाङ्क १०० मा झार्ने र १०० अंकमा झार्दासमेत भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको १२ बाट बढाएर १६ अंक दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रस्ताव छ । उक्त प्रस्तावलाई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले स्वीकार गरेको हो ।
समितिले शुक्रबार पास गरेको व्यवस्थाअनुसार अब राअविका कर्मचारीलाई बढुवाका लागि कार्यसम्पादन मूल्याङ्कनको ४०, जेष्ठताको २४, शैक्षिक योग्यताको १०, तालिमको ५ र बढुवा समितिले ५ नम्बर दिन सक्नेछन ।
समितिबाट पास भएको विधेयकको दफा ३१ अनुसार ‘क’ वर्ग (अति दुर्गम) मा काम गरे बापत्त प्रत्येक बर्ष ४ अंक प्राप्त गर्न सकिनेछ । ‘ख’ वर्ग (दुर्गम) मा काम गरेवापत ३.२५, ‘ग’ वर्ग (मध्यम) मा काम गरेको २.५ र ‘घ’ वर्ग (सुगम) मा काम गरेको २ अंक प्राप्त गर्न सकिन्छ ।
शैक्षिक योग्यताबापत नम्बर दिँदा उतीर्णाङ्क (डिभिजन/प्रतिशत) हेरेर श्रेणीगत रुपमा नम्बर दिने व्यवस्था छ ।
यसलाई बदलेर न्यूनतम शैक्षिक योग्यताको ७ अंक दिने र माथिल्लो तहको शैक्षिक योग्यताबापत ३ अंक दिने गरी पस्ताव भएर आएको व्यवस्थालाई पनि समितिले स्वीकार गरेको हो ।
तालिमबापत पाउने नम्बरमा भने श्रेणीको व्यवस्था कायमै राखिएको छ । एक पटक लिएको तालिमबापतको नम्बर अर्को पटक बढुवा हुनका लागि अमान्य हुने वा नजोडिने कानुनी व्यवस्था गरिने भएको छ ।
प्रतिक्रिया 4