Comments Add Comment
साहित्य-वार्ता :

‘मेरो प्रतिस्पर्धा मैसित छ, अरुको शर्तमा जिन्दगी बाँचिनँ’

१ चैत, काठमाडौं । सरस्वती प्रतीक्षा शुरुमा कविका रुपमा परिचिति थिइन् । २०७४ सालमा ‘नथिया’ उपन्यास प्रकाशनपछि उनलाई आख्यानकारका रुपमा हेर्न थालियो ।

वादी समुदायमाथि लेखिएको नथिया चर्चित र विवादित पनि बन्यो । उपन्यासकै कारण प्रतीक्षाविरुद्व अदालतमा मुद्दासमेत पर्‍यो ।

अघिल्लो साता सरस्वतीले ‘राष्ट्रिय कलाश्री युवा पुरस्कार’ पाइन् ।

पोखरा बसेर साहित्यमा सक्रिय प्रतीक्षासँग अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानी ।

‘बजारमा ननिस्किएको एउटा किताब’ भन्ने कविता छ, तपाईंको । त्यो कविताले भनेझैँ नथिया ‘ओभररेटेड’ भएन ?

‘नथिया’ निकाल्नु मेरा निम्ति धेरै अर्थमा चुनौती निकाल्नुजस्तै थियो । एक त कविका रुपमा स्थापित आफ्नै छविलाई चुनौती, अर्को विषयवस्तु नै जोखिमपूर्ण हुनाले त्यसले निम्त्याउन सक्ने अप्ठ्याराहरूको चुनौती ।

जब बजारमा किताब निस्कियो र सोचेभन्दा बढी चर्चा-सफलता पायो, त्यसले एकसाथ मलाई प्रशंसक र आलोचकको भीडमा पुर्‍याइदियो । चुपचाप आफ्नो कर्म गर्न रुचाउने मजस्तो अन्तरमुखी लेखक कतिपय मुद्दा र विषयमा बोल्दै हिँड्नुपर्‍यो ।

नथिया कति ओभररेटेड, कति अन्डररेटेड ? यो प्रश्न पाठकको अदालतमा छोड्दिऊँ । ‘बजारमा ननिस्किएको एउटा किताब’ भन्ने कविताजस्तो किताब चाहिँ मैले लेख्नै बाँकी छ ।

पोखरामा मनभित्रैको रहरले कविता लेख्दै बसेकी सरस्वती प्रतीक्षा र आज ‘चर्चा तथा स्थापित हुने प्रतिस्पर्धामा’ जानी नजानी मिसिएकी सरस्वती प्रतीक्षाबीच के अन्तर छ ?

नथिया निस्कनुअघि मैले केवल एउटा अन्तरवार्ता दिएकी थिएँ, त्यो पनि पोखरालाई नै कर्मथलो बनाएका पत्रकारलाई । नथिया निस्कनुअघि त्यसबारे बोल्दिनँ भनेर बसेकी थिएँ । किताब निस्किएपछि उस्ता उस्तै खाले प्रश्न धेरै आउँदा यो कुरा मैले पहिल्यै भनिसकेकी छु भनेर थुप्रैलाई जवाफ दिइनँ । त्यसलाई कतिले अहमको विषय बनाएर मसित रिसाए ।

जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, साहित्यमा एउटा लेखकको प्रतिस्पर्धा आफैंसितबाहेक अरुसित हुँदैन । आफ्नो अघिल्लो किताबलाई पछिल्लो किताबले उछिन्न सकूँ । यसर्थ, मेरो प्रतिस्पर्धा मैसित छ ।

२०३० को दशकको पोखराको साहित्यिक माहोलमा आज खडेरी परेको सत्य हो ?

मान्नुस्, नमान्नुस्, पोखरा साहित्यको केन्द्र हो । पोखरा ३० को दशक अघि पनि उन्नत थियो र त्यसपछि पनि छ । साहित्य सिर्जनाको सवालमा पोखरा हिजोजस्तै आज पनि भर्भराउँदो छ ।

पोखरा स्कुलिङको नाम पनि हो । आजका चर्चित लेखकहरू- रोशन शेरचन, सरिता तिवारी, भूपिनहरू यही स्कुलिङमा हुर्केका हुन् । पोखराको साहित्यिक विरासत थाम्न गनेस पौडेल, तीर्थ गुरुङहरुको काँध तयार भइसकेको छ ।

थकाली समुदायबाट नेपाली साहित्यमा उदाएका भूपी शेरचन, पृथ्वी शेरचन, उषा शेरचनसँगै तपाईं पनि हुनुहुन्छ । थकालीहरुको साहित्य, कला र सांस्कृतिक विशिष्टता कस्तो छ ?

थकाली समुदाय सरसफाई, परिकार र वैभवका लागि चर्चित छ । अल्पसंख्यक भइकन पनि यो आफैँमा बलियो समुदाय हो । यो समुदायको आफ्नै भाषा-संस्कृति छ । र पनि, साहित्यको सवालमा थकाली समुदाय त्यति उत्साही देखिँदैन ।

व्यक्तिगत रुचीले साहित्य सिर्जनामा लाग्ने नगण्य व्यक्तिलाई छाड्ने हो भने थकाली समुदायको सम्पूर्ण ध्यान आर्थिक समृद्घमिा केन्द्रित छ । बौद्घकिता, सिर्जना जस्ता अमौद्रिकक कुरालाई पनि महत्व दिए थकाली समुदाय एक कदम अगाडि बढ्नेमा कुनै सन्देह छैन ।

नारी शक्तिलाई केन्द्रमा राखेर लेखिएका सुम्निमा, शिरिषको फूल जस्ता कृतिबारे तपाईंका लेखरचना आइरहन्छन् । नारी शक्ति नसमेटिएका पुस्तक तपाईंको रोजाइमा पर्दैन ?

मैले ‘प्रिय पात्र’ शीर्षकमा एकपटक सुम्निमा र सकमबरीबारे छोटाछोटा लेख लेखेकी थिएँ । एउटै विषयवस्तुमा पटक-पटक लेख्ने मेरो बानी पनि छैन । केहीअघि हरारीलाई सम्बोधन गरेर लामो लेख लेखेकी थिएँ ।

मलाई ती लेखक र किताब मन पर्छन्, जसले हाम्रो सोचको दायरालाई फराकिलो बनाउन सघाउँछन्, प्रश्न गर्न प्रेरित गर्छन् । हाम्रो समाज र जिन्दगीलाई फरक कोणबाट हेर्न झक्झकाउँछन् । मैले पढ्ने र रुचाउने किताबमा एकदम विविधता छ ।

स्टारडम, ठूलो स्वर, चहल-पहल, ठूलै साथी सर्कल । आजका लेखक यिनै कुराको बलमा आफ्नो बिरासत बनाउन खोज्दैछन् ?

उभिनलाई थाँक्रो उसैलाई चाहिन्छ, जसलाई आफ्नो सिर्जना शक्तिमा विश्वास छैन । एउटा निश्चित सर्कल बनायो, एउटाले अर्कोको भयंकर तारीफ गर्यो अनि बाँकी सबलाई निकृष्ट भन्दै गालीगलौच गर्यो । यसो गर्दा क्षणिक आत्मरञ्जना त हुन्छ, तर अन्नत घाटा आफैँलाई हुन्छ ।

कविता हृदयले कि मष्तिस्कले लेख्नुहुन्छ ?

म कविता लेख्छु भनेर लेख्दिनँ । कविताले लामो समयसम्म नलखटेसम्म म कविता लेख्न बस्दिनँ । कविता लेखिसक्दा एक प्रकारको मोक्षको अनभूति हुने स्तरमा नपुगेसम्म लेख्दिनँ ।

२०६८ सालमा ‘बागी सारङ्गी’ विमोचन गर्दा मैले अर्को कविता संग्रह अबको १० वर्षपछि मात्र आउँछ भनेकी थिएँ । त्यसो भन्दा कतिले अचम्म मानेथे । कविता लेखेर कवितालाई न्याय गर्न सक्छु भन्ने नलागेसम्म म कविता लेख्दिनँ ।

कविता कुन बाटो भएर आउँछ भन्ने कुरा कविताको विषयवस्तुमा निर्भर रहन्छ । विषयवस्तुअनुसार कविता कहिले ह्रदयको बाटो भएर आउँछ, कहिले मष्तिष्कको बाटो भएर आउँछ । कुनै कविता भने यी दुबैको बीच भएर पनि आउँछ ।

महिलाका अनेक रुप (छोरी, युवती, विद्यार्थी, बुहारी, आमा) बनिसक्दा आफ्नो जीवनको कस्तो समालोचना गर्नु हुन्छ ?

म समाजको बनिबनाऊ मूल्य मान्यता र आदर्शभित्र नअटाउने स्वास्नीमान्छे हुँ । बिन्दास जिन्दगी बाँच्छु । मेराबारे कसले के धारणा बनाउँछ, के भन्छ जस्ता कुरा मलाई एकदमै गौण लाग्छन् ।

मैले अरुको शर्तमा आफ्नो जिन्दगी कहिल्यै बाँचिनँ । ‘कम्फर्ट जोन’ बाहिरको चुनौती र संघर्ष रोमाञ्चक लाग्छ मलाई । आफ्नै शर्तमा जिन्दगी बाँच्न धेरै कुरामा मूल्य चुकाउन पर्छ, चुकाएकी छु ।

प्रेम र मातृत्वमा अति संवेदनशील छु । यी मेरा कमजोरी र शक्ति दुवै हुन् ।

लोकतन्त्र प्राप्तिपछिको एक दशक जागेको साहित्य पछिल्लो पाँच वर्षयता सिथिल भएको हो ?

नेपालमा मात्र होइन, विश्वमै लेखकको भविश्य अहिले संकटमा छ । सन् २०१८ मा अमेरिकामा भएको एउटा सर्वेक्षणले २००४ को तुलनामा साहित्यिक किताब पढ्ने पाठक संख्या ३० प्रतिशत घटेको देखाउँछ ।

एक अमेरिकीले साहित्यिक किताबका लागि औसतमा दैनिक सात मिनेट मात्र बिताउन थालेको त्यो सर्वेक्षणले बतायो । यस्तोमा पठन संस्कृति शिशु अवस्थामा रहेको नेपाल मारमा पर्नु स्वभाविकै हो ।

पछिल्लो चरणमा लेखक बन्नका लागि लेखिएका किताब धेरै आए । गुदी भएका किताब अत्यन्त कम आए । यस्तोमा पाठक बिच्किनु स्वाभाविकै हो ।

पुरस्कार पाइरहनुहुन्छ । मदन पुरस्कारको छेउछाउ रहनुभयो । पुरस्कार प्रेम कति छ तपाईंमा ?

पुरस्कारका सम्बन्धमा हाम्रो समाजमा तीन वर्ग देख्छु- पहिलो, लाजै नमानी पुरस्कार-सम्मान माग्दै हिँड्ने, जी-हजुरी गर्ने । दोस्रो, वर्गमा सबैखाले पुरस्कार बहिष्कार गर्ने । र, तेस्रो वर्ग छ, कसैले स-सम्मान पुरस्कार दिँदा ग्रहण गर्ने, तर नदिँदा पनि केही फरक नपर्ने । म यही तेस्रो वर्गमा पर्छु । पुरस्कार पाउँदा’नि ठीकै छ, नपाउँदा पनि ठीकै छ ।

तपाईको मनको पुस्तकालयमा बसेका किताबहरू के-के हुन् ?

पठनमा मान्छेका रुचि र छनौट बदलिँदै जान्छन् । मलाई १० वर्ष अगाडि उत्कृष्ट लागेको किताब अहिले उमेर र परिपक्वताले गर्दा औसत लाग्न सक्छ । अहिले मलाई मन परेका किताबको सूची भोलि नरहन सक्छ । मेरो मनको पुस्तकालयको भित्ताको रङ घरिघरि फेरिरहन्छ । त्यसैले यी भित्ताको रङबारे केही बोलिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment