Comments Add Comment

नेकपालाई कांग्रेस सांसदको प्रश्न : नेताहरुको देवत्वकरण त भइरहेको छैन ?

३ चैत, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र देवले सत्ताधारी पार्टीमा नेताहरुको देवत्वकरण त भइरहेको छैन भन्ने प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सांसद देवले व्यक्ति पूजा गर्ने प्रवृत्तिले देशलाई दुर्घटनातिर लैजाने बताए । भर्खरै परम्परावादी शक्ति राप्रपामा एकता भएको र आफूलाई आधुनिक भन्ने साझा पार्टीले संघीयता र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

राप्रपाहरुको एकता र साझा पार्टीको घोषणा संयोग मात्र हो वा कुनै राजनीतिक डिजाइन पनि छ भन्ने बुझ्नुपर्ने उनले बताए ।

कांग्रेस नेतासमेत रहेका उनले संविधान घोषणाको बेलादेखि नै केही शक्तिले विमति राखेको तर उनीहरु अग्रगामी शक्ति भएको भन्दै संविधान संशोधन गरेर उनीहरुलाई पनि साथमा लैजाने वातावरण बनाउन माग गरे ।

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भने पार्टीको जोडघटाउका लागि राष्ट्रपतिबाट मनोनित गर्ने राष्ट्रियसभा सदस्यको संख्या बढाउन संविधान संशोधन गर्ने बहस भइरहेको भन्दै सांसद देवले असन्तुष्टि जनाए ।

गणतन्त्र पक्षधर शक्तिहरुबीच न्यूनतम सहमति हुनुपर्ने भन्दै कांग्रेस सांसद देवले अघि भने, ‘हामी वामपन्थी आन्दोलनभित्र व्यक्तिपूजाको अवस्था त सिर्जना गरिरहेका छैनौं ? देवत्वकरण त गरिरहेका छैनौं ? यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ र देशलाई दुर्घटनामा लैजान्छ ।’

अहिले पनि जनताले खोजेको डेलिभरी नपाएको र चरम भ्रष्टाचार भइरहेको छ भन्ने स्थापित हुँदै गएको उनले अघि भने, ‘यो मुलकमा यदि कुनै प्रतिगमन भयो भने त्यो नक्कली राष्टवादको घोडा चढेर आउँछ । त्यो भ्रष्टाचारको घोडा चढेर आउँछ । त्यसैले यस विषय सरकार सत्ताधारी पार्टीको ध्यानाकर्षण गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment