Comments Add Comment

कोरोनाको कहर : उद्योगीले सहुलियत माग्दा वित्तीय क्षेत्रमा तनाव

३ चैत, काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिरहेको छ । यसले हर क्षेत्रमा असर गरिरहेको छ ।

नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि अर्थतन्त्रलाई प्रभावित पारिरहेको छ । अर्थतन्त्रका सबै क्षेत्र प्रभावित बनिरहँदा बैंकिङ क्षेत्र पनि आत्तिएको छ ।

आइतबार उद्योगी–व्यवसायीले वित्तीय संकट घोषणा गरेर सहुलियत दिन अर्थमन्त्रीसँग माग गरे । निजी क्षेत्रले बैंकहरुलाई किस्ता तिर्न नसक्ने अवस्था आउन लागेको अर्थमन्त्रीलाई बताउँदा बैंकिङ क्षेत्रमा खतराको घन्टी बजेको छ ।

उद्योगी–व्यवसायीले संकेत गरेझैं उद्योग, कलकारखाना चल्न नसक्ने र बैंकबाट लिएको कर्जाको ब्याज पनि तिर्न नसक्ने अवस्था आए बैंक तथा वित्तीय संस्थाहरु धराशायी हुने दिन आउँछ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल भने बैंकिङ क्षेत्रमा तत्कालै असर पर्ने सम्भावना नरहेको बताउँछन् ।

उद्योगी–व्यवसायीले भनेजसरी सहुलियत दिइहाल्नु पर्ने अवस्था पनि आइनसकेको बैंकरहरुको बुझाइ छ ।

उद्योगी–व्यवसायीले भनेजसरी सहुलियत दिइहाल्नु पर्ने अवस्था पनि आइनसकेको उनको बुझाइ छ । उनकाअनुसार, कोभिड–१९ को असर अहिले खासगरी पर्यटन क्षेत्रमा देखिएको छ । ‘एयरलाइन्स र होटलहरुले ग्राहक पाउन छाडेका छन्’ अध्यक्ष दाहाल भन्छन्, ‘सहुलियत दिइहाल्नलाई अहिले महाभूकम्पपछिको जस्तो अवस्था पनि छैन ।’

संघका पूर्वअध्यक्ष तथा नविल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह पनि अहिले नेपालमा कोभिड–१९ विरुद्व उच्च सतर्कता अपनाउँदा पुग्ने बताउँछन् । सतर्कताका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति बन्नुलाई राम्रो भन्दै उनले अर्थतन्त्र जोगाउन निजी क्षेत्र सम्मिलित अर्को समिति आवश्यक भएको बताए ।

‘अहिले सबैले भाइरस संक्रमणबाट कसरी जोगिने भनि सोचेर त्यसैअनुसार गर्ने हो, सहुलियतको कुरा पछिको हो’ शाहले भने, ‘कुनै क्षेत्र कोरोना प्रभावित भइहाल्यो भने त ब्याजमा सहुलियतले मात्र पनि नपुग्ने होला ।’

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद अधिकारी भने यस्तो बेला उद्योगी–व्यवसायीले राहत प्याकेजको कुरा उठाउनुलाई सामान्य मान्छन् । ‘पर्यटन बाहेकका क्षेत्रमा असर परिहालेको छैन’, उनी भन्छन्, ‘कोरोना नियन्त्रणमा आए पनि पछिसम्म रहने असर हेरेर राहत दिनुपर्छ, तर छुट होइन ।’ राहतको लागि कसैलाई मौका छोप्न भने दिन नहुने उनले बताए ।

राष्ट्र बैंक भन्छ– सहज हुने अपेक्षा छ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दा कोभिड– १९ ले मुलुकको अर्थतन्त्रमा ठूलो असर गर्ने बताइसकेको छ ।

यो आवको आर्थिक वृद्धिको मूख्य बाधक नै कोरोना हुने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्र पहिचान गरी सहुलियत दिनुपर्ने विषय पनि मौद्रिक नीतिमा उठान गर्दै भनेको छ– ‘त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनःकर्जा सुविधा र पुनःसंरचना तथा पुनः तालिकीकरणको व्यवस्थामा आवश्यकताअनुसार पुनरावलोकन गरिनेछ ।’

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट कति असर पर्ला र त्यसपछि अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा अध्ययन गरिरहेको बताउँछन् । अहिले नै ठूलो असर नपरिसकेको, बैंकिङ क्षेत्र डराइहाल्नुपर्ने अवस्था नरहेको र अवस्था चाँडै सहज हुन्छ भन्ने अपेक्षा रहेको उनले बताए ।

‘विशेष प्याकेजको विषयमा अध्ययन र छलफल भइरहेको छ’, उनले भने, ‘चीनमा सहज हुँदै गएकाले यहाँ पनि चाडै सहज होला भन्ने अपेक्षा छ ।’

डा. भट्टले भूइँचालो तथा नाकाबन्दीपछि राष्ट्र बैंकले प्याकेज ल्याएर अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै कोरोनाका कारण पनि भोलि असहज परिस्थिति सिर्जना भए केही गरिने बताए । भोलि कुन क्षेत्रमा कति असर पुग्यो भन्ने निर्क्योल गरेर त्यसअनुसार नीति लिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment