+
+
Shares

परीक्षणका लागि मेलम्चीको एक किलोमिटर सुरुङमा हालियो पानी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १६:५१

३ चैत, मेलम्ची । नेपालको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सीमित सुरुङ मार्गको परीक्षण थालिएको छ। खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो।

आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरुको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो। एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाइएको हो।

परीक्षणमा उक्त सुरुङ मार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताए। खत्रीकाअनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ।सुरुङ मार्गको निरीक्षणपछि बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले रोक्न नसक्ने बताइन्।

उनले भनिन्, ‘लामो प्रतीक्षा, अन्यौलता र पछिल्लो चरणमा हामीले गरेको मेहेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ। अब कुनै कारणले पनि आयोजना रोकिँदैन। तोकिएकै समयमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँछन्। अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडियो। तपाई सबैले पनि तोकिएकै समयमा काम सक्ने लक्ष्य राख्नुस्। तोकिएकै समयमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने मेरो पनि एक महत्वपूर्ण सपना छ।’

सीएमसी कम्पनिले मेलम्ची आयोजनाको काम छोडेपछि असोज महिनाको अन्ततिरबाट मेलम्ची खानेपानी आयोजनाको बाँकी निर्माण रहेका कामहरुको निर्माण शुरु भएपछि बितेका ५ महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ। यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङ मार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य सफल हुने देखिएको छ।

मुहानमा बन्ने हेडवक्र्स निर्माणका फिनिसिङको कार्य भने बर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य रहेको छ। मेलम्चीको पानी टनेलतर्फ फर्काउने यो मुख्य संरचनाको निर्माण कार्यको मुलूभत काम सम्पन्न भइसकेका कारण फिनिसिङको काम बाँकी रहँदाको अवस्थामा पनि कफरड्यामको माध्यमबाट बैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्य टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्ने आयोजनाको तत्कालको  प्रयास रहेको र यो काम निर्धारित समयभित्रै सम्पन्न हुने आयोजनाको विश्वास छ।

सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेशन साफ्टहरु, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ। यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रुपमा अघि बढिरहेको दावी सरकारको छ ।

मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

हेडवर्क्समा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। यी कामहरु पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ। आगामी जेष्ठ १५ सम्ममा यी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।

गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण छ। यो काम टनेल प्रवेशसँग सम्बन्धित रहेको एवं टनेल भित्रका निर्माण कार्य सञ्चालनसँग पनि समन्वयात्मक रुपमा अगाडी बढाउनुपर्ने भएकोले तदअनुरुप निर्माण कार्य भइरहेको छ। जेठ मसान्तसम्ममा गेट निर्माणका कामहरु सम्पन्न हुने आयोजनाको विश्वास छ।

भेन्टिलेसन साफ्टको निर्माण कार्य चुनौतीपूर्ण भएको र यसका वावजुद पनि विभिन्न प्रयासबाट हाल सिन्धु ग्यालथुम खण्डमा यसको निर्माण कार्य शुरु भएको छ एवम् असार १५ सम्ममा ३ वटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

स्काडा प्रविधि जडानको कामले गति लिएको छ। बाँकी रहेका निर्माण कार्यहरु केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा यो कार्य पनि सम्पन्न हुनेछ। साथसाथै सुन्दरीजल पोर्टलको कामले गति लिएको छ।

सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य रहेको र ततपश्चात पुरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको छ।

निर्माणको सिलसिलामा खण्ड खण्ड रुपमा परीक्षण गरी अन्त्यमा पुरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाई सम्पन्न गरिएको र यही चैत्र महिनाको शुरुमै यस खण्डको परीक्षण गरिने लक्ष्य रहेको आयोजना प्रमूख खत्रीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?