Comments Add Comment

कोरोनाको ‘जोखिम समूह’ कुन हो, उनीहरुलाई कसरी बचाउने ?

४ चैत, काठमाडौं । गत साता विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) एउटा महत्वपूर्ण सूचना जारी गर्दै भन्यो, ‘कोरोना भाइरसको कारण (कोभिड १९) पछिल्लो समय स्वास्थ्यकर्मी, अस्पताल र अतिआवश्यक उपकरणको विश्वव्यापी अभाव देखिने भएको छ ।’

संक्रमणको जोखिममा रहेका सबै देशलाई पूर्वतयारीको अन्तिम चरणमा जुट्न निर्देशन दिँदै डब्लुएचओले भनेको थियो, ‘संक्रमण फैलनु पहिला नै विशेष गरी जोखिम समूहमा रहेका मानिसहरुलाई व्यवस्थापन र क्वारेण्टाइनमा राखिसक्नुपर्छ ।’

डब्लुएचओको चेतावनी छ, ‘जोखिम समूहलाई पहिले नै व्यवस्थापन नगरे संक्रमण फैलिएमा मृत्युको सङ्ख्या अनुमान विपरीत हुन जान्छ ।’

चेतावनीसंगै डब्लुएचओको सुझाव थियो, ‘जोखिम समूहमा रहेका मानिसहरुलाई व्यवस्थापन गर्ने उपयुक्त उपाय भनेको होम क्वारेण्टाइन नै हो ।’

को हुन् त डब्लुएचओले भनेको जोखिम समूह ?

विश्व स्वास्थ्य संगठनले कोरोनालाई प्रत्यक्ष रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित भाइरस भनेको छ । अर्थात जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसलाई कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।

चिकित्सकका अनुसार मानिसको उमेर बढ्दै गएपछि शरीरका मुख्य अगंहरु मुटु, फोक्सो र पाचन प्रणालीको शक्ति कम हुँदै जान्छ । जसको कारण भाइरसले सजिलै आक्रमण गर्दछ ।

विश्व स्वास्थ्य संगठनले विशेष गरी ६० वर्षमाथिका र मुटु, फोक्सो र अन्य दीर्घरोगीहरुलाई कोरोनाको उच्च जोखिमको समुहमा राखेको छ । बालबालिका र गर्भवती महिला पनि जोखिम समुहभित्रै पर्छन् ।

यो उमेर समूहलाई जोखिमको समूहमा राख्नुको कारण यिनीहरुमा कोरोना संक्रमणको मृत्युदर बढी छ ।

पछिल्ला अनुसन्धानअनुसार ८० वर्ष माथिका १ सय जनालाई संक्रमण हुँदा १५ जनाको मृत्यु हुने सम्भावना हुन्छ ।

त्यसैगरी ६० देखि ७० वर्ष उमेर समूहको १०० जनालाई संक्रमण भयो भने ८ जनाको मृत्यु हुन सक्छ ।

४० देखि ५० वर्ष उमेर समूहका १०० जनामा ४  जना र २० देखि ३० वर्ष उमेर समूहका १०० जनामा एक जना भन्दा कम मृत्युको सम्भावना हुन्छ ।

२० भन्दा कम उमेर समूहमा कोरोना संक्रमण हुँदा मृत्युदर ०.१ प्रतिशत हुन्छ ।

अर्थात जति उमेर कम त्यति नै मृत्युको सम्भावना पनि घटेर जान्छ । ६० वर्ष भन्दा बढी र अन्य दीर्घरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या बोकेका मानिसहरु बढी सचेत हुनुपर्ने विभिन्न अनुसन्धानहरुको निष्कर्ष छ।

अर्को महत्वपूर्ण कुरा के छ भने १ सय ६५ भन्दा बढी देशमा संक्रमण फैलँदा १ लाख ७९ हजार मानिस संक्रमित भएका छन् भने ७ हजार १ सय २२ जनाको मृत्यु भएको छ। त्यसैगरी ६९ हजार ६ सय २४ जना संक्रमणपछि पनि निको भएका छन् । यसले के देखाउँछ भने कोरोनाको संक्रमण हुँदैमा मानिसको मृत्यु हुँदैन ।

जोखिम समूहलाई होम क्वारेण्टाइन 

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितका अनुसार जोखिम उमेर समूहका मानिस होम क्वारेण्टाइनमा बसेमा उनीहरु सम्भावित जोखिमबाट मुक्त हुन्छन् ।

किनकी, क्वारेण्टाइनमा बस्दा उनीहरु अन्य मानिसको सम्पर्कबाट टाढा रहन्छन् भने भीडभाड र बाहिरी वातावरणमा घुलमिल हुन पाउँदैनन् । जसको कारण उनीहरुसम्म कोरोना भाइरस पुग्ने सम्भावना न्यून हुन्छ ।

जोखिम समूहका बाहेक अन्य मानिसलाई संक्रमण भए पनि कोरोनासँग जुध्न सक्ने तागत हुने भएकाले उपलब्ध स्रोत र साधनले जोखिम समूहमा रहेका मानिसलाई पहिला बचाउनुपर्ने उनको तर्क छ ।

‘देशले तयारी पूरा नगरेको अवस्थामा जोखिम समूहका जनता आफैं सचेत भएर घरमै क्वारेण्टाइनमा बस्दा पनि संक्रमणको डर कम हुन्छ’ डा. दीक्षित भन्छन्, ‘यो बेला राज्यले ६० वर्षभन्दा माथि र श्वास प्रश्वास लगायतका अन्य गम्भीर दीर्घरोग भएका नागरिकहरुलाई पहिचान गरेर विशेष निगरानी र उपचार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment