Comments Add Comment

‘लकडाउनले डिफेन्स बलियो भयो, अब आक्रमण गरौं’

डिफेन्स बलियो बनाएर मात्र पुग्दैन, आक्रमण पनि चाहिन्छ : डब्ल्युएचओ

११ चैत, काठमाडौं । ‘हामीले के गर्छौं भन्ने महत्वपूर्ण छ । डिफेण्ड गरेर मात्र हामीले फुटबल खेल जित्न सक्दैनौं । हामीले राम्रोसँग आक्रमण पनि गर्न सक्नुपर्छ,’ ‘किकआउट कोरोना भाइरस’ अभियान सुरु गर्दा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख ट्रेडोस एड्सानोम गेहब्रेयससले भनेका छन् ।

उनले प्रष्ट शब्दमा भनेका छन्, ‘कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जे–जति काम भइरहेको छ, त्यो अपर्याप्त छ । अझ आक्रामक कदम चाल्नुपर्छ ।’

हुन पनि यो भाइरस ‘दिन दुगुना, रात चौगुना’ भन्दा पनि तीव्र गतिमा फैलिएको छ । ३१ डिसेम्बरमा चीनको बुहानमा पहिलो संक्रमित भेटिएको थियो । संक्रमितको संख्या एक लाख पुग्न ६७ दिन लाग्यो । तर, त्यसको ११ दिनपछि संक्रमित २ लाख नाध्यो भने यो संख्या तीन लाख पुग्न थप ४ दिन पर्याप्त भयो ।

उनले यो डरलाग्दो तस्वीर मात्र देखाएनन्, संक्रमितको उकोलो लाग्दो ग्राफमा ब्रेक लगाउने बाटो पनि देखाए । त्यो हो, टेष्ट एण्ड कन्ट्रयाक्ट ट्रेसिङ रणनीति ।

डब्लूएचओ प्रमुखको यति कुरा पढेपछि स्वभाविक प्रश्न उठ्छ, नेपालको तयारी पर्याप्त छ त ?

मंगलबार बिहान ६ बजेबाट मात्र सरकारले एक साता लामो लकडाउन लागू गरेको छ । सुरुमा संक्रमित ५ देशबाट आउनेहरुलाई अनअराइभल भिसा दिन बन्द गरेको सरकारले दोस्रो चरणमा ८ र त्यसपछि ६६ देश हुँदै सबै अन्तराष्ट्रिय उडान बन्द गर्‍यो । एसईई लगायतका सबै परीक्षा स्थगित गर्‍यो । देशभित्र लामो दुरीको यातायात बन्द मात्र गरेन, भारतीय सीमाबाट यात्रु आवागमनमा पनि रोक लगायो ।

तर, फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सोमबार साँझ लकडाउन घोषणा गर्‍यो । मंगलबार बिहानदेखि १८ गते बिहान ६ बजेपछि सबै नागरिक घरभित्र बस्नुपर्ने छ । अत्यावश्यक सेवासँग जोडिएका बाहेक अरु बाहिर निस्कन र सवारी चलाउन पाउने छैनन् । जनताले पनि यसको पालना गरे ।

यो सबै कोरोना भाइरस सकेसम्म नेपाल नभित्रिओस् । भित्रिहाल्यो भने पनि समुदायस्तरमा नफैलियोस् गरेर सरकारले चालेको कदम हो, जुन सकारात्मक छ । कतिपय निर्णय गर्न ढिला भएकै हो । तर, नेपालले लिएको बाटो सही नै देखिन्छ ।

तर, पर्याप्त भने छैन ।

किनकि, डब्लूएचओका प्रमुखकै भाषामा भन्दा डिफेण्ड गरेर मात्र फुटबल खेल जित्न सक्दैनौं । तर, मंगलबारबाट लागू भएको लकडाउनसँगै हाम्रो डिफेन्स बलियो भने बनाएकै छ ।

कोरोना पहिल्याउन भनिन्छ कि ‘म संक्रमित हुन सक्छु, अर्को व्यक्ति संक्रमित पनि हुन सक्छ भनेर शंका गरौं र दुरी कायम गरौं ।’ कोरोनाको फर्मुला अनुसार हालै संक्रमण पुष्टि भएकी युवती वा संक्रमण फैलिएको देशबाट आएका अमूक व्यक्तिमा संक्रमण छ । तर, परीक्षणमा आएको छैन भन्ने मान्ने हो भने पनि लकडाउनसँगै त्यो शंकास्पद संक्रमण समूहमा फैलिन पाएन ।

तर, यो डिफेन्सले मात्र कोरोनालाई परास्त गर्न सकिन्न । किनकि हामीले आक्रामक खेल खेलेनौं भने निश्चित समयपछि डिफेन्स थाक्छ र विपक्षीले गोल गर्नेछ ।

हाम्रो अहिलेको कमजोरी आक्रमण खेल अभाव हो । त्यो हो, टेष्ट एण्ड कन्ट्र्याक्ट ट्रेसिङ ।

फ्रान्सबाट दोहा हुँदै नेपाल आइपुगेकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएको ४८ घन्टा बितिसकेको छ । तर, अहिलेसम्म संक्रमित युवतीको परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा छाडिएको छ भने उनी चढेको विमानमा दोहाबाट काठमाडौं आएका १५८ जनासँग भर्खर सम्पर्क स्थापित गरिँदैछ ।

यदि टेष्ट एण्ड कन्ट्र्याक्ट ट्रेसिङमा आक्रमण रणनीति अपनाएको भए संक्रमितको परिवारका सदस्य मात्र होइन, विमानमा रहेका सबैको तत्काल पहिचान गरेर कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने र रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राखिन्थ्यो ।

यसरी परीक्षण गरिएका मध्ये कसैमा संक्रमण देखिए यसरी नै कन्ट्र्याक्ट ट्रेसिङ गरेर सबैलाई टेष्ट र क्वारेन्टाइनमा पठाइन्छ ।

चीनपछि कोरोना संक्रमण महामारीका रुपमा फैलिएको कोरिया र जापानले यही रणनीति अपनायो । त्यसैले इटली, स्पेन लगायतका देशमा महामारी फैलिएर दिनमा ४÷५ सय वा सो भन्दा बढी मानिसको मृत्यु हुँदा पनि कोरिया सम्हालिएको छ । त्यहाँ अहिले पनि एकदिनमा मृतकको संख्या दोहोरो अंकमा पुगेको छैन भने जम्मा ९ हजार संक्रमित हुँदा १२० जनाको मृत्यु भएको छ ।

जबकि त्यसपछि मात्र कोरोना फैलिएको इटलीमा ६ हजार, स्पेनमा करिव २७ सय र फ्रान्समा ८२० तथा बेलायतमा समेत ३३५ जनाको मृत्यु भइसकेको छ ।

तर, नेपालले न दक्षिण कोरियाले अपनाएको आक्रमण रणनीतिबाट पाठ सिक्यो, न युरोपका देशमा देखिएको महामारीबाट । दोस्रो व्यक्तिमा संक्रमण देखिसक्दा पनि राष्ट्रिय प्रयोगशालाबाट मात्र कोरोना संक्रमित भए नभएको टेष्ट गर्ने गरिएको छ र, अहिलेसम्म गरिएको परीक्षणको संख्या जम्मा ६ सय कटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment