Comments Add Comment

बारा र पर्सामा लकडाउन अवज्ञा गर्ने १८८ जना पक्राउ

१२ चैत, वीरगञ्ज । पर्सामा लकडाउनको उल्लंघन गरी घरबाहिर हिँडडुल गरिरहेका १७५ जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई सचेत गराई भोलिका दिनमा सरकारी आदेशको उल्लंघन नगर्ने शर्तमा छाडिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी लक डाउनको उल्लंघन गरी सञ्चालन गरिएका ३३ वटा मोटरसाइकल, ३ वटा गाडी, मिनी ट्रक र ट्याक्टर १ /१ वटा नियन्त्रणमा लिई राखिएको प्रहरीले जनाएको छ । ती सवारीका धनीलाई १/१ हजार जरिवाना गरी अब पुनः लकडाउन उल्लंघन नगर्ने शर्तमा छोडिने प्रशासनले जनाएको छ ।

अनावश्यक काममा पनि लकडाउन उल्लंघन गरी सवारी साधन चलाउने क्रम बढेपछि प्रशासनले जरीवाना पनि बढी लिन निर्देशन दिएको छ । मंगलबार ५ सय रुपैयाँ जरीवाना लिएपनि बुधबार १ हजार जरिवाना लिएर मात्रै छोड्न प्रशासनले निर्देशन दिएको छ ।

पहिलो दिनको तुलनामा दोस्रो दिन लक डाउन प्रभावकारी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘स्वास्थ्य, औषधी, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, बैंक, दूरसञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेका सवारी साधनहरु चले । अन्य साधनहरु खासै चलेनन्,’ बस्नेतले भने, ‘पहिलो दिनको तुलनामा दोस्रो दिन नागरिकको सहयोग राम्रो मिलेको हामीले ठानेका छौं ।’

कन्टेनरमा आएका ५२ जना क्वारेन्टाइनमा

नेपाल कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणको उच्च जोखिममा छ । तसर्थ रोगको संक्रमण फैलन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गते बसेको बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी त्यसको रोकथाम र निर्मूल गर्न एक साता लकडाउन गर्ने निर्णय गरेको थियो । चैत ११ गते बिहान ६ बजेदेखि २०७६ चैत्र १८ गते बिहान ६ बजेसम्म नेपालभर लकडाउन गरिएको हो ।

लकडाउन घोषणा भएको अवस्थामा ५२ यात्री सहित काठमाण्डौंबाट ना.५ ख ९५५२ नम्बरको कन्टेनर वीरगञ्ज आएको थियो ।

यो पनि पढ्नुहोस कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ

कन्टेनरमा लुकेर आएका यात्रीहरुलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य चेकजाँच गरिरहेको प्रशासनले जनाएको छ । स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमै राख्ने वा होम क्वारेन्टाइनमा बस्ने गरी आफन्तको जिम्मा लगाइने भन्ने सम्बन्धमा निर्णय गरिने सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

बिहान ५ बजे घण्टाघर नजिकबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरमा चालक सहित ४९ जना पुरुष, १ जना महिला र ३ जना बालबालिका गरी ५३ जना रहेको उनले बताए ।

चालकलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ ।

बारामा १३ जना पक्राउ

बारामा लकडाउनको अवज्ञा गर्ने १३ जना पक्राउ परेका छन् । अवज्ञा गरी चलाइएका १ सय १९ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ ५ बजेसम्म जिल्लाका विभिन्न स्थानबाट १ सय १६ ओटा मोटरसाइकल, एक/एक वटा अटो, ट्याक्टर र  जिपसहित नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

लकडाउनको अवज्ञा गरी हिँडडुल गर्ने १३ जना र अवज्ञा गरी चलाइएका ११९ वटा सवारी साधन नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

‘नेपाल सरकारको निर्णय तथा जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी भएको निषेधाज्ञा आदेशलाई अवज्ञा तथा उल्लंघन गर्ने १३ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरुलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाइएको छ ।’

लकडाउनको पहिलो दिन मंगलबार प्रहरीले २ सय ५ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment