News Summary
Generated by OK AI. Editorially reviewed.- अधिकारकर्मी रुबी खान १८ दिनदेखि बाँकेमा निर्मला कुर्मी मुद्दा लगायत न्याय माग्दै आमरण अनशनमा छिन्।
- प्रहरीले वैशाख १५ गते धर्ना बसेका महिला अधिकारकर्मीलाई जबर्जस्ती उठाएर हिरासतमा राखेको थियो।
- रुबीले ९ बुँदे माग राख्दै न्यायका लागि आन्दोलन गरिरहेकी छन् र उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।
१ जेठ, काठमाडौं । १८ दिनदेखि अधिकारकर्मी रुबी खान आमरण अनशनमा छिन् । निर्मला कुर्मीलगायत विभिन्न महिला हिंसाका मुद्दामा न्याय माग्दै शान्तिपूर्ण धर्नामा बसेका उनीसहित अन्य अधिकारकर्मीलाई जिल्ला प्रशासन बाँकेको कार्यालय अगाडिबाटै प्रहरीले जबर्जस्ती उठाएर हिरासतमा राखेको भन्दै उनले हिरासतमै वैशाख १५ गतेदेखि आमरण अनसन सुरु गरेकी हुन् ।
महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष सकिना साहका अनुसार, महिला अधिकारकर्मीहरू वैशाख १२ गतेदेखि प्रत्येक दिन दिउँसो ३ देखि ५ बजेसम्म जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बस्दै आएका थिए । उनले १५ गते प्रहरीले ब्यानर खोसेर धर्ना नबस्न भन्दै नियन्त्रणमा लिएर हिरासतमा लगेको सुनाइन् ।
उनीहरूविरुद्ध सोही दिन पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीमा उल्लेख छ, ‘तपाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’
तर, आफूहरुले त्यसरी शान्तिमा खलल पुर्याउने काम नगरेको दाबी गरिन् । ‘हामीले हुलदंगा लगाएका थिएनौँ, शान्तिपूर्वक बसिरहेका थियौँ,’ साहले भनिन्, ‘तर, शान्तिसुरक्षा भंग गरेको भनी झुटा मुद्दा लगाइयो ।’
रुबीलाई पक्राउ पुर्जी जारी भएको विषयमा सामाजिक सञ्जालमा पनि सरकारको आलोचना भइरहेको छ । पूर्वपत्रकारसमेत रहेका वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले सरकारलाई प्रश्न गरेका छन् ।
उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै संसद्लाई नसुन्ने र सडकलाई पनि थुन्ने भन्दै रुबी पक्राउको विरोध गरेका छन् ।
‘नागरिक अधिकारकर्मी रूबी खानलाई पक्राउ पुर्जी । सार्वजनिक शान्तिविरुद्धको कसुर भयो रे । प्रहरी अनुसन्धानको माग गर्दै वर्षौंदेखि संघर्षरत नेपालगन्जकी यी अधिकारकर्मीलाई पक्राउ गरेर के न्यायको माग बन्द हुन्छ ?,’ उनले फेसबुकमार्फत प्रश्न गरेका छन्, ‘संसद्लाई नसुन्ने, अनि के अब सडकलाई पनि थुन्ने ?’
अनशनरत खानको स्वास्थ्य अवस्था बिग्रिँदो छ । हामीसँग फोन सम्पर्कमा आएकी खानले पनि अनसनले गर्दा आफ्नो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइन् ।
सकिना साहका अनुसार यही विषयलाई लिएर आन्दोलनमा रुबीसहित महिलाहरू उत्रिएको छैठौं पटक हो भने आमरण अनसन चौथो हो । यसअघिका आन्दोलनपछि सरकारले पटक-पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेपछि रुबीले यसपटक पनि आमरण अनसनको बाटो रोजेकी हुन् ।
कसरी सुरु भयो आन्दोलन ?
रुबीको आन्दोलनको जरो निर्मला कुर्मीको मुद्दाबाट सुरु हुन्छ । बाँकेमा निर्मला कुर्मीमाथि भएको ज्यादती र हत्याको मुद्दा वर्षौँदेखि अलपत्र छ । महिला अधिकार मञ्चले यो मुद्दा अदालतसम्म पुर्याउनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आएको छ ।
मञ्चकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष सकिना साहका अनुसार चुनावलगत्तै यो मुद्दा अदालत लैजाने भनेर सीडीओ, जिल्लाका प्रहरी प्रमुखलगायतले सहमति गरेका थिए ।
‘त्यसअघि पनि पाँच पटकसम्म सरकारले वार्ता गर्यो , पाँच पटक नै छल्यो । बरु योसँगै अन्य मुद्दाहरू थपिँदै गएका छन्,’ उनको गुनासो छ ।
कुर्मीको मुद्दा अझै अनिर्णीत रहेको भन्दै आन्दोलन गरिरहँदा बाँकेमा अर्को घटना भयो- गुडिया कहार नामकी महिलाको हत्या । यस घटनामा पीडीत पक्षले परिवारकै सदस्यविरुद्ध कर्तव्य ज्यानको मुद्दाका लागि निवेदन दिए । तर, प्रशासनले उक्त मुद्दालाई आत्महत्या दुरुत्साहन भनेको उनीहरूको आरोप छ ।
‘हाम्रो अर्को माग पनि छ । स्थानीय शिक्षक नारायण शर्माले एक १२–१३ वर्षकी बालिकालाई बाख्राको विषयमा झगडा पारेर अभद्र व्यवहार गरे, शौचालयमा थुन्ने धम्की दिए,’ साहको दाबी छ, ‘त्यसपछि बालिकाका दाजुहरू शिक्षकको घर गएपछि कुटपिट भयो र एकतर्फी रूपमा मुद्दा दर्ता गराइयो । यो अन्याय हो ।’
यी सबै मुद्दा बोकेर महिला अधिकार मञ्चले ९ बुँदे मागसहित वैशाख १२ गतेदेखि सीडीओ कार्यालय, बाँके अगाडि धर्ना सुरु गरेको थियो । यसकै लागि हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म अधिकारकर्मीहरू ब्यानर बोकेर बस्थे ।
आन्दोलनरत पक्षका अनुसार, वैशाख १५ गते पनि अधिकारकर्मीहरू सीडीओ कार्यालय अगाडि ब्यानर बोकेर बसिरहेका थिए । प्रहरी आयो र ब्यानरहरू खोसेर लग्यो । धर्ना बन्द गर्न भनियो ।
रुबी गते हिरासत १७ गते राति ९ बजे महिला अधिकार मञ्जको जिम्मामा उनलाई छाडियो । लगत्तै उनलाई सञ्जीवनी मेडिकल कलेजमा राखियो । अस्पतालको शय्यामै उनले अनशनलाई जारी राखेकी छन् ।
प्रहरीले समातेको दिनदेखि नै अनशन सुरु गर्नुभयो, आज १८ दिन बित्यो,’ साहले भनिन्, ‘धेरै दिन भयो । अहिले त स्वास्थ्य पनि खराब हुँदै गइरहको छ ।’
यी हुन् रुबी खानले उठाइरहेको ९ बुँदे माग
– निर्मला कुर्मीको मुद्दामा गृह मन्त्रालयले पठाएको अनुसन्धान टिम पूर्ण गरी निर्मला कुर्मीको मुद्दा तत्काल सम्मानित अदालतमा पुर्याइयोस् ।
– गुडिया कहार हत्या मुद्दामा पिडितबाट थप ३ जना बिरुद्ध पुरक जाहेरी लिई निश्पक्ष अनुसन्धान गरी मुद्दा सम्मानित अदालत पुर्याइयोस् ।
– नाबालक दिपेश चमार केसमा पिडितबाट थप ३ जना उपर पुरक जाहेरी लिई निश्पक्ष अनुसन्धान गरी मुद्दा सम्मानित अदालत पुर्याइयोस् ।
– पीडाले छटपटिदै गरेको दिपेश चमारको तत्काल उपचार नगरी संजिवनी मेडिकल कलेजमा रेफर गर्दा बाटो मै मृत्यु भएकोले तत्कालिन डिउटीमा रहेका डाक्टरलाई कारबाही गरियोस् ।
– शिक्षक नारायण शर्माद्वारा नाबालिक बालिका तथा महिलालाई अभद्र ब्यवहारमा कडा कारबाही गरियोस् ।
– व्यक्ति बेपत्ताको जाहेरी करिब २ महिनामा दर्ता भएको तर मान्छे समातिएन । तत्काल कारबाही गरियोस् ।
– जलाएर मारिएकी महिला सृजना बुढा मगरबारे एसपी अंगुर जिसीद्वारा आपत्ति जनक शब्द प्रयोग गरी मरणोपरान्त चरित्र हत्या गरिएकोमा सार्वजनिक रुपमा उक्त आपत्ती जनक शब्द फिर्ता लिइयोस् ।
– महिलाको मानव अधिकारका लागी शान्तिपुर्ण रुपमा आन्दोलन गर्ने महिला अधिकारकर्मीलाई बलजफती हिरासतमा लिई शान्तिपुर्ण न्यायको आवाजलाई दबाउने झुठा मुद्दा चलाउने तथा न्यायिक आन्दोलनमा प्रहरी दमन गरी आन्दोलन बन्द गर्न दुस्साहस गर्ने बाँके जिल्लाका एसपी अंगुर जिसीलाई कडा कारबाही गरियोस् । र अधिकारकर्मीलाई हिरासतमा लिई गाडीमा तथा जिल्ला प्रहरी कार्यालय भित्र हप्कीदप्की गरी अभद्र ब्यवहार गर्ने डर त्रास देखाउनमा संग्लग्न प्रहरी र अधिकृतलाई तत्काल कारबाही गरियोस् ।
– महिला अधिकारकर्मीहरुलाई अब उप्रान्त कुनै पनि झुठा मुद्दामा नफसाउने गरी जीउज्यानको सुरक्षाको ग्यारेन्टी गरियोस् ।
प्रतिक्रिया 4