Comments Add Comment

कोरोना भाइरसको संक्रमण रोक्ने ५ उत्तम उपाय

१२ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ ।

यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त ? यहाँ भाइरस रोक्ने केही तरिका उल्लेख गरिएको छ –

१. परीक्षण

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यो महामारी रोक्ने दिशामा सबैभन्दा प्रमुख कुरा यसको परीक्षण हो ।विशेषज्ञहरु यो भाइरसको परीक्षणलाई भाइरस रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भएको बताउँछन् ।

अमेरिकाको टेम्पल यूनिभर्सिटीका क्रायस जोन्सन विश्वभर जहाँ यो भाइरसको परीक्षणमा बढी जोड दिइएको थियो, त्यहाँ नयाँ संक्रमणमा पनि कमी देखिएको बताउँछन् । क्रायसका अनुसार दक्षिण कोरियाले प्रतिदिन अमेरिकाले एक महिनामा गर्नेभन्दा धेरै कोरोना संक्रमणको परीक्षण गर्छ । जसको कारण कोरियामा भाइरसको नयाँ संक्रमण रोकिएको छ । त्यसको ठीक विपरीत अमेरिकामा बढ्दो क्रममा छ ।

डब्ल्यूएचओका महानिर्देशक एडोनोम गेब्रेयुसले सबै मुलुकलाई परीक्षण, परीक्षण र परीक्षण गर्नको लागि सुझाव दिएका थिए । धेरै मुलुकमा गम्भीर लक्षण देखिएपछि मात्र परीक्षण गरिन्छ । त्यसैले ती मुलुकमा कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा बढिरहेको छ ।

२. संक्रमितलाई एकान्तमा राख्नु

क्रायस जोन्सन भन्छन्, ‘बिरामीको पहिचान, परीक्षण र उनीहरुलाई एकान्तमा राख्ने दिशामा दक्षिण कोरिया र चीनले निकै राम्रो काम गरेका छन् ।’

उनका अनुसार परीक्षणबाट नै उनीहरुलाई एकान्तवासमा पठाउन सहयोग पुग्छ । चीन, ताइवान, सिंगापुर र हङकङले पनि यही प्रक्रियालाई अपनाएका छन् । जसले भाइरसको प्रकोप पनि यी मुलुकमा कम देखिएको छ ।

३. तयारी र तत्काल कारवाही

जोन्स हप्किन्स यूनिभर्सिटीका महामारी रोगको विशेषज्ञ टलवर्ट नेन्सवाह कुनै पनि भाइरसलाई रोक्ने प्रभावकारी तरिका संक्रमण फैलिनुभन्दा पहिला नै त्यसलाई रोक्न कदम चाल्नु हो ।

उनी भन्छन्, ‘ताइवान र सिंगापुरजस्ता मुलुकले नयाँ संक्रमणको पहिचान गरे र उनीहरुलाई छुट्टाछुट्टै राख्ने निर्णय गरे । यो भाइरस नियन्त्रणको लागि निर्णायक कदम साबित भयो ।’

विशेष गरी यी मुलुकको तयारी राम्रो भएको कारण भाइरस नियन्त्रणमा आएको हो । ताइवानमा यस्ता महामारीबाट पार पाउन सन् २००३ मा नै कमाण्ड सेन्टर स्थापना गरिएको थियो । यो सेन्टरको स्थापना सार्स भाइरसको समयमा गरिएको थियो र यसले धेरैपटक भाइरस कसरी रोक्ने भन्ने विषयमा अभ्यास पनि गरेको थियो ।

नेन्सवाहका अनुसार अमेरिका र युरोपमा शुरुवाती चरणमा तयार नहुनु नै अहिले महामारी फैलिनुको मुख्य कारण हो ।

जनवरीको मध्यमा यो भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने कुरा पत्ता लागेको थियो । त्यतिबेलासम्म ताइवानले मुलुकमा प्रवेश गर्ने सबै मानिसमा परीक्षणको काम शुरु गरिसकेको थियो ।

४. सामाजिक दूरी

नेन्सवाहका अनुसार मुलुकमा यो भाइरसको संक्रमण प्रवेश गरिसकेको छ भने त्यसलाई रोक्ने कुनै पनि उपाय छैन । यस्तोमा यो समस्याबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका सामाजिक दूरी कायम राख्नु नै हो ।

हङकङमा जनवरी महिनामा नै घरबाट काम गर्ने, सबै विद्यालय बन्द गर्ने र सबै किसिमको आयोजनामा रोक लगाइएको थियो । सिंगापुरले विद्यालय बन्द गरेको त थिएन, तर विद्यार्थी र शिक्षा क्षेत्रका कर्मचारीको नियमित परीक्षणको व्यवस्था मिलाएको थियो ।

५. सफाइप्रति सचेत बनाउनु

डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमण रोक्ने दिशामा नियमित रुपमा हात धुन र स्वच्छतामा रहन निकै आवश्यक रहेको बताएको छ ।

नेन्सवाहका अनुसार धेरै मुलुकले सन् २००३ को सार्स संकटबाट सिकेर कोभिड–१९ नियन्त्रणमा सजगता अपनाएका हुन् । सिंगापुर, हङकङ र ताइवानमा ‘एन्टि ब्याक्टेरियल जेल’ छन् ।

जहाँबाट मानिसले आफैंलाई स्यानिटाइज गर्न सक्छन् । यसका साथै यी मुलुकमा मास्क लगाउने चलन पनि छ । यो संक्रमण रोक्ने एकमात्र तरिका होइन तर खोक्दा र हाच्छ्यूँ गर्दा हावामा फैलिनसक्ने भाइरसलाई भने रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment