Comments Add Comment

पोखराको कोरोना अस्पताल : सरकारको गफैमात्र !

प्रदेश सरकार भन्छ- प्रक्रियामै छौं, डाक्टर भन्छन्- संक्रमित आए भाग्नुको विकल्प छैन

१३ चैत, पोखरा । लेखनाथ तालचोकदेखि बेगनास ताल जाने सडकको बीचतिर पुगेपछि आइपुग्छ, मोहोरिया भन्ने ठाउँ । मोहोरिया पुगेपछि सडकको वाँयापट्टी देखिन्छ, एउटा रातो ३ तले भवन । जहाँ लेखिएको छ- लेखनाथ सामुदायिक लायन्स अस्पताल ।

अस्पताल आसपासमा केही घर छन् । अस्पताल प्रांगण सुनसान छ । अस्पतालको च्यानल गेटबाहिर २ जना महिला मास्क लगाएर बसेका छन् । च्यानल गेटमै छन्, एकजना पाले दाइ । भित्र एप्रोन लगाएका केही नर्स छन् ।

अन्य अस्पतालमा जस्तै यो अस्पतालमा पनि इमर्जेन्सीबाहेक सबै सेवा बन्द छ । इमर्जेन्सीबाहेक सबै सेवा बन्द भएको जानकारीसहित सामान्य स्वास्थ्य समस्या परे घरमै उपचार गर्न आग्रहसहित गेटैनेर सूचना टाँसिएको छ ।

अस्पतालमा कोही आइहाले गेटपालेले काम, ठेगाना सोध्छन् । अस्पातलबारे उनलाई धेरै थाहा छैन । एकजना नर्स आइन्, उनले पनि अस्पतालबारे केही थाहा नभएको सुनाइन् । ‘हामी त यतिबेला आउने-जानेमात्र हो । अस्पतालमा केही छैन, के हुँदैछ भन्ने पनि थाहा छैन,’ उनले जवाफ दिइन् ।

उनैले अस्पताल व्यवस्थापन समितिका अध्यक्षको नम्बर उपलब्ध गराइन् । अध्यक्ष रमानाथ पौडेलसँग फोन सम्पर्क भएपछि केहीबेरमा अस्पताल प्राङणमै आउने भए । उनी नआउँदासम्म अस्पतालकै अवस्थामा बुझ्ने काम भयो ।

यो त्यही अस्पताल हो, जहाँ गण्डकी प्रदेश सरकारले कोरोना विशेष उपचार अस्पताल बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरे पनि अस्पताल पुग्दा अहिलेसम्म न त्यो छनक देखियो, न विशेष अस्पतालसम्बन्धी जानकारी नै ।

सुनसान अस्पतालका स्वास्थ्यकर्मीले विशेष अस्पताल बन्ने भन्नेबारेसम्म सुनेका छन् । तर, कहिलेबाट हुन्छ भन्ने केही थाहा छैन । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको चैत १० गतेको बैठकले लेखनाथ सामुदायिक अस्पताललाई ६० बेडको कोरोना विशेष अस्पताल बनाउने बनाउने निर्णय सुनाएको थियो ।

त्योभन्दा अगाडि नै प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले सो अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने सुनाएका थिए ।

सरकारको गफैमात्र, फिल्डमा शून्य

अस्पतालमा तयार गरिएका बेडहरु ।

सरकारले लकडाउन हुनुभन्दा पहिलेदेखि नै तयार भइसकेको बताएको अस्पताल पुग्दा न पूर्वाधार थियो न कुनै तयारी । केहीबेरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष आइपुगेपछि गण्डकी प्रदेश सरकारको कति फतलो र कमजोर तयारी रहेछ भन्ने छताछुल्ल भयो ।

अध्यक्ष रमानाथ पौडेलले गण्डकी प्रदेश सरकारले बनाउने भनेको विशेष अस्पतालमा एक, दुई पटक निरीक्षण गर्नेबाहेक कुनै तयारी नै नभएको बताए । ‘सरकारले डेडिकेटेड अस्पताल बनाउने प्रस्ताव गर्‍यो । हामीले स्थानीयसहित छलफल पनि गर्‍यौं । विपतका बेला सरकारलाई दिनुपर्छ भनेर सहमति गर्‍यौं,’ अध्यक्ष पौडेलले भने, ‘अस्पाताल व्यवस्थापनलाई अहिले पनि कर्मचारीको तलब सुविधा र खर्च धान्नै सकस छ । यस्तो अवस्थामा सरकारकै खर्चमा विशेष अस्पताल बनाउन कुरा भएको हो ।’

अस्पातलमा अहिले सामान्य बिरामी आए पनि उपचार गर्न पनि उपकरण र सामाग्री अभाव छ । महायज्ञ गरी २ करोड रुपैयाँमा निर्माण भई यो समुदायले चलाएको अस्पताल हो । यो अस्पताल विभिन्न दाताको सहयोगमार्फत चलिरहेका कारण पनि स्रोत र साधनको अभाव रहेको उनले सुनाए ।

सरकारले विशेष अस्पताल बनाउने भने पनि कुनै पनि इक्युपमेन्ट छैन भने आइसोलेसन बेड तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणको तयारीसमेत छैन । १० वटा आइसीयु बेड बनाउने, सबै बेडमा भेन्टिलेटर तयार गर्ने, अक्सिजनको प्रवन्ध गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि तयारी अवस्थामा छैन । आइसोलेसनका लागि बेडहरु तयारी अवस्था छैनन् ।

‘न कुनै उपकरण छ न कुनै पूर्वाधार निर्माणको तयारी छ । हचुवाको भरमा कोरोना विशेष अस्पताल तयारी अवस्थामा छ भनेर मैले पनि मिडियामा थाहा पाएँ तर अस्पतालको हालत देखिहाल्नुभयो,’ अस्पतालका अध्यक्ष पौडेलले भने, ‘१५ बेडको स्वीकृति लिएको अस्पतालमा ६० बेडसम्म राख्न सकिने क्षमतामा छ । तर, सरकारले मिडियामा बोलिरहेको छ तर बास्तबिकता त्यस्तो छैन ।’

सम्बन्धित अस्पातालमा कुनै तयारी नगरी सरकारले गफमात्र लगाउने काम गरेको अध्यक्ष पौडेलले बताए ।

शङ्कास्पद आए भाग्नुको विकल्प छैन : डाक्टर

अस्पतालमा एकजना मेडिकल सुपरिटेन्डेन्ट, ४ जना मेडिकल अफिसर र नर्ससहित ४० जना स्वास्थ्य कर्मचारी छन् । कर्मचारी पनि आलोपालो काम गरिरहेका छन् । बिहीबार बिहान अस्पातालमा डाक्टर कविता पाठक मात्र भेटिइन् । उनी त्यहाँकी मेडिकल अफिसर हुन् ।

सरकारले कोरोना विशेष अस्पताल बनाउने हल्ला सुनेको पाठकले बताइन् । पाठककै भानाइ अनुसार अहिले कुनै शङ्कास्पद बिरामी आए चिकित्सकहरु भाग्नुको बिकल्प छैन । ‘प्रोटेक्सनका नाममा सामान्य मास्क र ग्लोबमात्र छ । इक्युपमेन्ट, उपकरण केही छैन । त्यस्तोमा कसरी काम गर्ने हो भनेर घरबाट पनि फोन आइरहन्छ,’ पाठकले भनिन्, ‘कोही शङ्कास्पद मान्छे आए भाग्नुबाहेक अर्को विकल्प छैन ।’

अस्पतालमा ३/४ जना मेडिकल अफिसर रहेको र आलोपालो काम गरिरहेको उनले सुनाइन् । ‘उपकरण र पिपिई भए काम गर्न समस्या छैन । काम गर्नकै लागि पढेको हो,’ पाठकले भनिन्, ‘तर, सुरक्षा त हुनुपर्‍यो ।’

अझै प्रक्रियामै छ सरकार

सबै प्रदेशले कोरोना विशेष अस्पताल बनाएर कोरोबिरुछ लड्न तम्तयार अवस्थामा रहे पनि गण्डकी प्रदेश भने अझै पनि प्रक्रियामै छ । सरकारले सबैको सुझावअनुसार लेखनाथ सामुदायिकलाई डेडिकेटेड अस्पताल बनाउने घोषणा गरे पनि पूर्व तयारी गर्न सकेन ।

तयारी पूरा गर्न नसकेकै कारण गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाटै गरेको निर्णयबाट पनि पछि हट्नुपर्ने अवस्थामा पुगेको छ । ‘सबैजनाको सुझाव लिएर लेखनाथको लायन्स सामुदायिक अस्पताल बनाउन मन्त्रिपरिषदले निर्णय गर्‍यो ।

मन्त्रिपरिषदले निर्णय गरिसकेपछि बल्ल प्राविधिक टोलीसहित अध्ययन र निरीक्षणमा गर्‍यो । त्यहाँ पूर्वाधार तयार नै छैन,’ बुधबारको मन्त्रिपरिषदको बैठकले गठन गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिका संयोजक अर्थमन्त्री किरण गुरुङले भने ।

समितिले अध्ययन गर्दा सरकारले निर्णय गरिसकेको भए पनि अब त्यो ठाउँमा पूर्वाधार तयार पार्ने स्थिति नरहेकाले विकल्पको खोजी गरेको अर्थमन्त्री गुरुङले बताए । ‘अब त्यहाँ गर्न सकिँदैछ भनेर एउटा सरकारी र एउटा निजी अस्पताललाई डेडिकेटेट बनाउनुपर्छ भनेर प्रक्रियामा लागेका छौं । घोषणा गर्ने तयारीमा छौं,’ गुरुङले भने । मास्कसमेत नपाएको अवस्थामा अब त्यो अस्पतालमा पूर्वाधार निर्माण गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

उनले सबै मापदण्ड पूरा गरेर पोखरामा भएमध्येका अस्पताल हेरेर बल्ल घोषणा गर्ने बताए । सरकारको तयारी माथि नै नागरिकले प्रश्न चिहृन उठाइरहेका बेला गण्डकी प्रदेशमा भने अझै कोरोना विशेष अस्पतालाको टुंगो लागिसकेको छैन ।

सुरु-सुरुमा धेरै कुरामा भ्रम सिर्जना भएको गुरुङको भनाइ छ । धेरै कुरा सिस्टम नबुझेर सुरुमा निर्णय गर्नेमात्र भएको तर, अब छिट्टै भइरहेको अस्पतालबाट निर्णय हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment