Comments Add Comment

ज्याला मजदुरी गरेर जीवन चलाउनेलाई काठेखोलाको राहत

१३ चैत, काठमाडौं । काठेखोला गाउँपालिका बागलुङले दैनिक ज्याला मजदुरीमा जीवन धान्ने घर परिवारलाई राहत वितरण सुरु गरेको छ ।

सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी चलाउन धौधौ हुने भएकाले गाउँपालिकाले आफ्नो वडाका त्यस्ता नागरिकलाई बुधबारबाट राहत वितरण सुरु गरेको हो ।

बुधबार मात्र वडानम्मबर २ का १३ घर परिवारलाई गाउँपालिकाकाका अध्यक्ष अमर थापाले राहत वितरण गरेका हुन् । उनले प्रत्येक परिवारलाई एक बोरा चामल, तीन किलो दाल र नुन वितरण गरेका हुन् ।

गाउँपालिकाले पहिलो चरणमा वडानम्बर २ बाट सुरु गरेको राहत वितरण ८ वटै वडामा पुर्‍याउने गाउँपालिकाका प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए ।

गाउँपालिकाका १७० भन्दा बढी घरधुरी दैनिक ज्याला मजदुरीमा जीवन चलाउने पहिचान गरेको र ती सबैसमक्ष राहत पुर्‍याउने अधिकृत विश्वकर्माले जानकारी दिए ।

निःशुल्क एम्बुलेन्स सेवा सुरु

बिहीबारबाट गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । रेडक्रस उपशाखा विहुले सञ्चालन गर्दैै आएको एम्बुलेन्सलाई गाउँपालिकाले आफ्नो स्वामित्वमा लिएर गाउँपालिकाभित्रका बिरामी नागरिकलाई अस्पतालसम्म पुर्‍याउने व्यवस्था सुरु गरेको हो ।

‘यो लकडाउन अवधिभर गाउँपालिकाकै खर्चमा चालक र इन्धनको व्यवस्था गरी एम्बुलेन्स सञ्चालन गर्नेछौं,’ अधिकृत विश्वकर्माले भने, ‘यसको माध्ययमबाट ज्वरो, रुघाखोकी लागेका र अन्य बिरामीलाई निःशुल्क रुपमा अस्पतालसम्सम ओहोरदोहोर गरउनेछौँ ।’

वाडानम्बर ४ ले विदेशबाट आएका बिरामीलाई राख्नको लागि क्वारेन्टाइनको निर्माण गरिसकेको छ । गाउँपालिकाले होम क्वारोन्टाइनमा बस्न आग्रह गर्दै माइकिन पनि सुरु गरेको छ ।

स्थानीय स्वास्थ्यकर्मी जोखिममा

मास्क, ग्लोब र एप्रोनसमेत नहुँदा स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी जोखिममा परेका छन् । गाउँका बिरामी पहिलो चारणमा स्वास्थ्य चौकीमा जाने तर, स्वास्थ्यकर्मीसँग सुरक्षाको लागि कुनै पनि साधन नहुँदा उनीहरु उच्च जोखिममा रहेका हुन् । स्वास्थ्यकर्मीसँग टाढैबाट ज्वरो नाप्ने थर्मल गनसमेत उपलब्ध छैन ।

‘हामीले १५/१५ वटा मास्क, एक एक वटा सेनिटाइजर र आठ/आठवटा साबुन उपलब्ध गराएका हौं र अत्यावश्यक औषधि उपलब्ध गरायौं’, अधिकृत विश्वकर्माले भने, ‘हामीले मास्क, सेनिटाइजर, थर्मल गन खोज्दा पाउँदै पाएनौँ । बरु स्थानीय कपडालाई मास्कका रुपमा प्रयोग गर्न भनेका छौँ ।’

काठेखोला गाउँपालिकामा सातवटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment