
१३ चैत, बुटवल । कोरोना संक्रमणको त्रास बढ्दै जान थालेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरी १५ शैय्याकोे क्वारेन्टाइन बनाउने भएको छ ।
धकधइमा रहेको रामनरेश आदर्श माध्यमिक विद्यालयमा हाललाई १५ शैय्याको क्वारेन्टाइन बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लैजाने गाउँपालिकाको बैठकले निर्णय गरेको छ ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले कोभिड-१९को रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइनका आवश्यकता भएको बताए ।
‘रोहिणी गाउँपालिकामा पनि धेरै जना बैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो ब्यक्तिको निगरानी बढाईएका छौं,’ उनले भने ।
कोरोना संक्रमित एक युवती चढेकै हवाइजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले उनलाई विशेष निगरानीमा राखिएको यादवले बताए ।
रोहिणी गाउँपालिका वडानम्बर २ बस्ने मेराज अहदमको अहिले भीम अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनलाई सोही क्वारेन्टाइनमा राखिने भएको छ ।
गाउँपालिका अध्यक्ष यादवले बिदेशबाट आएका व्यक्ति तथा संक्रमितको आशंका गरिएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको बताए ।
सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने वा अन्य शङ्कास्पद व्यक्तिलाई सम्बन्धित वडा, संघ संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मिको समन्वयमा गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने छ ।
यसको लागि अत्यावश्यक औषधिलगायत, प्रतिकार्य सामग्रीको व्यवस्थाको लागि गाउँपालिकाले प्रयास गरिरहेको छ ।
कोरोना भाइरसको संक्रमित भए आफूलाई मात्र नभइ आफ्नो परिवार हुँदै समाजलाई नै असर पार्ने हुँदा बाहिरबाट आएका व्यक्तिहरु सेल्फ क्वारेन्टाइन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाइनमा बस्न यादवको अनुरोध छ ।
यस्तै गाउँपालिकाले विदेशी मुलुक तथा भारतबाट आएकाहरुको ब्यक्तिहरुको व्यक्तिगत विवरणसमेत संकलन गर्ने जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले यस्ता व्यक्तिहरुको विवरण संकलनको लागि स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको बताए ।
प्रतिक्रिया 4