Comments Add Comment

चितवनका स्वास्थ्य संस्थामा छैन पीपीई र भीटीएम

१५ चैत, चितवन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएकाहरुलाई ‘आफ्नै अस्पतालमा राखेर उपचार गर्नू’ भनेर निजी स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको डेढ हप्ता हुनलाग्यो ।

तर, स्वास्थ्यकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्रीहरु अझैंसम्म पर्याप्त पठाउन सकेको छैन । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध नहुँदा उपचारका संलग्न स्वास्थ्यकर्मीहरु बिरामीको नजिक जान समेत डराउने गरेका छन् ।

निजी मात्र होइन, चितवनका सरकारी स्वास्थ्यसंस्थाहरुमा समेत पीपीई लगायतका सुरक्षा सामाग्रीहरु छैनन् ।

भरतपुर अस्पतालमा अहिलेसम्म १४ सेट पीपीई पठाएको छ । त्यसमध्ये १० वटा स्वास्थ्य मन्त्रालय र चार वटा प्रदेश सरकारले दिएको हो । पीपीई पुनः प्रयोग गर्न मिल्दैन । त्यसैले अस्पतालका एक चिकित्सक १४ सेट पीपीई आउनुलाई घिउ सुँघेर गुन्द्रकसँग भात खानु जस्तै भएको बताउँछन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पताल आफैंले १७५ सेट पीपीई किनेको जानकारी दिए । उनले भने, स्वास्थ्यकर्मीको सुरक्षा त गर्नुप¥यो, माथि पनि मागेका छौं, आउला भन्ने आशा छ ।’ एकपटक प्रयोग गरिसकेको पीपीई पुनः प्रयोग नगर्ने भएकाले जोगाएर खर्च गर्ने गरिएको मेसु डा. तिवारीले बताए । पीपीई धेरै खर्च नहोस् भनेर ज्वरो क्लिनिक लगायतका स्थानमा कम चिकित्सक र स्वास्थ्यकर्मीलाई खटाउने गरिएको छ ।

डा. तिवारीकाअनुसार अमेरिका नेपाल मेडिकल फाउण्डेशनले १० वटा पीपीई र २० थान एन ९५ मास्क दिने भनेको छ । कोरोना अस्पताल भरतपुरमार्फत् भरतपुर महानगरपालिकाले ५० वटा एन ९५ मास्क उपलब्ध गराएको छ । ‘निकै दुःख पूर्वक सुरक्षा सामाग्रीहरु जुटाइरहेको छौं, चीनबाट आएपछि पाइन्छ कि भन्ने आशा छ’ मेसु डा. तिवारीले बताए । भरतपुर अस्पतालमा अहिलेसम्म १७ जना बिरामीले आइसोलेसनमा बसेर सेवा लिएका छन् ।

यस्तै, भरतपुर कोरोना विशेष अस्पताललाई केन्द्र सरकारले एउटा पनि पीपीई दिएको छैन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, भरतपुर महानगरपालिका र विभिन्न दातृ संस्थाहरुको सहयोगमा पाँच सय ८० थान पीपीई जुटाइएको अस्पतालका प्रवक्ता एवं सदस्य सचिव डा. भोजराज अधिकारीले जानकारी दिए । भरतपुर महानगर प्रमुख रेनु दाहालकाअनुसार केन्द्र सरकारले चाँडै पीपीई लगायतका सुरक्षा सामाग्रीहरु दिने वचन दिएको छ ।

सरकारी अस्पतालको जस्तै अवस्था छ निजी अस्पतालको पनि । जिल्लाका निजी अस्पताल तथा मेडिकल कलेजहरुले सुरक्षा सामाग्री नपाएको गुनासो गरेका छन् ।

सरकारले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न भनेपनि त्यहाँ बस्ने स्वास्थ्यकर्मीहरुलाई एन ९५ मास्क र पीपीई दिन नसकिएको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले बताए । यही गुनासो छ चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेको पनि ।

‘सरकारले निजी र सरकारीमा भेदभाव गर्छ, हाम्रोमा पनि बिरामीहरु आउँछन् । उनीहरुको उपचार गर्न पीपीई लगायतका सुरक्षा सामाग्री दिनुप¥यो नि’ डा. न्यौपाने भन्छन् ।

स्वाब लैजाने भीटीएम पनि छैन

भरतपुरमा रहेको स्वास्थ्य संस्थाले कोरोना संक्रमणको आशंका गरिएका बिरामीको स्वाब काठमाडौं पठाउने गरेका छन् । तर, अस्पतालहरुमा स्वाब संकलन गरेर राख्ने र लैजाने भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) को समेत अभाव छ ।

सरकारले भिटिएम कम पठाउँदा एकैपटक धेरै जनाको स्वाब संकलन गर्न मुस्किल हुने गरेको चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालमा भएका भिटिएम सबै जसो प्रयोग भइसकेको छ भने नयाँ आएको छैन । भरतपुर कोरोना विशेष अस्पतालमा भने भिटिएम थोरै बचेको छ । अरु अस्पतालमा पनि त्यस्तै अभाव छ ।

भरतपुरमा संकलन गरिएको स्वाब सडकमार्ग भएर काठमाडौंमा पठाउन थालिएको छ । लकडाउनका कारणले जहाज नचल्दा सडकबाट पठाउन थालिएको हो, जसले गर्दा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्न नै समय लाग्ने गरेको छ ।

यसले बिरामीहरु लामो समय अस्पतालमै राख्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment