Comments Add Comment
चीनबाट नेपाली विद्यार्थीको सन्देश :

‘म नेपाल फर्किनँ, बेइजिङमै दुई महिनादेखि सेल्फ क्वारेन्टाइनमा छु’

म २०१९ सेप्टेम्बर १ तारिखका दिन बेइजिङमा विधावारिधि पढ्न आइपुगेकी थिएँ । दुई महिनायता यहीँ सेल्फ क्वारेन्टाइनमा समय बिताइरहेकी छु । यो वर्ष चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चार्ड जनवरी २५ मा परेको थियो । वसन्त चार्ड र जाडो बिदाको एक महिनाभन्दा बढी छुट्टी थियो । साथीहरु आ-आफ्नो देश फर्किए ।

म भने कोरिया घुम्न जाने सोच बनाएर भिसाका लागि कोरियन दुतावास जाँदा थाहा भयो, नेपाली विद्यार्थीहरू चीनबाट कोरिया घुम्न जाँदा दुई वर्षभन्दा बढी चीनमा बसेको हुनुपर्ने रहेछ ।

त्यसपछि म यहीँ बेइजिङमै पढेर बस्ने कि नेपाल फर्कने दोधारमा थिएँ । त्यही समयमा एकजना चिनियाँ शिक्षिकाले फोन मार्फत् वसन्त चार्ड उहाँको घरमा गएर मनाउने र छुट्टी समयभरी उहाँकै घरमा बस्न आग्रह गरे ।

मैले पनि सहर्ष स्वीकार गरें । जनवरी १५ मा हामी बेइजिङबाट उहाँको घर सान्सी प्रान्तको पाव ची शहरमा गयौँ । त्यसको केही दिनपछि कोरोना भाइरसको समाचार आयो । सुरुमा मलेरिया, डेंगु जस्तै त होला भन्ने लागेको थियो । तर, दिनदिनै भाइरसका बिरामी र मर्नेको संख्या हृवात्तै बढ्दै गयो । प्रत्येक दिन विभिन्न प्रान्तमा यो रोग देखिन थाल्यो ।

चीन सरकारले सूचना जारी गरेर सचेत रहन आग्रह गरेको गर्‍यै थियो । विदेशी विद्यार्थी विभागबाट पनि के गर्ने के नगर्ने भन्ने सूचना वी च्याट, क्यू क्यू जस्ता सामाजिक सञ्जालमा पठाएर धेरै पटक सचेत गराइएको थियो ।

योसँगै मनमा डर पैदा भयो । एकजना दाइ पनि हुनुहुन्थ्यो उहाँ जनवरी २५ तारिखमा सिआन शहर घुम्ने अनि भोलिपल्ट बेइजिङ फर्कने योजनामा हुनुहुन्थ्यो । २३ तारिखमा, शिक्षिकाले दाइसँगै सिआन घुम्न जाने भए घुमेर आऊ भन्नुभयो । त्यही मौका पारेर म पनि उहाँसँगै बेइजिङ फर्कन्छु भनेर शिक्षिकासँग आग्रह गरें ।

किनकी, मलाई डर थियो कि कथंकदाचित भाइरसले बिरामी भइहालियो भने के गर्ने ? पहिला त शिक्षिका मानिरहनुभएको थिएन । दाइले भाइरसका कारण ऊ डराइरहेकी छ भनेपछि बेइजिङमा बिरामी भइयो भने विश्वविद्यालयका गुरुहरुले हेर्नुहुन्छ, नेपाली दूतावास पनि बेइजिङमै छ जाउ न त भन्नुभयो ।

त्यो बेलासम्म कोरोनाको उद्गमस्थल वुहान बन्द भइसकेको थियो । अरु प्रान्तमा मान्छेको आवत-जावत, भीडभाड कम हुँदैथियो । सिआनको वातावरण र अवस्था हेरेर घुम्ने गरी २५ तारिखमा पाव ची शहरबाट हामी सिआन शहर गयौं ।

एक त मौसम धुम्म थियो, अर्को कोरोनाको त्रासले घुम्ने खालको वातावरण थिएन । साँझपख सार्वजनिक बगैंचा (पार्क) तिर घुम्न निस्कियौं । अरु समयमा साँझतिर पार्कमा मान्छेको भीड हुन्थ्यो । तर, त्यो दिन मानिसहरु निकै कम थिए । सबैले मास्कले मुख छोपेको देख्दा मनमा त्यहीँबाट कारोना सर्ने हो कि भन्ने लाग्यो ।

भोलिपल्ट बेलुकी ८ः५५ मा सिआनबाट बेइजिङकोे उडान थियो २ घण्टा ढिलो भयो । कतिपय उडान रद्द भइसकेका थिए, धन्न ढिला भए पनि बेइजिङ उडान भने भयो ।

अहिले म लगायत केही विदेशी विद्यार्थीलाई होटेलमा राखिएको छ । बाहिर ननिस्नु भनेकाले केही दिन पुग्ने सामान किन्न नजिकैको पसलमा गएँ । पसलमा सामान पहिलेको जस्तो भरिभराउ थिएन । भाइरसका बिरामीको संख्या बढेको देख्दा र चाइनाको जनसंख्या हेर्दा मलाई लाग्यो, साँच्चै भाइरसले गर्दा भोकमरी नै निम्त्याउँछ कि क्या हो ।

भनिन्छ नि, मानिस डर र त्रासपूर्ण जीवन बिताइरहेको छ । मेरो पनि कोरोना भाइरसले मनमा डर पैदा गरायो । एक मनमा नेपाल जाउँ कि भन्ने लागिरहेको थियो । तर, मलाई विश्वास पनि लागेको थियो चाइनाले चाँडै समाधान गर्छ भनेर । वरिपरिको वातावरण शून्य भइसकेको थियो ।

जनवरी २७ तारिखदेखि म कोठाभित्रै थुनिएर बसिरहेकी छु । यो दिनदेखि आजसम्म सधैंजसो मेरो खुवाईबसाई तथा गृहकार्य एउटै भइरहेको छ । मैले प्रायः चाउचाउ, बिस्कुट र फलफूल खाँदै दिन बिताइरहेकी छु । किनकि, होटेल अर्थात् मेरो होस्टेलमा आफैंले खाना पकाएर खाने किचेनको व्यवस्था छैन ।

यहाँ आफूलाई चाहिने सामग्री फलफूल, सब्जी, रेडिमेट खानेकुरा अनलाइनबाट मगाउन सकिन्छ । त्यसैले कहिलेकाहीँ आफैंले तातो पारेर (ट्राभलमा जाँदा बोक्ने) खाने खाना सेट अनलाइनबाट मगाउने गरेकी छु । कोरोना उग्र भएको समयमा हप्ता/दश दिनमा आइपुग्थ्यो । तर, अहिले २/३ दिनमै आइपुग्छ ।

केही प्रान्तमा पूर्णरुपमा भाइरस नियन्त्रणमा आए पनि बेइजिङमा भने अझै पनि पूर्ण रुपमा नियन्त्रण भइसकेको छैन । त्यसैले केही क्यान्टिन त निरन्तर खुला भएपनि त्यहाँ जान मन लाग्दैन ।

धेरै बिस्कुट, चाउचाउ खान स्वास्थ्यका लागि राम्रो होइन । तर, बाध्यतावश मेरो मुख्य खाना यही भइरहेको छ । केही सामान लिन म पसलमा गइरहनु पर्दैन आफूलाई चाहिने सबै सामान अनलाइनबाट मगाउने गरेकी छु । सामान ल्याउनेले सामान लिएर गेटको पालेलाई दिन्छ । पालेले भाइरस मार्ने स्प्रे हानेपछि मात्र कोठामा ल्याउन पाइन्छ । सामान लिएपछि खोलेर राख्छु अनि डिटोल पानीले हात धुन्छु ।

कोठामा बसिराख्दा पनि म छिनछिनमा सेनिटाइजर लगाइरहन्छु, डिटोलले हात धुने, बेला-बेलामा अनुहार धुने गरिरहन्छु । यहाँको सरकार, विश्वविद्यालय, डाक्टरले भनेको कुरालाई पालना गर्दै आएकी छु ।

कोठामा थुनिएपछि कसैसँग भेटघाट बोलचाल नहुने, आफन्त साथीभाइसँग सामाजिक सञ्जालमा कुरा एकदम कम हुन्थ्यो । दिनका दिन कोरोनाको संख्या बढिरहेको समाचार सुन्नुपर्दा निकै डर, तनाव बढेको थियो । सुरु-सुरुमा किताब पढ्ने, टीभी हेर्ने, फिल्म हेर्ने गर्थें त्यसैले त्यस्तो केही भएन । तर, यसरी एक्लै कोठामा थुनिँदा, लामो समय एउटै खालको क्रियाकलाप गरिरहँदा दिमाग धुम्म हुने, पढेको कुरा बिर्सने, छट्पटी हुने, निद्रा नलाग्ने हुँदाहुँदै बिस्तारै डिप्रेशनको लक्षण पनि देखिएला जस्तो हुन थाल्यो ।

त्यसपछि डिप्रेशन नहोस् भनेर दिनमा के-कस्ता क्रियाकलाप गर्ने भन्ने लिस्ट तयार गरेँ । झ्याल खोलेर बस्ने, शारीरिक व्यायाम गर्ने, चित्र कोर्ने, साथीहरुलाई फोन गर्ने, आफ्नो पाठ्यक्रमको किताबभन्दा पनि अन्य आफूलाई पढ्न मन लागेको किताब पढ्ने, आधिकारिक स्रोत भएको समाचार मात्र पढ्ने ⁄ हेर्ने ⁄ सुन्ने, केही पढ्नुपर्दा ठूलो आवाज निकालेर पढ्ने, टीभीमा आफूलाई रुचि लागेको कार्यक्रम हेर्ने, गीत सुन्ने गाउने गर्न थालेपछि त्यस्तो केही भएन ।

यहाँ हामी विद्यार्थीलाई अझै एक अर्कासँग भेट्न अनुमति दिएको छैन । कोठामा म एक्लै बोल्ने साथी नहुँदा कहिलेकाहीँ न्यास्रो लाग्छ । दिनदिनै कोठा सफा गर्न होटेलको स्टाफ आउँछन् म भने उनीहरूलाई जर्बजस्ती आफैंले बोलाउँछु । हामी हाँस्छौँ बोल्छौँ । आजकल मेरो दिनदिनै बोल्ने साथी बनेका छन्, उनीहरु ।

यहीँबाट मलाई यो अनुभव भयो कि हामी यस्तो संकटको समयमा नआत्तिकन आफूलाई रुचि लागेको कार्य गर्ने, पानी धेरै पिउने, अनलाइनबाट अरूसँग कुरा गरिरहने गर्यौं भने मानसिक स्वास्थ्यमा खासै असर पर्दैन । हाम्रो स्वास्थ्यलाई तन्दुरूस्त राख्न प्रयास गर्ने पहिलो डाक्टर नै हामी स्वयं हौँ । जनवरी २९ तारिखदेखि अहिलेसम्म बिहान बेलुकी शारीरिक तापक्रम जाँच्न होटलका कर्मचारी आउने, स्वास्थ्य के-कसो छ सोध्ने अनि हामी विदेशी विद्यार्थीलाई कस्तो छ भनी विश्वविद्यालयबाट सोधपुछ गर्न आउने, फलफूल दिने, मास्क दिने हुँदा पनि मन शान्त हुँदै आयो । तर, जबदेखि तापक्रम जाँच्न सुरु गर्‍यो त्यो दिनदेखि अहिलेसम्म मलाई एउटै डरले सताइरहेको छ कि रुघाखोकी लाग्यो भने पनि अस्पताल पुग्नुपर्ने हो कि ? त्यसैले रुघाखोकीसम्म पनि नलागोस् भनेर गुलियो कम खाने, तातो पानी धेरै पिउने, तातो सुप पिउने गरेको छु ।

कोरोना आतंक बढ्दै गएपछि विश्वविद्यालयले विदेशी विद्यार्थीलाई आफ्नो देश फर्कने वा चीनमै बस्ने विकल्प दिएको थियो । त्यो बेलासम्म कतिपय देशमा हवाई उडान बन्द भइसकेको थियो । त्यसैले केही विद्यार्थी भने उनीहरुको देश फर्कन पाएनन् । मलाई पनि देश फर्कन मन लागेको थियो । भाइरस कसरी अर्को व्यक्तिमा सर्छ थाहै नहुने र कोरोना भाइरस लागेको १४ दिन पश्चात् मात्र देखिने भएकोले नेपाल फर्कदैँ गर्दा भीडभाडमा कोरोना बिरामीबाट मलाई सर्‍यो भने नेपालमा पक्कै फैलन्छ ।

नेपालमा कोरोनाका बिरामी भए के गर्ने भन्ने सरकारको केही तयारी गरेको अवस्था थिएन । फेरि यो एकदम छिटो फैलन्छ र नेपालीहरुकाे बिजोक हुन्छ, नेपालमा कोरोना नछिरोस् नफैलियोस् भन्ने लागेर  म यतै बसेँ ।

आफन्त, साथीहरुले नेपाल फर्कन सुझाव दिए । तर, मैले भन्थेँ कि कोरोनाको कारणले मरेँ भने यहीँ मर्छु । तर, मेरो कारणले अरु नेपालीलाई कोरोना नलागोस् ।

अहिले बेइजिङमा कोरोना भाइरस पूर्णरुपमा निको नभए पनि निकै कम भइसकेको छ त्यसैले म विश्वविद्यालयको गार्डेनमा गएर घुम्ने, बस्ने गर्न थालेको छु । तर, कोठा बाहिर निस्कँदा भने मास्क अनिवार्य छ । यहाँको वरिपरिको वातावरण हेर्दा खुशी लाग्छ । फाट्टफुट्ट मान्छेको आवत जावत, सबैतिर फूल फुलेको निकै रमाइलो वातावरण छ अहिले यहाँ ।

तर, हामी विद्यार्थीलाई विद्यालय प्राङ्गणभन्दा बाहिर जाने अनुमति छैन । हामी बाहिर निस्किएको एक घण्टाभित्र कोठा फर्किसक्नुपर्छ । विश्वविद्यालयले कोरोना भाइरस महामारी सुरु भएदेखि अहिलेसम्म त्यही नियम लागू गरिरहेको छ । सूचना जारी गरेर सचेत गराइरहेको छ । विश्वविद्यालय कहिले खुल्ने हो, अझै निश्चित छैन ।

दु:खको कुरा, चीनमा कोरोना नियन्त्रणमा आएपनि अहिले विश्वको अन्य देशमा विशेषगरी युरोप अमेरिकामा भयावह रूप लिँदै गइरहेको छ । सबै देशले आ-आफ्नो तरिकाले नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । नेपालमा पनि कोरोना संक्रमण सुरु भएको छ । त्यसैले नेपालमा हुनुहुने सम्पूर्ण जनताले नआत्तिकन बस्ने, जस्तो पायो त्यस्तो समाचारको तथा सामाजिक सञ्जालमा पोष्टिएको सूचनाको विश्वास नगर्ने, सरकारले भनेको कुरालाई पालना गर्ने, आधिकारिक सञ्चार माध्यमको मात्र समाचार पढ्ने गर्नुहोला ।

योबेला पहिलो प्राथमिकता भनेको जतिसक्दो आफूलाई सुरक्षित राख्ने र अरूलाई पनि सुरक्षित बनाउने हो । यस्तो संकटको बेला आफैँ सचेत बन्नुपर्छ । सर्वसाधारण जनताले यति गर्न सक्नु नै सभ्य नागरिकको पहिचान दिनु हो । सरकारलाई सहयोग गरेर देशलाई संकटमुक्त बनाउनु हामी नागरिकको दायित्व हो ।

(ज्ञानुमाया राई बेइजिङमा विधावारिधि गरिरहेकी नेपाली विद्यार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment