Comments Add Comment

संकटका बेला महत्वपूर्ण देशहरू राजदूतविहीन

१६ चैत, काठमाण्डौ । १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्‍यो । त्यतिबेला चीन, जापान, दक्षिण कोरियालगायत एसियाली देशहरु कोरोना (कोभिड–१९) भाइरसबाट आक्रान्त थिए ।

यतिबेला तीनवटै देश कोरोना नियन्त्रण उन्मुख छ । चीनले युरोप, अमेरिकालाई कोरोना रोकथाममा सघाइरहेको छ । मानवीय संशाधनदेखि कोरोना नियन्त्रणका लागि आवश्यक सामग्रीको केन्द्रविन्दु चीन नै बनेको छ ।

कुन देशलाई प्राथमिकतामा राख्ने, कसलाई कसरी, के-के सहयोग गर्ने भन्ने कुरा बेइजिङमा हुने कूटनीतिक छलफलले तय गरिरहेको छ । तर, यस्तो संकटको घडीमा नेपाली दूतावास भने नेतृत्वविहीन छ ।

त्यसो त नेपाललाई कोरोना नियन्त्रणमा सहयोग गर्नसक्ने अर्को दक्षिण कोरिया पनि लामो समयदेखि राजदूतविहीन छ । जापानमा राजदूत छन् । तर, अहिले बिदामा नेपालमै आएर बसेकी छन् ।

राजदुत प्रतिभा राणा नेपाल फर्किएपछि टोकियोस्थित नेपाली दूतावास पनि रानो बिनाको माहुरी बनेको छ ।

कमाण्डर बिनाका सेना

गैरआवासीय नेपाली संघ (एनआरएनए), दक्षिण कोरियाले ‘एक व्यक्ति एक किट्स’ अभियान चलाएको छ । एनआरएनए, कोरियाका उपाध्यक्ष यदु गौतम संयोजक रहेको ‘एक व्यक्ति एक किट’ अभियानले एक करोड चालिस लाख रुपैयाँभन्दा बढी संकलन पनि गरिसकेको छ ।

‘करोडमाथि कोही कोहीले गिद्दे नजर लगाउन सुरु गरिसकेको’ एनआरएनए, दक्षिण कोरियामा चर्चा हुन थालिसकेको छ । अभियानका एक पदाधिकारी दूतावाससँग संयोजन हुन नसक्दा सहयोगीहरूले आफूहरूमाथि शंका गर्न थालेको बताउँछन् ।

‘यस्तो विपद्मा बेला साँच्चै आफ्नो देशको राजदूत भए हुन्थ्यो भन्ने लाग्दो रहेछ’ उनी भन्छन् ‘दक्षिण कोरियाका नेपालीहरू रानो नभएको माहुरी जस्तै भएका छौं ।’

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत संकट र अप्ठ्यारोमा कुनै पनि देशमा राजदूत खाली राख्न नहुने बताउँछन् । समयमा उचित सन्देश आदान प्रदान गर्न र देशको प्रतिनिधित्वका लागि राजदूत अनिवार्य हुने उनको भनाई छ ।

‘सरकार-सरकारबीच समन्वय गराउने राजदूत नै नहुनु भनेको कमाण्डर बिनाको सेना भने जस्तै हो’, डा. महत भन्छन् ।

अनलाइन सम्पर्कमा छु : राजदूत राणा

जापानका लागि नेपाली राजदूत प्रतिभा राणा आफू नेपालमा रहेपनि जापानमा अनलाइनमार्फत् नियमित सम्पर्क गरिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो दूतावास पनि खुलेकै छ, सौभाग्यवश अहिलेसम्म जापानमा नेपालीहरूमा कोरोना संक्रमण देखिएको छैन ।’

समर ओलम्पिकको तयारीमा लागेको जापान कोरोनाको झड्कापछि सहयोग गर्ने अवस्था नरहेको हुनसक्ने राणाको भनाई छ । आफू लकडाउन र जापानले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएका कारण आफू जापान फर्कन नसकेको उनले जानकारी दिइन् ।

राजदूत राणाले अनलाइनखबरसँग भनिन्, ‘कोरोना महामारीका बेला कार्यक्षेत्रमा नहुँदा म पनि चिन्तित छु, अन्तराष्ट्रिय उडान खुले लगत्तै जान्छु ।’

‘कार्यबाहक भनेको कार्यबाहक नै हो’

राजदूत नहुँदा कार्यबाहकले दूतावास सञ्चालन नगर्ने होइन । तर, कार्यबाहकले दैनिक प्रशासनिक काम मात्रै हेर्नसक्ने जानकारहरू बताउँछन् ।

अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. शंकर शर्मा कूटनीतिक क्षेत्रमा प्रोटोकलको अर्थ हुने भएको राजदूतले गर्ने काम कार्यबाहकले गर्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘राजदूतले ज-जसलाई भेटेर छलफल गर्नसक्छ, कार्यबाहकलाई त्यो तहको पहुँच हुँदैन ।’

कोरोना कहरका कारण कतिपय देशले विकासशील देशका लागि सहयोगको सूची नै तयार पारेर बसेका छन् । तर, त्यसका लागि पनि राजदूतमार्फत् नै पहल हुनुपर्ने डा. शर्मा बताउँछन् ।

‘राजदूत भनेको कुनै बेला एकदिन खाली नराख्न नहुने पद हो, संकटका बेला त झनै हुँदैन’ उनी भन्छन्, ‘यो महामारीको असर के अनिश्चित छ, यस्तो बेलामा सरकारले सबै देशमा सकेसम्म छिटो राजदूत पठाउने व्यवस्था गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment