रोग गम्भीर हुँदैमा महामारी फैलिन्छ भन्ने हुँदैन । त्यस्तैगरी, महामारी फैलिन रोग अत्यन्तै जटिल वा गम्भीर प्रवृत्तिको हुनुपर्छ भन्ने पनि हुँदैन भन्ने कुरा कोरोनाबाट उत्पन्न अहिलेको महामारीले पुष्टि गरेको छ ।
मानव इतिहासमा अहिले सामान्य लाग्ने थुप्रै रोगहरुले महामारीको रुप धारण गरेको उदाहरण छ भने कतिपय सरुवा रोगले सीमित मानिसलाई वितण्डा मचाएर अलप पनि हुन्छन् । तसर्थ, कुनैपनि महामारीको सुरुवाती समयमा रोगको प्रकार र तत्कालीन आर्थिक सामाजिक परिवेशको उत्तिकै महत्व हुन्छ ।
उदाहरणका लागि, फ्लुको कारण हुने मृत्युदर ०.१५ छ । अर्थात्, प्रत्येक एक हजार संक्रमितमा एकको मृत्यु हुनेगर्छ । तर, इबोलाको संक्रमणबाट हुने मृत्युदर ४०५ देखि ९०५ सम्म रहेको तथ्यांकले देखाएको छ । अर्थात् एक हजार जना संक्रमितमध्ये चार सयदेखि नौ सयसम्मको मृत्यु हुन सक्छ । यी दुबैको केवल मृत्युदरलाई मात्र हेर्ने हो भने यसमा आकाश जमिनको फरक देख्न सकिन्छ । तर, २०१८–२०१९ को एकवर्षमा संयुक्त राज्य अमेरिकामा मात्रै झण्डै ३५ हजारदेखि ५० हजार मानिसले फ्लुका कारण ज्यान गुमाए ।
सन् २०१४–२०१६ सम्म अफ्रिकामा फैलिएको इबोलाको महामारीमा जम्मा ११ हजारको मृत्यु भएको थियो । तसर्थ, कुनै विषयको विश्लेषण गर्नुपूर्व त्यससँग सम्बन्धित समग्र पक्षलाई हेरेर मात्रै विश्लेषण गर्नुपर्छ । अन्यथा, एक तथ्यांकलाई मात्रै आधार बनाएर गरिने विश्लेषणले नेपालीमा रहेको एउटा उखान ‘आँखा देख्न नसक्नेलाई हात्ती छाम्न लगाएको’ जस्तो मात्रै हुन्छ ।
कुनैपनि महामारीको विकास हुन रोगको प्रकार, मृत्युदर, सर्ने माध्यम, भौगोलिक विस्तुार, उपचार पद्धति, सम्भाव्य संक्रमण क्षेत्रमा स्वास्थ्य सेवाको स्थिति, कुनै एक समयमा संक्रमितको चाप, कुनैकुनै रोगमा जनसंख्याको जैविक–लैंगिक–उमेर समूह, वातावरण–मौसमी प्रकोप, लगायत विषयहरु समेत उत्तिकै महत्वपूर्ण हुन्छन् । समग्र पक्षको मूल्यांकन नगरी कुनै एक पक्षलाई महत्व दिएर मात्रै महामारी नियन्त्रण गर्न खोज्ने हो भने ती प्रयासहरु खेर जाने मात्रै नभएर ठूलो संख्यामा जनधनको समेत क्षति हुनसक्छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिरहेको सार्स–२ कोरोना भाइरसको उपचार तथा निदान नभएको हुनाले संक्रमण हुनबाट जोगाउनु नै सबैभन्दा प्रमुख विकल्प हो । यो भाइरसको संक्रमणले महामारीको रुप लिन्छ भन्नेमा कुनै शंका नै रहेन । अझ नेपालको परिवेशमा यो रोगले महामारीको रुप लिनसक्ने आधारहरु पर्याप्त छन् । हाम्रो स्वास्थ्य सेवाको उपलब्धता, क्षमता तथा समग्र स्वास्थ्य चेतना पनि अत्यन्तै न्यून छ । संसारका विकशित देशमा कमै मात्रामा देखिने झाडापखाला जस्ता रोगबाट समेत बेला बेलामा ठूलो धनजनको क्षति भोग्ने हाम्रो नियती नै नेपालको वर्तमान स्वास्थ्य सेवाको वस्तुस्थिति उजागर गर्न काफी छ ।
अहिलेको अवस्थामा हामीहरुको पहिलो प्राथमिकता भनेको रोगलाई देश, क्षेत्र र बस्तीमा छिर्न नै नदिनु हो । तर, छिरेको खण्डमा दोश्रो कदम भनेको कन्ट्याक ट्रेसिङ्गको माध्यमबाट यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ । यसले महामारीको रुप लिनुभन्दा पहिले नै सामाजिक दुरी, आइसोलेशन, क्वारेन्टाइनको माध्यम समेत अपनाउन सकिन्छ ।
जब त्यो उपाएले समेत काम गर्दैन, त्यसपछि आइसोलेसन, क्वारेन्टाइनका साथ–साथै उपचारका विभिन्न उपायहरु समेत अवलम्बन गर्नुपर्ने हुन्छ । साथसाथै स्वास्थ्य चेतना फैलाउने, सुरक्षित व्यवहार गर्ने, स्वास्थ्यकर्र्मीको संख्या बढाउने, स्वास्थ्य सेवाको क्षमता तथा तालिम बढाउने र नयाँ नयाँ उपचार पद्दति तथा वैज्ञानिक अनुसन्धानहरु तत्काल् लागू गर्न हरपल सजग रहने कार्य गर्नुपनि उत्तिकै जरुरी हुन्छ ।
कन्ट्याक ट्रेसिङ्ग के हो, कसरी गरिन्छ ?
कुनैपनि गम्भीर प्रवृत्तिका रोग महामारीको रुप लिने सामथ्र्य राख्दछ भने त्यसले सो रोगको उत्पत्ति र त्यसको सम्भाव्य असरप्रति पहिले नै जानकारी लिनुपर्छ । यसका साथै यो रोग कहाँबाट कसरी फैलियो जान्नु समेत जरुरी हुन्छ । संक्रमित व्यक्तिको संक्रमण स्रोत पहिचान गरेर सो व्यक्तिको सम्पर्क तथा व्यवहारलाई पूरा रुपमा अध्ययन गरेर थप सम्भाव्य संक्रमितलाई चाँडोभन्दा चाँडो पहिचान गरेर उपचार गर्दै अन्य क्षेत्रमा थप संक्रमण फैलिन नदिने प्रक्रिया नै कन्ट्याक ट्रेसिङ्ग हो ।
प्रारम्भिक परिवेशमा गहन खोज गर्न सकिएको खण्डमा यो नै महामारी रोक्ने सबैभन्दा बलियो उपाय हो । तर, यो प्रक्रिया जटिल हुनुका साथै आर्थिक तथा मानव स्रोतको रुपमा अत्यन्तै खर्चिलो हुन्छ । जसरी संक्रमित व्यक्तिको संख्या थपिँदै जान्छ यो प्रक्रिया जटिल बन्नुको साथै असम्भव प्रायः बन्दै जान्छ ।
पहिलो बिरामीको पहिचान भएलगत्तै सो व्यक्तिको सम्पर्क कोसँग भयो ? सो व्यक्तिको यात्रा कहाँ–कहाँ भयो अनि ती स्थानमा रोग सर्ने सम्भावना रहेको समयमा अरु को–को पुगे भनेर पहिल्याउने काम गरेर ती सम्भावित संक्रमितलाई संक्रमण फैल्याउने स्थितिमा पुग्नु अगाडि नै रोक्न सक्नुपर्छ ।
तर, समय बित्दैजाँदा यी दोस्रो तहका संक्रमित व्यक्तिहरुको समेत यही प्रक्रियाले पहिचान गर्नुपर्ने हुन्छ । समय गुज्रिँदै जाँदा यो प्रक्रिया असम्भव र महामारी रोक्न औचित्यहीन बन्न पुग्छ । किनकी त्यतिबेलासम्म महामारीले जरा गाडिसकेको हुन्छ । कोरोनाको संक्रमण भएको खण्डमा भने उपचार गर्ने वा निवारण गर्ने उपाय नभएको हुँदा आइसोलेसन क्वारेन्टाइन वा गम्भीर परिवेश मा अस्पताल भर्ना गर्नपर्ने हुन्छ ।
सामाजिक दुरी, आइसोलेसन, क्वारेन्टाइन भनेको के हो र यो कसरी गर्ने ?
अहिले कोरोनाको सम्भाव्यता महामारीबाट बच्न सामाजिक दुरी कायम गर्नुका साथै सम्भावित संक्रमितलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने नीति लिइएको छ । तर, उचित शिक्षाको अभावमा यी तीनै विषयमा गम्भीर भ्रमहरु व्याप्त छन् ।
कोरोना भाइरस श्वासप्रश्वास प्रणालीमा हुने संक्रमण भएको हुनाले यो सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्छ । अझ भिडभाड युक्तक्षेत्रमा एक संक्रमितले खोक्दा, हाछ्युँ गर्दा वा बोल्दा निस्कने भाइरस संक्रमित थोपाहरु अन्य व्यक्तिहरुलाई सर्न सक्ने हुँदा एक अर्काबाट टाढा बस्नु नै सबैभन्दा सुरक्षित र भरपर्दो उपाय हो ।
अर्थात् सकेसम्म अन्य व्यक्तिहरुसँग प्रत्यक्ष रुपमा उठबस नगर्दा, नजिक पर्नै परेपनि निश्चित दुरी कायम गर्दा, सरसामानको प्रयोग छुट्टाछुट्टै गर्दा यो रोगको बिस्तार रोक्न सकिन्छ । यही अभ्यास नै सामाजिक दुरी हो ।
सामाजिक दुरी कायम गर्दा स्वस्थ व्यक्तिलाई यो रोग सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ । विशेषगरी सम्भावित संक्रमितलाई भेट्ने वा कुनै प्रकारको उठबस गर्ने काम त गर्नैहुँदैन ।
क्वारेन्टाइनमा त्यतिबेला राखिन्छ जतिबेला कुनैपनि व्यक्तिमाथि संक्रमणको शंका गरिन्छ । संक्रमण हुने सम्भावित व्यक्तिहरुसँग उठबस, संक्रमण भएको ठाउँको यात्रा वा अन्य संक्रमण हुने कारण भएका व्यक्तिहरुलाई निगरानीमा राख्नु नै क्वारेन्टाइन हो । यस्ता व्यक्तिहरुलाई कुनै लक्षण नदेखिएको अवस्थामा पनि कम्तिमा १४ दिन संक्रमण भएकै सरह क्वारेन्टाइनमा राख्ने गर्नुपर्छ ।
सामाजिक दुरीका सम्पूर्ण नियम पूर्ण रुपमा पालना गर्नुपर्छ भने स्वास्थ्यकर्मीहरुले पनि उचित सुरक्षण संसाधन प्रयोग गर्नुपर्छ । अन्य स्वास्थ्य सेवा तालिम प्राप्त नभएका व्यक्तिहरुले भने सामाजिक दुरी मात्रै हैन भेटघाट नै नगरेको राम्रो । संक्रमण रहेछ भने उचित सुरक्षा अपनाउन नसक्दा उल्टो शुभचिन्तकहरु नै समाजमा भाइरस फैलाउने मध्यम बन्न पुग्छन् ।
क्वारेन्टाइनमा बस्दा पनि समूहमा बस्नुहुँदैन । सम्भावित सबैलाई संक्रमण नभएको हुनसक्छ । तर, कुनै एकलाई मात्र संक्रमण रहेछ भने बाँकी सबैलाई सर्नसक्छ । तसर्थ, क्वारेन्टाइन गर्दापनि आइसोलेटेड गर्नुपर्छ । आइसोलेसनको अर्थ एक्लै बस्नु हो । सामाजिक दुरीका सम्पूर्ण नियम पालना गर्दै छुट्टै कोठामा बस्ने र संक्रमण फैलिन रोक्ने सबैभन्दा भरपर्दो उपाय त्यही हो ।
आइसोलेसन, क्वारेन्टाइन कसरी तयार गर्ने ?
आइसोलेसन र क्वारेन्टाइन तयार गर्ने स्वास्थ्य संगठनका मापदण्डहरु विशेष छन् । घरेलु, ग्रामीण वा भर्खर रुपान्तरित स्थलहरुको परिप्रेक्ष्यमा भने केही साधारण उपायहरु छन् । जसले यस्ता स्थलहरुको सुरक्षा बढाउँछन् ।
आइसोलेसन वा क्वारेन्टाइन गर्दा कुनै विशेष स्थान हुनुपर्छ भन्ने छैन । अति गम्भीर लक्षण वा पहिलेदेखि नै गम्भीर रोग नभएको अवस्थामा स्वास्थ्य संस्था पनि गइहाल्नु पर्दैन ।
स्वास्थ्यकर्र्मीहरुको नियमित सम्पर्कमा रहेर घरमै आइसोलसनमा बस्नु सबैभन्दा उचित हुन्छ । घरको कुनै कोठा, अझ सकेसम्म अन्य व्यक्तिले आवतजावत गर्न नपर्ने माथिल्लो तल्ला वा सबैभन्दा छेउको कोठा उचित हुन्छ ।
अझ व्यवस्था छ भने भित्रको हावा बाहिर फ्याक्नेगरी टेबल पंखा बाहिरपट्टी फर्काएर राख्न सकेमा सोही घरमा बस्ने अन्य मानिसको तर्फ संक्रमित हावाको बहाव कम पर्ने हुन्छ । यसबाट संक्रमित हुने संभावना कम हुन्छ ।
यदि घरमा एक्लै बस्न सम्भव हुँदैन वा स्वास्थ्यकर्मीको सहायता आवश्यक पर्ने अवस्था छ भने मात्रै अस्पताल वा क्वारेन्टाइन-आइसोलासन स्थलमा बस्नु उचित हुन्छ ।
जनस्तरमा नयाँ बनाइएका वा रुपान्तरित कोरोना अस्पताल वा क्वारेन्टाइन–आइसोलासन स्थलमा कम्तिमा पनि अनिवार्य एक व्यक्ति एक कोठा, प्रत्येक कोठामा भेन्टिलेसन पंखा जसले भित्रको हावा बाहिर फ्याकोस यस्ता सुविधाहरु राख्नुपर्ने हुन्छ। यस्ता सुविधाहरु नभएमा उल्टो यस्ता स्थल नै महामारी फैलाउने केन्द्र बन्न सक्छन् ।
अवलम्बन गर्नुपर्ने महत्वपूर्ण तर साधारण केही आनीबानीहरु
सामाजिक दुरी अवलम्बन गर्दागर्दै व्यक्तिगत आचरण पनि केही परिवर्तन ल्याउँदा कोरोना सर्ने जोखिमलाई न्यून गर्न सकिन्छ । हात धुने उपाय सर्वत्र चर्चामा छ । तर, यो भाइरसले हातमा संक्रमण गर्दैन, श्वासप्रश्वास प्रणालीमा गर्छ । त्यसो भए हात किन धोइन्छ भन्दा हातले संक्रमित स्थानको सतहमा छुने सम्भावना प्रबल हुन्छ । जसका कारण हातले नाक, मुख, अनुहार छुँदा यो भाइरस श्वासप्रश्वास प्रणालीमा पुग्ने सम्भावना प्रबल हुन्छ ।
अर्थात् केवल हत्केला मात्र हैन हातको कुनै पनि भागले संक्रमण सार्न सक्छन् । तसर्थ, हात धुँदा कपडाबाट बाहिर देखिएको सम्पूर्ण भाग धुन उचित हुन्छ । हात धोएर पुछ्ने रुमाल पनि छुट्टै प्रयोग गरौं । अनि वस्त्र, हेल्मेट, चस्मा जस्ता सामान एकअर्कामा साटासाट नगरौं ।
बाहिर गएर फर्केपछि कपडा परिवर्तन गर्ने अनि धुने बानी बसालौं ।
उचित सामाजिक दुरी कायम राख्दा क्वारेन्टाइन वा आइसोलासनमा बस्दा वा घरमा एक्लै बस्दा मास्क लगाउन जरुरी हुँदैन । तर, लगाएको खण्डमा निकाल्दा बिस्तारै निकालौं । साथै, सुन्दा अचम्म लाग्न सक्छ, तर तालिम प्राप्त छैन भने पञ्जा लगाउनुभन्दा नलगाउनु उचित हो । पञ्जा लगाउने अनि उतार्ने पनि विशेष प्रक्रिया हुन्छ । त्यो अवलम्बन गर्न नसकेको खण्डमा उल्टो संक्रमण फैलिने सम्भावना ज्यादै हुन्छ ।
संक्रमण हुने सम्भावित परिवेशबाट आफूलाई टाढै राख्नु सबैभन्दा उत्तम तर सबैभन्दा गाह्रो उपाय हो । मानिस सामाजिक प्राणी हो, अझ संकटको घडीमा हाम्रो समाजमा सहयोग गरौं भन्ने भावनाले तथा देशको लागि केही गरौं भन्ने भावनाले धेरैलाई जोस दिइराखेको हुन्छ ।
केही सामाजिक तथा राजनैतिक व्यक्तिहरुले यो महामारीलाई आफ्नो कौशल, क्षमता, लोकप्रियता वा छवि सुधार्ने मौकाको रुपमा पनि लिएको पाइन्छ । नियत जे भएपनि संकटको घडीमा सहयोगी हातहरु फैलिनु राम्रो कुरा हो । बाढी–पहिरो, भूकम्प, जस्ता दैवी प्रकोप अनि झाडा–पखाला, टाइफाइड जस्ता प्रकोपसँग अभ्यस्त हामीलाई यो फरक परिवेशमा अवलम्बन गर्नुपर्ने धेरै व्यवहारहरु फरक मात्र होइन असजिलो पनि लाग्छन् ।
तर, यो श्वासप्रश्वासका माध्यमबाट सर्ने जघन्य रोगको महामारी हो । यदि तपाईं तालिम प्राप्त स्वास्थ्यकर्मी होइन भने सम्भावित बिरामीलाई ज्वरो नाप्न, भेट्न, जानकारी लिन, फोटो–सेल्फी खिच्न जानै हुँदैन । विशेषगरी कोरोना हो या होइन भनी संक्रमण जाच्ने–बुझ्ने कार्यमा संलग्न हुनुहुँदैन । विश्वका अति सुरक्षित अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी पनि यथेष्ट सुरक्षा सामग्रीका बाबजुत संक्रमित भएको उदाहरण छ । तपाईं आफ्नो ज्यान त खतरामा पर्छ नै तपाईंको माध्यमबाट अरुलाई समेत यो रोग सर्नसक्छ ।
स्वास्थ्यकर्मी र अस्पतालहरुलाई पनि कोरोनाका बिमारी जाँच्न, भर्ना गर्न ठूलो दबाब सामाजिक रुपमा देखिन्छ । संकटको घडीमा हरसम्भव आफ्नो तर्फबाट सक्ने सहयोग गर्नु अपेक्षित नै हुन्छ । तर, बिना कुनै तालिम र उपयुक्त सुरक्षा सामग्रीविरुद्ध स्वास्थ्यकर्मीहरुलाई पनि आफैं संक्रमित हुनेबाहेक अरु केही गर्न सक्ने उपाय हुँदैन ।
फेरि विशेष व्यवस्था नभई जथाभावी अस्पतालहरुले कोरोनाका बिरामी भर्ना गर्दा एकातिर सम्पूर्ण अस्पताल पुग्ने अन्य असंक्रमितहरुलाई रोग लाग्ने सम्भावना हुन्छ भने अर्कातिर अन्य रोगका बिरामीहरुले समेत उपचार गर्न नपाउने स्थिति आउँछ । स्मरण रहोस् आँखाको डाक्टरलाई मुटुको भल्भ फेर्न पठायो भने बिरामीको मृत्यु हुनुबाहेक अरु केही उपलब्धि हुँदैन ।
फेरि कोरोना संक्रमण भएको खण्डमा गम्भीर लक्षण देखिएमा कोरोना विशेष अस्पताल नै जानुपर्ने हुन्छ । तर, अधिकांश संक्रमणमा घरमै आइसोलेसनमा बसेर टेलिमेडिसिनबाट स्वास्थ्य लाभ गर्न सकिन्छ । यदि तपाईं स्वास्थ्यकर्मी हुनुहुन्छ भने श्वासप्रश्वास सम्बन्धी वा अझ कोरोना सम्बन्धी उचित तालिम पाउनु भएको छैन वा तपाईं पूर्णतः आफ्नो क्षमतामा वा सुरक्षा सामग्री कोरोनाको सन्दर्भमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा ढुक्क हुन सक्नुहुन्न भने पनि सोझै संक्रमितको उपचारमा संलग्न नभएको राम्रो । किनकि स्वास्थ्यकर्मी नै संक्रमित भएको खण्डमा सो स्वास्थ्यकर्मीको सम्पर्कमा आउने अन्य बिमारीहरु जसलाई कोरोनाबाट थप जोखिम हुनेगर्छ त्यस्ता व्यक्तिको जीवन नै संकटमा पर्छ ।
यो अवस्था भनेको भावना र आवेशमा आएर निर्णय गर्ने बेला होइन । पूर्ण सुझबुझका साथ जिम्मेवारी बहन गर्ने बेला हो यो । अहिले हाम्रो लागि महामारी रोक्न सबैभन्दा ठूलो जिम्मेवारी बहन गर्ने बेला आएको छ । त्यो जिम्मेवारी हामीले सामाजिक दुरी कायम गरेर, मज्जाले कुइनोदेखि नै हात धोएर, संक्रमित मात्रै होइन, संक्रमण हुनसक्ने क्षेत्रसमेतबाट पन्छिएर, अति सजिलोसँग गर्न सक्छौं । यो हाम्रो जिम्मेवारी मात्र होइन, वर्तमान परिस्थितिमा मानवीय कर्तव्य पनि हो ।
स्मरणरहोस् कोरोना लागेपनि आफू त बचौंला । तर, आफूले सारेको संक्रमणले अरु कसैको भने ज्यान नै जानसक्छ । सचेत बनौं ।
(मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जीवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संग्लग्न वैज्ञानिक टोलीले दुई वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो । बाग्लुङ स्थायी घर भएका खड्का ‘भाइरोलोजिस्ट’ हुन् ।)
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4