Comments Add Comment

टक्क पृथ्वी : छक्क प्रविधि

रिट हाल्नु हुन्थ्यो, कोर्टहरू बन्द छन्

हेग पुर्‍याउनु हुन्थ्यो, जहाजहरू ग्राउण्डेड छन्

ग्वान्टानाओ टापुमा थुन्नुहुन्थ्यो

उभिण्डो पारेर सुलीमा उन्नुहुन्थ्यो

अणुबमले उडाउनु हुन्थ्यो

पाता कसेर लडाउनुहुथ्यो

टाउकोको मोल तोक्नु हुन्थ्यो

नेल हतकडी ठोक्नु हुन्थ्यो

कसरी गर्नु ? अदृष्य छ त्यो

सबैलाई पिरेको छ, रोेक्न सकिँदैन

भिसाबिनै छिरेको छ, छेक्न सकिँदैन

अरबौँ सशस्त्र मानवजाति एकातिर

एउटा निःसश्त्र भाइरस अर्कातिर

संसारैभरी यसैको आतंक छ, त्रास छ

घर नामको झ्यालखानामा बबुरो मान्छेको बास छ ।

लण्डनमा लञ्च र ड्यालसमा डिनर गर्नेहरु

एकाएक दुला पसेका छन्

बिजनेस र फस्टक्लासका भिआईपीहरु

लल्याक लुलुक भएर थला बसेकाछन्

बम, बारुद र मिसाईल बिक्रेताहरू

मास्क किन्ने लाइनमा उभिएका छन्

स्कचले मुख कुल्ला गर्नेहरु

सेनिटाइजरको पर्खाइमा छन्

अन्तरिक्षमा बस्ती बसाउन प्लटिंग गर्नेहरु

धर्तीमा ६ फिट प्लट नपाउने भयले स्तव्ध छन्

संसारका डनहरूलाई साइजमा ल्याउन

खोकी र हाच्छ्युँ नै पर्याप्त छन् ।

बन्द हडताल बिरोधी सरकार

आफैं थुन्दैछ सीमा, प्रवेशाज्ञा र आवागमन

लकअप छन् ग्रेटवाल, बुर्जखलिफा र डिज्नील्याड

निलम्बित छन् पाँचतारे, मेट्रो र बुलेट ट्रेन

प्रतिबन्धित छन् अंकमाल, चुम्बन र प्रेम

क्वारेन्टाईनमा छन् सिनेमा र संसदहरु

आईसोलेसनमा छन् चर्च, मन्दिर र मस्जिदहरु ।

शिकारी छिर्दैन जंगल, जीवजन्तु आजाद छन्

चरा स्वतन्त्र छन् आकासमा, माछा मग्न छन्

हात नधुने प्राणी बिन्दास छन्, मस्त छन्

बिचरा मान्छेहरू हात धुनमै ब्यस्त छन् ।

हेर्दा हेर्दै होडबाजी हल्लिएको छ,

कब्जाबाजी काँपेको छ

शक्तिशालीहरूको शक्ति हराएको छ

भिटो पावरको भक्ति हराएको छ

पृथ्वी टक्क रोकिएको छ, सभ्यताको सातो गएको छ ।

एकाएक फर्किएको छ मान्छे होसमा

प्रश्नचिन्ह लागेको छ, विज्ञानको जोशमा

आकाश सङ्लिएको छ ओजोन बाक्लिएको छ

पुनर्मिलन हुँदैछ मानवको प्रकृति परिवार र आफैंसँग

भीडबाट भागौं, घरभित्र बसौं

आत्मबल औषधी हो, आफैंभित्र पसौं

एउटै शुत्र र मन्त्र हो कोरोनाको

आफूलाई नसारौं, अरुलाई नबाँडौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment