Comments Add Comment

कतारमा कोरोना संक्रमितको संख्या ८३५ पुग्यो

सनैयाको लकडाउन बढ्यो

२० चैत, कतार । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कतारमा बिहीबारसम्म संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार मात्रै थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यस्तै हालसम्म ७१ जना निको भएर घर फर्किएका छन् भने जम्मा २४ हजार ८ सय २५ जनाको जाँच भएको छ । हालसम्म कोरोनाले दुई जनाको मृत्युु भइसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरसबाट कतारमा यसअघि ५७ वर्षीय एक बंगलादेशी नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै जनामा श्वासप्रश्वास सम्बन्धी पुरानै रोग थियो । उनलाई १६ मार्चमा अस्पताल भर्ना गरिएको थियो ।

चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको संक्रमण कतारमा पहिलो पटक एक ३६ वर्षीय कतारी नागरिकमा देखिएको थियो । कतार सरकारले भाइरस संक्रमण फैलिएपछि आफ्ना नागरिकलाई इरानबाट चार्टर्ड विमान मार्फत स्वदेश फिर्ता ल्याएको थियो ।

योसँगै कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सा सेवा तथा उपचार प्रदान गरिएको गल्फ टाइम्सले जनाएको छ ।

यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

काम गर्ने अवधि ६ घण्टा कायम

कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ । यो दुई हप्ताका लागि लागु हुनेछ ।

प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अलथानीको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरेको हो । अब रोजगारदाताले २० प्रतिशत कामदारलाई मात्रै कार्यालयमा काममा लगाउन पाउनेछन् । तर, खाद्यान्न, औषधि र घरघरमा खाना पु‍र्‍याउने रेष्टुरेन्टको लागि भने यो नियम लागू हुने छैन ।

सरकारले विभिन्न सरसफाइ कम्पनीबाट घरको काम गर्न पठाउने कार्यलाई समेत रोकेको छ । कतारमा विभिन्न कम्पनीले महिलालाई घण्टा वा दिनभर घरेलु कामको लागि घरघरमा पठाउँदै आएको थियो । यसमा नेपाली महिलाको बाहुल्यता छ । कामदार बोक्ने बसले सिट क्षमता अनुसार कामदारलाई बोक्न पनि रोक लगाएको छ । त्यस्तो बसले सिट क्षमताको आधा मात्रै कामदार बोक्न पाउने कतार न्यूज एजेन्सीले जनाएको छ । सैनिक, सुरक्षा गार्ड, कुटनीतिक मिसनका कर्मचारी, स्वास्थ्य क्षेत्र, तेल तथा ग्यास, देशको मुख्य परियोजनाका कामदारहरुमा यो निर्णय लागू नहुने बताइएको छ ।

सनैयाको लकडाउन बढ्यो

कतारले झन्डै ५० हजार नेपालीसहित आप्रवासी कामदार बस्ने सनैयाको लकडाउनको समयावधि बढाएको छ । सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई सिल गर्दै लकडाउन गरेको थियो ।

मन्त्रीस्तरीय बैठ्कपछि आयोजित पत्रकार सम्मेलनमा उच्चस्तरीय संकट व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले कतार र कामदारको सुरक्षाका लागि लकडाउनको अवधि बढाइएको बताइन् ।

त्यो क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कतारले निकै संवेदनशील रूपमा राख्दै आवतजावतलाई पूर्ण नियन्त्रण गरी कामदारको स्वास्थ्य परीक्षण गरिरहेको प्रवक्ता खतिरले बताइन् । यो क्षेत्रभित्र रहेका कामदारलाई खाद्यान्‍नको अभाव हुन नदिइएको र तीन ठाउँमा मोबाइल जाँच केन्द्रमा परीक्षण भइरहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अवलम्वन गर्न/गराउन दूतावासको आधिकारिक पेज मार्फत कतारमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

जमघट गर्ने १० जना पक्राउ

सार्वजनिक स्थानमा जमघट गर्ने १० जना पक्राउ गरिएको कतारको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ ।

कतार सरकारले कर्नेश एरिया, समुन्द्री किनारहरु, सार्वजनिक स्थलहरु र रेष्टुरेन्ट तथा क्याफेटेरियाहरुको अगाडि सबै प्रकारका जमघटहरुमा निषेध गरेको अहिलेको स्थितिमा नियम उल्लंघन गर्ने १० व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले ट्वीटरमा लेखेको छ ।

नियम उल्लंघन गर्नेलाई दुई लाख रियाल जरिवाना वा तीन वर्ष जेल सजाय हुन सक्ने मन्त्रालयले यसअघि जानकारी गराएको थियो । कतारको दक्षिणी क्षेत्रमा रहेको बालुवामा जमघट गरेर रमाइलो गरिरहेको उनीहरुको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि मन्त्रालयले छानविन सुरु गरेको थियो ।

–अनिल पराजुलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment