News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी टप्पु वन्यजन्तु आरक्षमा शोभाकली हात्तीले सातौँ सन्तान भुपेन्द्र गज जन्माएकी छन्।
- आरक्षका प्रमुख भुपेन्द्रप्रसाद यादवले जन्मिएको छावाको स्वास्थ्य सामान्य रहेको र चिकित्सक टोलीको निगरानीमा राखिएको बताए।
- आरक्षका हात्तीहरूले सीमावर्ती क्षेत्रको निगरानी र अवैध सिकार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन्।
१० मंसिर, इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्।
आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०:३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् ।
जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ। छावाको जन्म भएको आज ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए।
उनका अनुसार आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको छ।
‘शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन्। उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ’, प्रमुख यादवले भने।
यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ । आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन्।
नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उहाँले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूको भनाइ छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ।
आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्याउँदै आएका आरक्ष कार्यालयले जनाएको छ।
प्रतिक्रिया 4