Comments Add Comment

विद्युत् प्राधिकरणको नाफा १० अर्ब ६६ करोड, आगामी दिन अझै सुनौला : कुलमान

'विद्युत खपत बढाउन र बढी भएको विद्युत निकासी गर्न चुनौती'

२१ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा सन्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्येकै बढी हो ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५÷७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो । तर, नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित प्राधिकरणले कूल १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

आव २०७२÷७३मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानी थियो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । प्राधिकरणले आव २०७३/७५ र २०७४/७५मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा वृद्धि, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

‘प्राधिकरणको अबको यात्रा घाटाको होइन, नाफाको हो भन्ने अठोटका साथ सम्पूर्ण टिम अहोरात्र खटिएको छ,’ घिसिङले भने, ‘प्राधिकरणका आगामी दिन अझै सुनौला छन् ।’

उनले थपे, ‘अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउँदैछ, पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्छ, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतआयोजनाको पीपीए दर सस्तो भएकाले यसबाट प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पर्छ ।’

तर यसका लागि मुलुकभित्र विद्युत् खपत बढाउन र बढी भएको विद्युत् निकासीको बन्दोबस्ती गर्नु भने चुनौतीपूर्ण रहेको घिसिङ बताउँछन् ।

विद्युत् चुहावट घट्दा यसको सकारात्मक प्रभाव प्राधिकरणको विद्युत् बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा परेको छ । एक प्रतिशतमात्रै विद्युत चुहावट घटाउँदा करिब ७० करोड रुपैयाँ प्राधिकरणलाई फाइदा हुन्छ । आव २०७२÷७३मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले घटाएर १५.३२ प्रतिशतमा झारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment