Comments Add Comment

सरकारले ‘काम गर्नू’ भने पनि मेलम्चीका मजदुर गायब

अनेक बाहनामा भाका सरेको सर्‍यै, असारमा पानी ल्याउन मुस्किल

२२ चैत, काठमाडौं । खानेपानीमन्त्री विना मगरले फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गरेर भनेकी थिइन्, ‘मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’ तर, यसपटक पनि मेलम्चीको समयसीमा घँचेटिने पक्कापक्की भएको छ ।

सरकारको नयाँ भाका असारमा मेलम्चीको काम पूरा होला/नहोला भन्ने आशंका व्यक्त भइरहेका बेला कोरोनाको संक्रमणका कारण उत्पन्न अवस्था र लकडाउनले गर्दा आयोजना फेरि निर्धारित मितिमा नसकिने नयाँ बाहना बन्न पुगेको छ ।

सरकारले दुई दिनअघि लकडाउनमा पनि सतर्कता अपनाएर काम गर्ने, तर राष्ट्रिय गौरवका आयोजनाहरुको काम नरोक्ने निर्णय गरेको छ । तर, आयोजना प्रमुख तिरेश खत्रीका अनुसार आयोजनामा कार्यरत करिब ४ सय कामदारमध्ये ५०/६० जना मात्रै निर्माणस्थलमा छन् । लकडाउनका कारण अरु मजदुरहरु लाखापाखा लागिसकेका छन् ।

अहिले आयोजनामा सरकारको निर्णय अनुसार काम गर्न मालसामान र कामदारको अभावले कठिनाइ भएको उनले बताए । ‘सिमेन्ट, बालुवाको अभाव भइसकेको थियो, सरकारको निर्णयले अब आपूर्तिमा सहज त स्थिति बनेको छ,’ उनले भने, ‘तर, काम गर्ने कामदार घर फर्किएका छन् । स्थानीय कामदारलाई पनि काममा फर्काउन कठीन छ ।’

कामदारहरुमा पनि त्रास उत्पन्न भएकाले अहिले क्याम्पमा क्वारेन्टाइनमा बसेका कामदारसँग मिसिएर काम गर्न अरु कामदार तयार नहुने अवस्था आएको उनको गुनासो छ ।

खत्रीले काम नरोकिए पनि आयोजनाका विभिन्न मालसामान भन्सारमा आएर रोकिएको र कतिपय फ्याक्ट्रीहरुबाटै ‘डिस्प्याच’ नभएको बताए ।

यो पनि पढ्नुहोस ठूला आयोजनाको काम सर्तसहित अघि बढाइने

भारतलगायतका मुलुकमा पनि कोरोनाको संक्रमणको जोखिमका कारण लकडाउन हुँदा उद्योग धन्दा बन्द भएकाले त्यस्ता सामान ल्याएर आयोजनाको काम पुरानै गतिमा फर्काउन सहज नहुने खत्रीको भनाइ छ ।

‘वैशाख दोस्रो सातासम्म सबै स्थिति समान्य भयो भने लक्ष्यअनुसार काम गर्न समस्या पर्दैन, त्यो हुन सकेन भने पक्कै पनि असारसम्म निर्धारित काम सक्न मुस्किल पर्नेछ,’ उनले भने,’हामी लक्ष्यअनुसार काम गर्न कोसिस चाँही गरिराख्छौं ।’

२०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।

चिनियाँ आएपछि राम्रो काम

आयोजनाको दाबी अनुसार चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको निर्माणको ठेक्का पाएपछि बितेका ५ महिनामा काममा गुणात्मक प्रगति भएको थियो ।

आयोजनाले मुहानमा बन्ने हेडवक्र्स निर्माणका फिनिसिङको काम भने वर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसबाहेकका काम भने वर्ष अगावै सक्नुपर्छ ।

मेलम्चीको पानी टनेलतर्फ फर्काउने यो मुख्य संरचनाको निर्माण कार्यको मुलूभत काम सम्पन्न भइसकेका कारण फिनिसिङको काम बाँकी रहँदाको अवस्थामा पनि कफरड्यामको माध्यमबाट वैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्य टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्ने आयोजनाको प्रयास छ ।

सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेसन साफ्टहरु, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ ।

सिनो जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण हुन्छ । जेठ मसान्तसम्ममा गेट निर्माणका कामहरु सम्पन्न हुने आयोजनाको विश्वास थियो । तर, अब नेपालर भारतको लकडाउनको असरले मेलम्ची फेरि समस्यामा परेको छ ।

आउनासाथ पाइँदैन पानी

सरकारको प्रतिवद्धता असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले दशैंअघि मलेम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्‍याउन ठूला पाइपहरु जोडिएका छन् ।

ट्यांकी र पाइपलाइनको सफाइ र परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ ।

चक्रपथ आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, समाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

भाका सरेको सर्‍यै

सुरुवातमा २०६४ सालमा सक्नेगरी थालिएको मेलम्चीको म्याद पहिलो पटक २०६५ मा बढाइएको थियो, २०७१ भित्र सक्ने भन्दै । त्यो अवधिमा काम आधा पनि नभएपछि सरकारले कहिले दशैं त कहिले नयाँ वर्षको भाका तोक्ने सिलसिला लगातार चलिरहेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलामा बगेर गइरहेको स्वच्छ पानी ल्याएर काकाकुल काठमाडौंको तिर्खा मेट्न २०५३ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । त्यसयताका २१ वर्षमा १९ प्रधानमन्त्री र २४ जना खानेपानी मन्त्री बने । ३० जनाले विकास समितिको अध्यक्षको जागिर नै खाइसके ।

२०४१ बाटै प्रारम्भिक अध्ययन थालिएको मेलम्चीको पानी काठमाडौं ल्याउने योजना २०४८ सालको संसदीय निर्वाचनको क्रममा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले गरेको भाषण पछि बहुचर्चित बनेको थियो । त्यसपछि आयोजना लगातार चर्चामा तर रह्यो, तर काम समयमै नभएर सधै‌ं समस्यामा फसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment