+
+
Shares

नेपालमा कोरोना देखिएको भन्दै रसुवागढी र तातोपानी नाका खोल्न चीन अनिच्छुक

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ चैत २३ गते २०:०२

२३ चैत, काठमाडौं । नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ ।

नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्‍याउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको उनले बताए।

‘कोरोना भित्रिन नदिन उच्चतम सुरक्षा अवलम्बन गर्ने चीनको केन्द्रीय सरकारको नीतिअनुसार अहिलेकै अवस्थामा नाका खुला गर्न नसकिने जानकारी त्यहाँको प्रशासनबाट आएको छ,’ भन्सार प्रमुख खड्काले अनलाइनखबरसँग भने ।

माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर-दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको उनले बताए । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।

नेपालकै कारण कोरोना फैलिने डरले चिनियाँ पक्ष नाका सञ्चालन गर्नेबारे अनिच्छुक देखिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

‘हामीले भन्सार प्रमुखसँग नियमित छलफल गरेका छौँ, हाम्रो तयारी अन्तिम अवस्थामा छ। तर, चिनियाँ पक्षले आनाकानी गरेको हो कि भन्ने जानकारी आएको छ’ उनले भने ।

नेपाल भारत खुल्ला सीमा र भारतमा तीब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

‘व्यापारिक आवागमनले कोरोना नफैलियोस् भन्नेमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ, केही समय माग्नुभएको छ, सायद छलफलमा हुनुहुन्छ,’ भन्सार प्रमुख खड्काले भने ।

चीनमा कोरोना फैलिएपछि बन्द गरिएको चीनतर्फको व्यपारिक नाका खुला गर्ने निर्णय सरकारले चैत १२ गते गरेको थियो ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?