Comments Add Comment

रोहिंग्या शरणार्थी शिविरमा नगरपालिकाले रोक्यो राहत

मेयर भन्छन्- राहत फेसन जस्तो भयो, त्यही भएर रोक्यौं

२४ चैत, काठमाडौं । जस्ताले बारेको टहरोमा स-साना कोठा । एउटै कोठामा ६ देखि ८ जनाको परिवार । चार रोपनी भिरालो जमिन भाडा लिएर बनाइएको जस्ताको टहरोमा ६० परिवार अटाएको छ । शिविरमा बालबालिका, वृद्धवृद्धा सहित १ सय ६२ जना छन् । तीमध्ये १० जनाको मुखमा मात्रै मास्क छ । भएर नलाएका होइनन्, नपाएर नलाएका । न हात धुने साबुन पर्याप्त छ, न मास्क छ, न स्यानिटाइजर ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको कपनमा बसिरहेका अल्पसंख्यक रोहिंग्या शरणार्थी शिविरको अवस्था हो यो । सन् २०१३ मा म्यानमारबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउन भागेर उनीहरु नेपाल आएका हुन् ।

रेडियो, टिभी, अनलाइन र मोबाइलमा घण्टा-घण्टामा आउने कोरोनाबाट मृत्यु र संक्रमित भएकाहरुको संख्याले शरणार्थीहरुको मथिंगल खलबिन्छ । त्यस सँगसँगै सञ्चारमाध्यमहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत दुरी कायम राख्ने, भिडभाडमा नजाने, साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, पन्जा लगाउने आदि सूचना प्रवाह गर्दा मन आत्तिन्छ ।

तर रोहिंग्या शरणार्थीहरु यी उपाय चाहेर पनि अपनाउन सकिरहेका छैनन् । हात धुनको लागि न साबुन पर्याप्त छ, न स्यानिटाइजर नै ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले पटक-पटक साबुन पानीले हात धुनु भनेको छ । तर त्यो दुई डल्ला साबुनले १६२ जनालाई कति दिन हात धुन पुग्ने हो थाहा छैन उनीहरुलाई

रोहिंग्या शरणार्थीहरुको समस्या यत्तिमै सकिँदैन । सरकारले अवैध रुपमा बसेका अल्पसंख्यक रोहिंग्याहरुलाई काम गर्ने अनुमति दिएको छैन । तर परिवार पाल्नुपर्ने बाध्यताले लुकीछिपी भए पनि ज्याला मजदुरी गर्दै आएका थिए । लकडाउनका कारण सबै गतिविधि ठप्प भएकाले ज्याला मजदुरी पनि बन्द भयो । कसैकसैले दया लागेर रासन सहयोग गर्दथे । त्यो पनि वडा कार्यालयका कर्मचारीले आजबाट रोकिदिए ।

यो पनि पढ्नुहोस रोहिंज्या शरणार्थी भन्छन्– कि नेपालको नागरिकता देऊ, कि तेस्रो मुलुक पठाऊ

त्यसैले आफूहरु समस्यामा परेको शरणार्थी शिविरका एक सदस्य अब्दुल यास बताउँछन् । ‘हिँजो एक जना मान्छे आएर केही सामान पनि बाहिरबाट आउँदैन भनेर गयो । ओहो ! यस्तो अवस्था जारी रह्यो भने त म यहाँ बाँच्दिनँ होला । यहाँका मान्छेका कारण म समस्यामा परेँ,’ उनले भने ।

राहत रोक्ने वडा कार्यालयको निर्णयले अब्दुल्ल यास मात्र होइन, शिविरका सबै सदस्यहरु चिन्तित छन् । त्यसैले शिविरमा महामारी फैलिन नदिन र सरकारले केही सोचोस् भन्ने उनीहरुको चाहना छ ।

केही दिनअघि उनीहरुको पीडा देखेर केही युवाहरुले प्रत्येक परिवारलाई १५ किलो चामल, दाल, दुई वटा साबुन र पानी बाँडेका थिए । त्यो चामलले ६ दिन पुग्ने छ । अब त्यो साबुन सकिन लागिसक्यो । त्यसपछि के गर्ने थाहा छैन ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले पटक-पटक साबुन पानीले हात धुनु भनेको छ । तर त्यो दुई डल्ला साबुनले कति दिन हात धुन पुग्ने हो थाहा छैन उनीहरुलाई ।

अब्दुल यासलाई जस्तै डर सालिन खातुन (नाम परिवर्तन)लाई पनि लागेको छ । कोरोना संक्रमणको उच्च जोखिममा छ उनको परिवार । शिविरमा न सरसफाइ छ, न सरसफाइका सामग्री ।

उनी भन्छिन्, ‘सकेसम्म त सजग छौं । तर यहाँ त कसैलाई कोरोनाको लक्षण देखिए महामारी फैलिन्छ । अब कहाँ जाउँ, जाने ठाउँ छैन । नजाउँ डरमर्दो छ । यही चिन्ताले सताइरहेको छ ।’

मेयर भन्छन् : राहत फेसन जस्तो भयो, त्यही भएर रोक्यौं

सरकारले लकडाउनका कारण समस्यामा परेकालाई एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने मापदण्ड बनाएको छ । राहत वितरण गर्नेले सम्बन्धित स्थानीय तहको स्वीकृति लिनु पर्छ ।

बूढानीलकण्ठ नगरपालिका मेयरले रोहिंग्या शरणार्थीहरुलाई राहतको नाममा मनलाग्दी बाँड्न थालेकाले त्यसरी नबाँड्न आग्रह गरिएको बताएका छन् ।

मेयर उद्धवप्रसाद खरेल भन्छन्, ‘सहयोगको नाममा दुई-चार किलो चामल दिन्छन् अनि फेसबुकमा फोटो राख्छन् । सहयोगको नाममा फेसन जस्तो भएकाले त्यसो नगर्न भनेका हौं ।’

मेयर खरेलका अनुसार उनीहरुलाई युएनएचसीआर (संयुक्त राष्ट्र संघीय उच्चायुक्तको नेपाल कार्यालय)ले नियमित खाद्यान्न सहयोग गरिरहेको छ ।

संक्रमण फैलिन नदिन उनीहरुलाई शिविरभन्दा बाहिर नजान र उच्च ज्वरो आए स्वास्थ्य चौकीमा जान सुझाव दिइएको उनले बताए । मेयर खरेलका अनुसार शिविरभित्र रहेका सबै रोहिंग्या समुदाय अहिलेसम्म सुरक्षित छन् । उनीहरुलाई भएसम्म मास्क, सेनिटाइजर उपलब्ध गराइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment