Comments Add Comment

कोरोना, आशंका र कर्तव्य

२४ चैत, काठमाडौं । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई नै आतंकित बनाएको छ । युरोप, अमेरिकाहुँदै दक्षिण एशियातर्फ महामारी फैलने क्रम जारी छ। स्वास्थ्य संकटको यो अकल्पनीय र निकै स‌ंवेदनशील अवस्थामा विश्व गुज्रिँदैछ ।

नेपालमा दिनप्रतिदिन संक्रमणको त्रास बढिरहेको छ । विश्व स्वास्थ संगठनलगायत संसारका अधिकांश मुलुकहरुले कोरोना भाइरसबाट सुरक्षित रहनको लागि उपचार प्रवन्ध गर्न र जनताका दैनिकी सहज बनाउन ठूलो भूमिका खेलिरहेका छन् ।

नेपाल सरकारले यसको रोकथामको लागि पहल त गरिरहेको छ। तर, अझै पनि पर्याप्त प्रभावकारी हुन सकिरहेको छैन । सरकारले छिटोछरितो गुणस्तरीय स्वास्थ्य सामग्री भ्रष्टाचाररहित ढं‌गले ल्याउनुपर्नेमा सरकार यसमा पनि विवादरहित रहन सकेन । ढिलासुस्ती र अपरिपक्व निर्णय, काम गर्ने तौरतरिका आदिले सरकारप्रति जनताले शंका मात्र होइन असन्तुष्टि समेत जनाउन थालेका छन् । यो सरकारको लागि र जनताको लागि समेत रमाइलो कुरा होइन।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत सरकार अहिले लापरवाही रुपले लागेको छ। मुलुकका विभिन्न स्थानमा विश्वसनीय ल्याव परीक्षण समयमा नहुनु दुखद् पक्ष हो । ढिलै भएपनि सात वटै प्रदेशमा कोरोना परीक्षणको सुरूवात भएको छ। यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक छ।

एउटा तीतो यथार्थ हामीले बुटवलमा भोगिसकेका छौँ । पर्याप्त र विश्वसनीय परीक्षण गरी समयमै उपचार नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी समेत रहेको सुगम क्षेत्र बुटवलमै धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा पाल्पा रिब्दिकोटका एक जनाले ज्यान गुमाउनु पर्‍यो । हाल सैनामैनामा बसोबास गर्ने बाबुराम थापाले ज्यान गुमाउनु परेको यो घटना देख्दा सामान्य लागेपनि निकै संवेदनशील विषय हो।

यसले मानिसले उपचार समयमै पाउने अधिकार कुण्ठित भएको हो कि भन्ने आममानिसमा आशंका बढेको छ। कोरोनाको आशंकामा कोरोना विशेष अस्पतालमा पठाइएको थियो। तर, भर्ना भएको तीन दिनमा ज्यान गएकोले आशंका बढ्नु स्वाभाविक कुरा हो। मृत्युपश्चात आएको परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ आएको छ ।

आज १० दिनसम्म मृतकको शव उठ्न नसक्नु हामी सबैको लागि लज्जास्पद विषय हो । अर्को महत्वपूर्ण पक्ष डाक्टरहरु कोरोनाको आशंका गरेका छन् तर ल्याब परीक्षणको सबै रिपोर्ट नेगेटिभ आउने गरेको छ। यस्तो अवस्था अन्य प्रदेशमा पनि हुनसक्छ। यसले आमजनता परीक्षण र उपचारमा विश्वस्त हुन सकेका छैनन् ।

यसबाट पाठ सिकेर जानुपर्ने देखिन्छ। कोरोना संक्रमणको दोस्रो चरणमा छौँ भनिएको छ। थप विषम परिस्थिति आउन पनि सक्छ । बाबुराम थापाको केसले उपचारमा थप सजग, सचेत, समन्वय र शीघ्र हुनु आवश्यक छ ।

बाबुराम थापाको उपचारमा के कति कमजोरीले उनको ज्यान गयो ? एउटा विश्वसनीय छानबिन समिति गठन गरेर यसको सत्यतथ्य बाहिर ल्याउनु आवश्यक हुन्छ । साथै, शवको अन्त्येष्टिका लागि छिटोभन्दा छिटो काम अगाडि बढ्नु आवश्यक छ।

कोरोना भाइरसको महायुद्धको अग्रमोर्चामा रातदिन खटिएका चिकित्सक, नर्स(परिचालिका), स्वास्थकर्मी, समाचार संकलन गर्ने पत्रकार एवं रातदिन सुरक्षामा खटिने सुरक्षाकर्मीहरु संक्रमणबाट जोगिन अन्तर्राष्ट्रियस्तरको सुरक्षा स्वास्थ्य सामग्री, औषधि, योग्य मानव स‌ंशाधन तुरुन्त उपलब्ध गराइयोस् । कुनै पनि हालतमा उनीहरुको मनोबललाई गिराउनु हुँदैन। युद्धका सिपाहीको मनोबल गिराए युद्ध हार्ने निश्चित हुन्छ ।

जसले गर्दा थप जनधनको क्षति हुनेछ । हामी चीन र भारत जस्तो विशाल देशकोबीचमा छौँ । चीनमा कोरोना कमी हुँदै गएको र जनजीवन सामान्य स्थिति तर्फ अघिबढिरहेको छ भने अर्को छिमेकी मुलुक भारतमा यसको स‌ंख्या दैनिक बढिरहेको छ । भारतसँगको धेरै आउजाउ भइरहने सीमा धेरै भएको र सबै खुल्ला सीमा भएकोले पनि भारतको समस्यामा नेपालले समेत सचेतता अपनाउनुपर्ने देखिन्छ ।

भारतमा संक्रमितको संख्या बढ्नु भनेको हामी नेपालीको लागि निकै जोखिम बढ्नु हो। किनभने हालैमात्र लाखौं नेपालीहरु भारतबाट नेपाल आएका छन् । भारतबाट आएकामा संक्रमण बढ्नसक्ने अनुमान गर्न सकिन्छ ।

अर्कोपक्ष, आममानिसको दैनिकी गाँसबास र कपासको न्यूनतम उपलब्धताको लागि आवश्यक व्यवस्थापन गर्नु अर्को चुनौतीपूर्ण कुरा हो। उत्पादन र मौज्दात रहेसम्म खाद्यान्न लगायतका सामग्री त आउने हो । जब मौज्दात सकिन्छ अवस्था विषम हुनेछ । यतातिर सरकार एवं सरोकारवालाहरुबीच समन्वय र स्पष्ट कार्ययोजना लिएर अगाडि बढ्नुपर्छ ।

यस्तो विषम परिस्थितिमा एकअर्कोलाई छिर्केमिर्के, आरोपप्रत्यारोप गर्नुभन्दा कमजोरीलाई सच्चाउँदै अगाडि बढ्नुको विकल्प छैन । अवस्था सामान्य भएपछि पक्कै हिसाबकिताब हुनेछ । सत्यतथ्य सार्वजनिक गर्नुपर्ने नै हुनेछ । त्यसबेला गरौँला केके गर्नुपर्छ। यस्तो मानवीय संकट भएको महामारीमा भ्रष्टाचार गर्न उद्दत महापापीहरुको अवश्यपनि पाप धुरीबाट कराउने छ ।

आमजनताले पनि खेलाँची नगरी सरकारले दिएको निर्देशन बमोजिम घरमै बसेर सहयोग गर्नु आवश्यक छ ।  आफू, आफ्नो परिवार, समाज, देश र सिङ्गो विश्वलाई बचाउन आफ्नो ठाउँबाट नागरिकहरुले पनि जिम्मेवारी पूरा गर्नुपर्छ । अरुलाई धारे हात लगाउने तर आफैँ जिम्मेवार र कर्तव्यविमुख हुनु मानवीय हिसाबले निकै लज्जाको विषय हो । त्यसैले घरमै बसौँ, साबुन पानीले हात धोऔ‌ँ। मास्क, सेनिटाइजर प्रयोग गरौँ ।

विदेशबाट आएकाहरु, उनीहरुको सम्पर्कमा आएका मानिसहरु सरकारले भने बमोजिम क्वारेन्टाइनमा बसौँ । हुनेखानेले गरिखाने वर्गलाई स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर सहयोग गरौँ । योभन्दा पुण्य गर्ने अर्को उपयुक्त समय हुँदैन । एकअर्का बाचौँ र बचाऔँ ।

हामी अलग-अलग रहेर सँगसँगै सहकार्य गरौँ । टोल, समाजका सम्पूर्ण नागरिक, स‌ंघसंस्था एवं राजनीति दलहरु एकतावद्ध भई कोरोना महामारीबाट बच्न र बचाउन आफ्नो स्थानबाट सकारात्मक पहल गरौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment