Comments Add Comment

भान्सामा ‘माग्ने बुढा’, ‘तक्मे बुढा’ र ‘हैट’

माग्ने बुढालाई पकाउने आउने एउटै परिकार हो, उसिनेको अण्डा । तक्मे बुढा भने गजबको अण्डाकरी बनाइदिन्छन् । हैट अर्थात बुद्धिलाई भने तेलमा मज्जाले मासु भुट्न जाँगर चल्छ ।

माग्ने अर्थात केदार घिमिरे, तक्मे अर्थात विल्सन विक्रम राई र बुद्धि तामाङ । हास्य अभिनेताको रुपमा तीन जना नै खुब जमेका छन् । तीन जनाको साझा विशेषता के भने, सबै सादा जीवनमा विश्वास गर्छन् । तामझाम मन पराउँदैनन् । पारिवारिक छन् ।

अनलाइनखबरले उनीहरुसँग बेग्ला–बेग्लै सन्दर्भमा कुराकानी गरेको थियो, आनीबानी, जीवनशैली, खानपान आदि सम्बन्धमा । त्यही कुराकानीको आधारमा उनीहरुको भान्सा–अनुभव यहाँ पेश गरिएको छ ।

हैटको भान्सामा भुटेको मासु

धेरैजसो त बुद्धिको भान्सामा केहीपनि पाक्दैन । एक्लो ज्यान घर बाहिर खाएरै पुग्छ । अक्सर सुटिङमा हुन्छन् र त्यहीको खाना खान्छन् ।

साँझमा कोठा फर्किएपछि भने उनले भान्से बन्नुपर्ने हुन्छ । एक्लै भएपनि उनलाई खान पकाउन खुब जाँगर चल्छ । मीठो–मसिनो बनाएर खान खोज्छन् । ‘कहिले त उल्कै जाँगर चल्छ नि’ बुद्धि ठट्यौली गर्छन्, ‘दाल, तरकारी, अचार सबै बनाउँछु ।’

उनी मनमनै सोच्छन्, आज एकदमै मीठो बनाएर खान्छु । मेहनत गरेर पकाउँछन् । पकाइसकेपनि मीठो होस् वा नहोस्, गुनासो गर्न भएन । आफुले पकाएको कुरा मीठो नभएपनि मीठो मान्नैपर्छ । खान्छन्, स्वाद मानेर । अक्सर मासु खान्छन्, छाकैपिछे । उनलाई भुटेर खान स्वाद लाग्छ ।

तर सधै यस्तो हुन्न । अल्छी लाग्छ र तरकारीमा झोल हालेर खान्छन् । कहिले त्यती पनि गर्न जाँगर चल्दैन । चाउचाउमा झोल हाल्छन् ।

‘आज यस्तो मीठो खाना बनाउँछु कि भनेर आफै भन्छु र पकाउन थाल्छु’ भन्दै उनी आवाज नआउनेगरी हाँसे । आफुले पकाएको खानामा गुनासो गर्ने कुरा भएन । जस्तो पाक्छ, कपाकप खाइदिन्छन् ।

तक्मेको भान्सामा अन्डाकरी

विल्सन विक्रम राई भाते थिए । कुनैबेला उनी दिनमै पाँच छाक भात खान्थे । भातमा तरकारी, अचार पनि नचाहिने । एउटा पापड भए पुग्ने ।

भात अनियन्त्रित भएपछि उनको पेट लाग्न थाल्यो । त्यसपछि उनले भात चटक्कै छाडे । भात मात्र होइन सेतो खानेकुरा खासगरी चामल, मैदा, चिनी आदि पनि छाडे । किनभने उनलाई स्लिम बन्नु जो थियो ।

खानामा नियन्त्रण गरे ।

यद्यपि उनलाई खाना बनाउन खुब रुची लाग्ने । आफुले नखाएपनि अरुका लागि खाना बनाइदिन्छन् । विल्सनको जिब्रो लोभी छ । खानेकुरा सम्झनसाथ रसाइहाल्ने । त्यसैले त उनी घरमै थरीथरीका परिकार बनाएर खान्छन्, ख्वाउँछन् । उनका ‘जिग्री दोस्त’ छन्, संयम पुरी, गौरव पहाडी । उनीहरुलाई आफ्नो बासस्थानमा निम्त्याउँछन् र आफ्नै हातले पकाएको परिकार चखाउँछन् ।

‘खुब मीठो मान्छन्’ विल्सन सुनाउँछन्, ‘म पकाउन पनि मीठै पकाउँछु नि ।’ उनले साँच्चै स्वादिलो बनाउने परिकार चाहि पोर्क । किरातका छोरोलाई सुँगुरको मासुमा साग लगाएर खान पनि औधी मनपर्छ ।

‘पोर्क चाहि म घरमा जस्तै नर्मल तरिकाले बनाउँछु’ उनी भन्छन्, ‘पाए त्यसमा रायो साग मिसाउँछु, नभए चाइनिज साग ।’  उनी थप्छन्, ‘ग करी हुन्छ नि, अन्डाको त्यो चाहि म दामी बनाउँछु ।’

उनी दाल चिकेन करी बनाउनमा पनि सिपालु रहेछन् । ‘भान्सामा नयाँ परिकार तयार गर्न मलाई कम्ता जाँगर चल्दैन’ विल्सनले थपे, ‘भाँडा माझ्न मात्र हो, अल्छी लाग्ने ।’

माग्ने बुढा असफल भान्से

माग्ने बुढा अर्थात केदार घिमिरेलाई खाना पकाउन नआउने होइन । तर, जब उनले पकाएको खानेकुरा खान थाल्छन्, छोराछोरीहरु गुनासो गर्न थाल्छन् । यो पुगेन, यो भएन ।

श्रीमती नभएकी बखत माग्ने बुढाले नै भात पकाउनुपर्ने हुन्छ । उनी सुरिएर भान्सामा पुग्छन् । ढंग पुगेसम्म मीठो पकाउन खोज्छन् । तर, उनको हातबाट मीठो खान जुर्दैन । बरु छोरो सिपालु छन् । जसै बुवा भान्सामा जान्छन्, छोरो पछि लाग्छन् । छोरोले नै भात पकाउँछ ।

माग्ने बुढा मीठो पकाउन जान्दैनन्, उनलाई खानमा मीठो चाहिँदैन पनि । समान्य भए पुग्छ, दाल, भात, तरकारी, अचार । उनी सुरुमा पस्किएको भात दोस्रो पटक थप्दैनन् । भातमा कहिल्यै गुनासो गर्दैनन् । भात यति छिटो निल्छन्, अरुले आधा खान भ्याएकै हुँदैनन् ।

थाल छिटो रित्याउने प्रवृत्तिले कहिले कहिं अप्ठ्यारो पार्छ । खासगरी सार्वजनिक भोजमा । ‘मलाई बिस्तारै चपाएर वा थोरै थोरै खान आउँदैन’ माग्ने बुढा भन्छन्, ‘त्यही भएर अरु साथीभाई वा कलाकारको माझ खानुप¥यो भने अलि कुनातिर बस्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment