Comments Add Comment

लकडाउनका बेला दूरशिक्षा ब्युँताउने सरकारको तयारी

२७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिने संकेत देखिएपछि सरकारले दूरशिक्षा ब्यूँताउने तयारी गरेको छ ।

अनलाइन, टेलिभिजन र रेडियो आदिमार्फत् पढाउने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

‘संकटका बेला पनि सिक्न पाउने अधिकार सुनिश्चित गर्ने गरी पढाउने तयारीमा लागेका हौँ’ मन्त्री पोखरेल भन्छन्, ‘यसका लागि परम्परागत तरिकाले पढाएर पुग्दैन ।’

तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउन मन्त्रालयले नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा १३ सदस्यीय ‘एजुकेसन पेडागोगी एण्ड अल्टरनेटीभ्स’ उपसमिति गठन गरेको छ ।

विश्वविद्यालयहरू, विश्वविद्यालय अनुदान आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सीटीईभीटी लगायतको प्रतिनिधित्व रहेको यो उपसमितिले अहिले अवधारणा पत्र बनाएर काम गरिरहेको छ । उपसमितिका संयोजक शर्मा दूरशिक्षाका प्रभावकारी विधि, मानव संशाधन, प्रविधि तथा अन्य साधन स्रोतको व्यवस्थापन जस्ता विषयमा छलफल चलिरहेको बताउँछन् ।

ब्युँतिँदै दूरशिक्षा

२०३५ सालमा स्थापना भएको रेडियो शिक्षा शिक्षक तालिम आयोजनाले २०३७ सालदेखि रेडियो तालिम कार्यक्रम सुरु गर्‍यो । २०५० साउनमा दूरशिक्षा केन्द्र स्थापना भयो ।

२०७२ को भूकम्प र नाकाबन्दीका बेला पनि रेडियो, एफएमहरूमार्फत पढाई भएको थियो । टेलिभिजन र अनलाइन जस्ता श्रव्य-दृश्यको प्रयोगले त्यतिबेलाकोभन्दा प्रभावकारी पढाइ हुने जानकारहरू बताउँछन् ।

इन्टरनेटको प्रयोग र सर्वसुलभता नहुँदै सफल मानिएको विधिलाई आधुनिक तरिकाले सुरु गर्न लागिएको हो । शिक्षा मन्त्री पोखरेल लकडाउनपछि पनि दूरशिक्षालाई निरन्तरता दिन सकिने गरी योजना बन्न लागेको बताउँछन् ।

‘श्रव्य–दृश्यमार्फत पढाउँदा कतिपय कुरा शिक्षकले प्रत्यक्ष पढाएकोभन्दा पनि प्रभावकारी हुँदो रहेछ’ मन्त्री पोखरेल भन्छन्, ‘दूरशिक्षालाई कसरीपछिसम्म उपयोगी हुने गरी सञ्चालन गर्ने भन्ने ढंगले पनि छलफल भइरहेको छ ।’

शून्यबाट सुरु गर्नु पर्दैन

नेपाल टेलिभिजन प्लसबाट हप्तामा छ दिन कक्षा ९ र १० लाई लक्षित गरेर तयार पारिएको शिक्षण सामग्री प्रसारण हुन्छ । आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म एनटिभी प्लसबाट पढाउन सुरु गरिएको हो ।

उपसमिति सदस्य समेत रहेका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाका अनुसार कक्षा ९ र १० का लागि नौ सय ५० वटा भिडियो तयार भइसकेका छन् ।

कक्षा ६, ७ र ८ को ‘लर्निङ किट’ सामग्री पाठ्यक्रम विकास केन्द्रको वेभसाइटबाट उपलब्ध छ । यसबाट पनि विद्यार्थीले लाभ लिन सक्ने डा. थपलियाको भनाइ छ ।

अलनाइन पढाइ सुरु

त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टले एमबीए र एमफिल तहको अनलाइन कक्षा सुरु गरिसकेको छ । स्कुल अफ म्यानेजमेन्टका निर्देशक प्रा.डा. महानन्द चालिसे बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म कक्षा सञ्चालन भइरहेको बताउँछन् ।

३५ विद्यार्थी सम्मिलित कक्षामा दुई–जनाभन्दा बढी अनुपस्थित नभएको उनको अनुभव छ । ‘एमबीए र एमफिलको गरेर दैनिक १४ वटासम्म अनलाइन कक्षा चलाईरहेका छौँ’ चालिसे भन्छन्, ‘लकडाउन सुरु भएपछि झन भ्याइनभ्याई छ ।’

काठमाडौं मोडल कलेजले पनि एमबीएसको अनलाइन कक्षा सुरु गरेको छ । कलेजका प्रबन्ध निर्देशक रामेश्वर अर्याल अनलाइन पढाउँदा लकडाउन लम्बिए पनि शैक्षिक सत्र प्रभावित नहुने बताउँछन् ।

दूरशिक्षा नै किन ?

लकडाउनका बेलामा मात्रै होइन सहज अवस्थामा पनि अनलाइन, रेडियो, टेलिभिजन, टेलिफोन वा अन्य माध्यमबाट पढाउनुको आफ्नै महत्व र फाइदा छन् । जस्तो लाइभ कक्षा छुटेका विद्यार्थीले पछि रेकर्ड सुनेर पढ्न सक्छन् ।

विद्यार्थी अनुसार बुझ्ने क्षमता फरक फरक हुन्छ । कसैले एक घण्टामा बुझेको कुरा बुझ्न अर्कोलाई चार घण्टा लाग्नसक्छ । त्यस्ता विद्यार्थीले वेभसाइट वा रेकर्ड हेरेर/सुनेर घण्टौं लगाएर पढ्न सक्छन् ।

आवश्यकता अनुसार भिडियोे रोक्ने वा फरवार्ड गर्ने सुविधा पनि हुन्छ । बुझिएन भने दोहोर्‍याई–दोहोर्‍याई हेर्न/सुन्न पनि सकिन्छ ।

लकडाउनपछि बेलायतमा बिहान उठेदेखि साँझ साढे तीन बजेसम्मको कार्यतालिका बनाएर पढाइरहेको छ । माइक्रोसफ्टले पनि घरमा बसेका विद्यार्थीलाई अनलाइनमार्फत् पढाउने व्यवस्था गरेको छ ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला मोबाइल, टिभी, रेडियो, फेसबुक उपयोग गरेर पढाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘हामी छोराछोरी मोबाइल, टिभीमा झुण्डिएकोमा चिन्ता लिइरहेका छौँ तर त्यही माध्यमलाई सदुपयोग गरेर दूरशिक्षा सञ्चालन गर्न सकिन्छ ।’

छन् चुनौती पनि

स्कुल अफ म्यानेजमेन्टका निर्देशक प्रा.डा. चालिसे अहिलेका अधिका‌ंश पाठ्यक्रम प्रत्यक्ष भेटेर पढाउने गरी बनेको बताउँछन् । सबै पाठ्यक्रम दूरशिक्षामैत्री बनाउनुपर्ने बताउँछन् ।

कतिपय विषयमा समूहमा अन्तर्क्रिया गरेर सिक्दा नै प्रभावकारी हुन्छ । शिक्षकसँग प्रत्यक्ष भेटेर पढ्दा मात्रै बुझ्ने प्रकृति पाठहरू पनि छन् । प्रा.डा. थपलिया भन्छन्, ‘तत्काल प्रतिक्रिया वा प्रत्यक्ष छलफल गर्ने अवसर दूरशिक्षामा हुँदैन ।’

शिक्षकलाई दूरशिक्षामैत्री तालिमको आवश्यकता पर्छ । विद्यार्थी प्रविधिमैत्री भएन भने पनि सिक्न कठिन हुन्छ । रेडियो, टेलिभिजन, स्मार्टफोन, इन्टरनेट स्पिड आदिले पढाइमा असर पार्न सक्छ ।

‘यी सबै विषयमा अध्ययन गरेर समितिले सुझाव दिएपछि के गर्ने भन्ने निर्णयमा पुग्छौँ’ शिक्षा मन्त्री पोखरेल भन्छन् ।

यो पनि पढ्नुहोस एफएम, टीभी र युट्युबबाट विद्यार्थीलाई पढाउने तयारी यो पनि पढ्नुहोस त्रिविमा व्यवस्थापन संकायको अनलाइन अध्ययन शुरु यो पनि पढ्नुहोस लकडाउनका कारण देशभर फस्टायो अनलाइन अध्यापन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment