Comments Add Comment

नर्वेमा नेपाली सुरक्षित, कोरोना ‘नियन्त्रणमा’ आएपछि लकडाउन खोल्ने तयारी

२८ चैत, नर्वे । नर्वेजियन सरकारले मंगलबार घोषणा गर्‍यो, ‘नर्वेमा कोरोना अन्डर कन्ट्रोलमै छ ।’ त्यसलगत्तै सरकारले अर्को निर्णय गर्‍यो – ‘लकडाउनलाई क्रमिकरुपमा खुला गर्दै लैजाने ।

यहाँको सरकारका अनुसार पहिलो चरणमा अप्रिल २० गतेबाट किन्डरगार्डेन खुला गरिनेछ । अप्रिल २७ बाट १–४ कक्षा सम्मको विद्यालय र सोही दिनबाट विश्वविद्यालयहरु पनि खुला गरिने छ ।’

मार्च १२ मा कोरोना आउट ब्रेकको घोषणा गर्दै लकडाउन गरिएको नर्वेमा समग्र तथ्यांक नियाल्दा भने कोरोना घटेको देखाउँदैन ।

नर्वेजियन इन्टिच्युट अफ पब्लिक हेल्थमा प्रकाशित तथ्यांक अनुसार बिहीबार अपरान्हसम्म नर्वेमा ६१ सय बढीमा कोरोना संक्रमित पाइएको छ । मृत्यु हुनेको संख्या एक सय नाघेको छ । उपचारपछि निको हुनेको संख्या सयभन्दा कम छ ।

यद्यपि, दैनिक संक्रमितको संख्या भने घट्दो छ । नर्वेजियन सञ्चार माध्यम भीजीडटएनओमा प्रकाशित तथ्यांकलाई विश्लेषण गर्दा एक हप्ताअघिसम्म संक्रमित हुनेको दैनिक संख्या करिब तीन सय हाराहारी थियो । अहिले उक्त संख्या घट्दो क्रममा रहेर दुई सय हाराहारीमा सीमित छ । बिहीबार बेलुका आठ बजे संक्रमितको संख्या एक सय २६ पुगेको छ।

नर्वेमा फेब्रुअरी अन्तिम साता पहिलोपटक एकजनामा कोरोना देखिएको थियो । मार्च १२ सम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेपछि यहाँको सरकारले लकडाउन घोषणा गरेको थियो ।

त्यसयता नर्वेमा मानिसहरुको भिडभाड हुने स्थानहरु सुनसान छन् । रेस्टुरेन्ट, वार लगायतका सेवा बन्द छन । किन्डरगार्डेन, विद्यालय, विश्वविद्यालय बन्द छन् । यद्यपि, सुपरमार्केट खुला छन् । किनमेल पहिलाकै जस्तो सहज छ । सार्वजनिक यातायात पनि यथावत अवस्थामै सञ्चालनमा छन् भने कार्यालयहरु सञ्चालनमै छन् ।

सम्भव भएसम्म कार्यालयको काम घरबाटै गर्न अनुरोध गरिएको छ । हिँडडुल गर्दा पनि दुरी कायम गर्न भनिएको छ । भिडभाड हुने कार्यालयमा पनि दुरी कायम गरेर सेवा प्रवाह गरिरहेको छ । बस, ट्रेनमा यात्रुको चाप छैन । किनमेलमा पनि सकेसम्म सावधानी अपनाएकै हुन्छन् ।

सावधानीले नर्वेमा केही हदसम्म त कोरोना फैलिन कमी भएको अनुमान गर्न सकिन्छ । जनताको सावधानीले नर्वेमा कोरोना तीब्र गतिमा फैलिन नदिएर सहयोग पुराएको भन्दै प्रधानमन्त्री एर्ना सोल्वेगले जनतालाई धन्यवाद व्यक्त गरेकी छिन् ।

आप्रवासीसहित ५४ लाख जनसंख्या भएको नर्वेले हालसम्म एक लाख २१ हजार जनामा कोरोना परीक्षण गरिसकेको छ । परीक्षण अझै तीब्र गतिमा गर्ने लक्ष्य सरकारको छ । नर्वेको विश्वास यो छ कि एकजना संक्रमित व्यक्तिले अरु व्यक्तिहरुलाई फैलाउन सक्ने सम्भावित व्यक्तिहरु पत्ता लगाइसकिएको छ । सोही अनुरुप संक्रमित हुनेहरु दिनप्रतिदिन घटिरहेका छन् ।

घट्दो तथ्यांकलाई विश्लेषण गर्दै पृथ्वीको अन्तिम विन्दुमा अवस्थित नर्वेले कोरोना नियन्त्रणभित्रै रहेको औँल्याउँदै यहाँका एक टोली स्वास्थ्यकर्मीलाई समेत साताअघि इटालीमा सेवा गर्न पठायो ।

नर्वेमा अस्पतालमै भर्ना गरेर उपचार गर्नपर्ने बिरामीको संख्या धेरै नभएको र त्यो पनि घट्दो क्रममा रहेकाले सीमित स्वास्थ्यकर्मीकै संख्याबाट धान्न सकिने विश्वास नर्वेको छ । बरु स्वास्थ्यकर्मीको मनोबललाई उच्च बनाउन नर्वेले कोरोना संक्रमणमा खट्ने स्वास्थ्यकर्मीको दोब्बर तलब बढाएको छ ।

अधिकांश विकासको सूचकांकमा अग्रपङ्क्तिमा रहेको नर्वेसँग कोरोना नियन्त्रण गर्न सक्ने आत्मविश्वास जसरी देखाएको छ। त्यो निर्णयले घातक गर्न सक्ने अनुमान पनि लगाउन सकिन्छ । नर्वेमा अहिले समरको समय छ ।

योबेलामा नर्वे मौसमले होस् वा प्राकृतिक रुपले सजिसजाउ छ । एकातिर रातको समयमा पनि घामले किरण छरेर घमाइलो बनाइरहेको हुन्छ । अर्कोतिर सडकका किनारदेखि पार्कहरु पनि सजिसजाउ बनेर पर्यटकलाई स्वागत गर्न आतुर देखिन्छन ।

नर्वे पर्यटकीय गतिविधि अत्यधिक हुने बेला हो यो । भलै यस पटक कोरोनाको कारणले नर्वेको राजधानी ओस्लो लगायत आसपासका सहरहरु सुनसान छन्।

खासगरी नर्वे लगायतका युरोपियन देशहरुमा बिहीबार स्टर पर्व सुरु भएको छ । युरोपमा महत्वको साथ चार दिनसम्म यो पर्व मनाइन्छ । स्टरका बेला युरोपियनहरु खुबै यात्रामा निस्कन्छन् । यद्यपि कोरोनाले यसपटक यात्रामा होइन, घरबाट समेत निस्कन सकेका छैनन् ।

स्टरको पूर्वसन्ध्यासँगै आएको सरकारको घोषणाले नर्वेजियनमा केही आत्मबल थपेको पक्कै छ । सोही कारणले नर्वेमा भने केही चहल–पहल हुन थालेको छ ।

दुई हप्ताअघिसम्म खाली खालीजस्तै गुड्ने सार्वजनिक यातायातहरुमा यात्रुहरु बाक्लिन थालेका छन् । पार्कतिर पनि गतिविधि बढ्न थालेका छन् । सरकारको दुरी पालना गर्ने नियमलाई त कायम गरेका छन् ।

तर, गतिविधि बढ्दै गर्दा दुरी कायम गरेर मात्रै कोरोना नफैलिएला त ? भन्ने प्रश्न खडा भएको छ ।

झन, सरकारले आउँदो अप्रिल २० पछि क्रमिकरुपमा गर्ने भनिएको लकडाउनको खुलापनपछि नर्वेमा कोरोना फैलिएला वा घट्ला भन्ने आंशक पैदा भएको छ ।

यद्यपि, कोरोना संक्रमित नर्वेकै छिमेकी मुलुक स्वीडेनले भने अहिलेसम्म लकडाउन गरेको छैन । लकडाउन नगरेको स्वीडेनमा संक्रमितको संख्या ९ हजार नाघेको छ । मृत्यु हुनेको संख्या पनि ८ सय हाराहारी छ । स्वीडेनको जनसंख्या करिब एक करोड छ ।

नर्वेमा नेपालीको अवस्था

नर्वेमा नेपाली कति छन्, तथ्यांक यकिन छैन । नर्वेमा विद्यार्थी भिसामा आएर पीआर लिई बस्नेको संख्या पनि बढ्दो छ । पोर्चुगल, स्पेनलगायतका देशबाट पार्सपोट बनाएर परिवारसहित नर्वे आउनेको संख्या पनि बाक्लो छ ।

करिब तीन हजार नेपाली नर्वेमा रहेको अनुमान गरिन्छ । यहाँ हालसम्म नेपालीहरु कोरोनाबाट संक्रमित छैनन् । गैरआवसीय नेपाली संघ नर्वेलगायत नर्वेमा रहेका नेपाली संघसंस्थाले अहिलेसम्म कोही नेपाली पनि नर्वेमा संक्रमित नरहेको बताउँदै आएका छन् ।

यद्यपि कोरोनाबाट नेपाली भने प्रभावित भएका छन । खासगरी यस वर्षको अगस्ट इन्टेकमा आउने नव आगन्तुक विद्यार्थी कोरोनाको कारणले आर्थिक समस्यामा छन ।

हुन त नर्वेमा आम्दानीको हिसाबमा युरोपियन अन्य देशहरु भन्दा उत्तम मानिन्छ । नर्वेमा विद्यार्थी भिसामा रहनेले ८० घण्टा काम गर्न पाउँछन् ।

नर्वेमा प्रतिघण्टा करिब २० डलर पारिश्रमिक छ । अगस्टमा आउने विद्यार्थी जसले समयमै काम पाए ती विद्यार्थीमा खास समस्यामा छैनन् । जो विद्यार्थी ओस्लो बाहिर छन् । उनीहरुले काम थालिसकेका थिएनन्, त्यस्ता विद्यार्थी भने आर्थिक संकटको शिकार बनेका हुन् ।

ती विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर नर्वेमा रहेका संघसंस्थाहरु एनआरएन नर्वे, हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे, नेपाल जनसम्पर्क समिति, प्रवासी नेपाली एकता मन्च (ओएनयुएफ), नेपाल पोर्चुगिस समाज नर्वे, नेपाली समाज ओस, नेपाली समाज ट्रोम्सो, नेपाली समाज बर्गेन, रेगुलर एथ्लेटिक्स ग्रुप (रागोस) लगायतका संस्थाले हातेमालो गरेर समस्याग्रस्त विद्यार्थी पहिचान गरेर आर्थिक सहयोगको व्यवस्था गर्न जुटेका छन् ।

नर्वेमा शिक्षा निशुल्क छ । कलेजको फी तिर्न भने समस्या हुँदैन । नर्वेमा कोठाभाडा मंहगो छ । कोठाभाडा नेपाली एकलाखको हारहारीमा पर्छ । खानाचाहिँ त्यस्तै ३० हजार नेपाली भए एकजनालाई पुग्छ ।

नर्वेमा रहने धेरै नेपालीहरु रेस्टुरेन्टमा काम गर्छन् । रेस्टुरेन्ट बन्दसँगै बेरोजगार बनेका नेपालीहरु पनि समस्यामा छन् । यद्यपि कोरोनाको कारणले बेरोजगार बनेका व्यक्तिलाई भने सरकार भत्ता उपलब्ध गराउँछ । भत्ताका लागि नेपालीसहित पूरा समय काम गर्ने आप्रवासीले आवेदन दिन पाउँछन् । विद्यार्थीलाई भने यो सुविधा छैन् ।

नर्वेजियन लेबर एण्ड वेलफेयर एडमिनिस्ट्रेसन (नाभ) का अनुसार कोरानोका कारण रोजगार गुमेर बेरोजगार भत्ताको लागि आवेदन दिनेको संख्या चार लाख नाघिसकेको छ ।

नाभले जनाएअनुसार आवेदन दिनको संख्या दिनप्रतिदिन बढ्दो छ । सरकारी नियमअनुसार जागिर गुम्नेहरुले कमाइरहेको आम्दानी अनुसार ६० देखि ८० प्रतिशतसम्म भत्ता पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment